नेपालको कम्युनिष्ट आन्दोलनको उतारचढाव र मदन भण्डारीको उदय

काठमाडौं । नेपालको कम्युनिष्ट आन्दोलनले ७१ वर्ष टेकेको छ । विगत सात दशकको यो अवधिमा नेपालको कम्युनिष्ट आन्दोलनले दर्जनौं आरोह–अवरोह पार गरिसकेको छ । टुटफुट र विभाजनकारी राजनीतिको पर्याय बनेका छन् नेपालका कम्युनिष्ट पार्टीहरु । त्यसो त, संघर्ष र एकताको पर्यायको रुपमा पनि कम्युनिष्ट पार्टीहरु रहेका छन् भन्न नसकिने होइन । नेपालमा भूमिगत राजनीतिदेखि सशस्त्र संघर्षको राजनीति गर्ने कम्युनिष्ट पार्टीले पटक–पटक सत्ता र सरकारको नेतृत्व पनि गरिसकेका छन् ।

पछिल्लो समयमा सरकारको नेतृत्व इतिहासकै शक्तिशाली दुई तिहाइ जनमतसहितको कम्युनिष्ट पार्टीले गरिरहेको छ । राष्ट्रियता एवं देशभक्तिको मुद्दामा निरन्तरको संघर्ष र परिवर्ततनकामी वाम झुकावयुक्त जनमतका कारण कम्युनिष्ट पार्टीको उर्वर भूमि बनेको छ नेपाल । नेपालको कम्युनिष्ट आन्दोलनको स्थापना र कम्युनिष्ट आन्दोलनलाई चिनाउने श्रेय नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठ लगायतका नेताहरुलाई जान्छ भने पछिल्लो चरणमा कम्युनिष्ट आन्दोलनलाई दिशाहीनता र जडताबाट बाहिर निकालेर आजको अवस्थामा पु¥याउने पहलकदमीको श्रेय अर्थात् रक्षात्मक कम्युनिष्ट आन्दोलनका रक्षाकवचकोश्रेयजननेता मदन भण्डारीलाई जान्छ ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना र इतिहास

राणाशासनको बिगविगी रहेको समयमा वि.सं. २००६ साल बैशाख १० गते तद्नुरुप सन् १९४९ अप्रिल २२ मा भारतको कलकत्ताको श्यामबजारमा पुष्पलाल श्रेष्ठ, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी र नरबहादुर कर्माचार्य मिली नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो । कम्युनिष्ट पार्टीको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ हुनुहुन्थ्यो । नेकपा स्थापनापछि २००६ भदौ ३० गते पुष्पलालले कम्युनिष्ट पार्टीको घोषणापत्र जारी गर्नुभएको थियो । नेकपाको प्रथम सम्मेलन वि.स. २००८ असोज (१९५१ सेप्टेम्बर २२) मा कलकत्तामा नै भयो । प्रथम सम्मेलनले मनमोहन अधिकारीलाई पार्टीको महासचिव बनायो ।

तर कम्युनिष्ट पार्टी स्थापना भएको केही समयमा नै पार्टीमाथि प्रतिवन्ध लाग्यो । २००८ साल कात्तिक २० गते भारतसँगको कोशी सम्झौताकोे विरोधमा विद्यार्थीहरुले काठमाडौंमा निकालेको जुलुसमा प्रहरीले गोली चलाउँदा विद्यार्थी नेता चिनियाँकाजी श्रेष्ठको मृत्यु भयो भने तत्कालीन राणा–कांग्रेस सरकारका गृहमन्त्री बीपी कोइरालाले नैतिकताको आधारमा राजीनामा दिनुप¥यो । यद्यपि यसका आन्तरिक कारण भने बीपी, राजा त्रिभुवन, दिल्ली दरबार र भारतीय राजदूतबीचको शक्ति संघर्षको पराकाष्ठा रहेको स्वयं विपी कोइरालाले आफ्नो आत्मृत्तान्तमा बताएबाट स्पष्ट हुन्छ ।

२००९ माघ ९ गते डा.केआई सिंहले जेल विद्रोह गरे, यसैलाई निहुँ बनाएर तत्कालीन सरकारले २००९ माघ ११ गते कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगायो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य बेदुराम भुसाल नेकपाले २००७ सालको क्रान्तिको दौरानमा दिल्लीमा भएको राणा, राजा र कांग्रेसबीचको सम्झौतालाई नेकपाले विरोध गर्दै विद्रोहमा उत्रिन थालेपछि नेपालमा नेकपामाथि प्रतिवन्ध लगाइएको बताएका छन् । उक्त सम्झौताको विरोधमा केआई सिंह, एकदेव आले, भीमदत्त पन्त, रामप्रसाद राईको नेतृत्वमा विभिन्न ठाउँमा विद्रोहहरु भएको उनको भनाइ छ । तिनैविद्रोहलाई नेकपाले समर्थन गरेपछि नेकपामाथि प्रतिवन्ध लगाइएको भुसालले दावी छ ।

