असार १५ गते पोखरामा १७औं असारे महोत्सव हुने

पोखरा, १३ असार । कोरोनाका कारण २ वर्ष स्थगित भएको असारे महोत्सव यो वर्ष पुनः सञ्चालन हुने भएको छ ।

पोखरा पर्यटन परिषद्को आयोजनामा हरेक वर्ष पोखरामा महोत्सव हुने गरेको थियो । तर कोरोना संक्रमणले २ वर्ष रोकिएकोमा अहिले पुनः निरन्तरता दिन लागिएको हो ।

यो वर्षको महोत्सव पोखरा १५ हेमजामा हुनेछ । टमाइस्थानमा रहेको करिब १० रोपनी क्षेत्रफलमा महोत्सव गर्न लागिएको परिषद्का अध्यक्ष गोपी भट्टराईले जानकारी दिए । महोत्सवबारे पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । हेम्जाका तुलसी पौडेल, अग्निधर पौडेल, डिल्लीराम नेपाली, कृष्ण बहादुर कुँवर, मैना केसी र प्रकाश पौडेलको खेतमा परिषद्ले रोपाई महोत्सव गर्न लागेको भट्टराईको भनाई छ ।

पोखरा सबै मौसममा घुम्ने बनाउन विभिन्न इभेण्ट आयोजना हुँदै आएको छ । बर्खाको समय पोखरामा पर्यटक कम हुने समय हो । त्यसैले पर्यटकलाई हरेक समय उपयुक्त छ भन्ने बनाउन महोत्सवको परिकल्पना गरिएको भट्टराई बताउँछन् । यसबाहेक सहरमा बस्ने नयाँ पुस्तालाई खेती प्रणालीका बारेमा जानकारी दिने उद्देश्य राखिएको छ । खेती योग्य जमिनको संरक्षण, कृषिलाई व्यवसायीकरण गर्दै कृषकलाई आफ्नो पेसाप्रति अभिप्रेरित गर्न महोत्सव गरिएको आयोजकले जनाएको छ ।

महोत्सवमा साउने प्रतियोगिता, हल गोरुको दौड, हिलोमा माछा समात्ने प्रतियोगिता, दौड, असारे गीत तथा रोपाइँ प्रतियोगिता, नेपाली र विदेशीलाई हिलोमा दौड प्रतियोगिता, उत्कृष्ट कृषक सम्मान लगायतका कार्यक्रमहरू हुने महोत्सवका संयोजक तथा परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए ।

साउने प्रतियोगिता, असारे रोपाई र तीन प्रतियोगिताको प्रथम र दोस्रो हुनेले क्रमशः ७ हजार र ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । महोत्सवमा ५ सय विदेशी सहित करिब १० हजारको उपस्थिति रहने आयोजकको अपेक्षा छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board