पाण्डेको नियुक्ति विधानविपरीत छैनः एन्फा

काठमाडौं १३ असार । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तर्राष्ट्रिय विभाग प्रमुखमा नवीन पाँडेलाई नियुक्त गर्दा विधान नमिचेको बताएको छ ।

बुढानीलकण्ठस्थित पार्क भिलेजमा ६ असारमा भएको एन्फाको चुनावी साधारण सभाले पंकज विक्रम नेम्बाङलाई नयाँ अध्यक्षमा घोषणा गरेको थियो । दुई दिनपछि शपथसँगै बसेको एन्फाको कार्यसमिति बैठकले पाण्डेलाई अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्ति गरेको थियो ।

जर्मन नागरिक पाण्डेको नियुक्तिसँगै चौतर्फी आलोचना भएपछि एन्फाले सोमबार सूचना जारी गर्दै स्पष्टोक्ति दिएको हो । ‘पाँडेको नियुक्तिलाई लिएर उठेका केही सवालहरूबाट यस संघको ध्यानाकर्षण भएको छ । सो निर्णय दाबी गरे अनुरूप विधान विपरीतको नभएको जानकारी गराउन चाहन्छौं । पाँडेले यस संघबाट कुनै तलब सुविधा नलिई स्वैच्छिकरुपमा सो पदमा रहने कुरा पनि जानकारी गराउन चाहन्छौं ।’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै विधानको धारा २४ को ३ र क मा स्पष्टसँग ‘गैर नेपाली नागरिक एन्फा, वा प्रदेश फुटबल संघ वा जिल्ला फुटबल संघमा निर्वाचित वा मनोनीत हुन सक्ने छैन भनेर व्याख्या गरिएको र फुटबलको विकासका लागि मुख्य प्रशिक्षक, प्रशिक्षक लगायत अन्य फुटबल प्राविधिक र अन्तर्राष्ट्रिय सम्बन्ध सुधार र गतिविधिका लागि विदेशी नागरिकलाई प्रयोग गर्ने अन्तर्राष्ट्रिय प्रचलन रहेकाले कार्यसमितिको त्यो निर्णयले विधान नमिचेको पनि सूचनामा एन्फाले उल्लेख गरेको छ ।

एन्फाको अन्तर्राष्ट्रिय प्रमुख भएसँगै पाण्डे भने हिजो (आइतबार) नै जर्मन प्रस्थान गरिसकेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board