नेकपाको प्रथम महाधिवेशन २०१० साल माघ १७ देखि २५ गतेसम्म काठमाडौंमा भयो । महाधिवेशनमा पुष्पलाल श्रेष्ठबाट संविधानसभाको निर्वाचनमा जानुपर्ने र डा. केशरजङ्ग रायमाझीबाट वैधानिक राजतन्त्रको समर्थन गरेरजानुपर्ने दुई प्रस्ताव अघि सारिए । पहिलो महाधिवेशनमा ७८ जना प्रतिनिधि थिए भने पार्टी सदस्य संख्या १६ हजार पुगेको थियो । पहिलो महाधिवेशनले मनमोहन अधिकारीलाई महासचिवमा निर्वाचित ग¥यो । वि.सं. २०१२ साल कात्तिकमा नेकपाको दोस्रो राष्ट्रिय सम्मेलन भयो । त्यही वर्ष टंकप्रसाद आचार्य नेतृत्वको सरकारले कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध फुकुवा ग¥यो ।

२०१४ साल जेठ १५ देखि २५ सम्म नेकपाको दोस्रो महाधिवेशन भयो । महाधिवेशनमा पुष्पलाल श्रेष्ठको संविधानसभा र संसदीय प्रजातन्त्रको लाइन, शम्भुराम श्रेष्ठको गणतन्त्रको लाइन र केशरजंग रायमाझीकोे संवैधानिक राजतन्त्रको लाइनसहितका प्रतिवेदनहरु पेश भए । महाधिवेशनमा पुष्पलालको विधानसभाको लागि संघर्ष भन्ने लाइन पारित भयो । तर, नेतृत्वमा भने बहुमतले केशरजङ्ग रायमाझीलाई चुन्यो । रायमाझी महासचिव बन्न पुगे ।

२०१७ मारुसको मास्कोमा आयोजित विश्व कम्युनिष्ट आन्दोलनको बैठकमा रायमाझी, शम्भुराम श्रेष्ठ, हिक्मतसिंह भण्डारी, कमर शाह सहभागी भएका थिए नेकपाका तर्फबाट । यसअघि २०१५ सालको आमचुनावमा कम्युनिष्ट पार्टीले पाल्पा, रौतहट लगायतका ४ स्थानमा विजय हासिल गरेको थियो ।

२०१७ पुस १ गते राजा महेन्द्रबाटराजनीतिक कू भयो । त्यतिबेला मास्कोमा रहेका रायमाझीले राजाको कदमको तत्कालैस्वागत गर्न पुुगे । २०१७ पुस २२ मा राजा महेन्द्रबाट दलहरुमाथि प्रतिबन्ध लगाइयो ।

नेकपा स्थायी कमिटी सदस्य बेदुराम भुसालभन्छन्–२००७ सालमा राजा त्रिभुवनले घोषणा गर्दा जनताबाट निर्वाचित जनताका प्रतिनिधिले बनाएको विधानअनुसार गणतान्त्रिक सरकार निर्माण गर्ने भन्ने भएपनि दरबारबाट घोषणाअनुसार काम नगरेर आफ्नै हातमा सत्ता केन्द्रीत गर्ने भूमिका भइरहेकोप्रति तीब्र्र विरोध भइरहेको थियो । ०१५ सालमा भएको चुनावपछि दलहरु प्रजातान्त्रिक व्यवस्थालाई दह्रो बनाउने पक्षमा थिए ।तर राजालाई त्यो कुरा मन नपरेकोले सैनिक शक्तिलाई आफ्नो हातमा लिएर दलीय व्यवस्था, निर्वाचित सरकार, निर्वाचित संसद भङ्गगरी दलहरुमाथि प्रतिबन्ध लगाइएको हो ।

२०१७सालदेखि नै नेपाल कम्युनिष्ट पार्टीभित्र फूटको राजनीति शुरु भयो । २०१७ साल पुस १ गते राजा महेन्द्रले शासनसत्ता हातमा लिएपछि निर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई जेल हालियो । राजाको यो कदमको केशरजंग रायमाझीलेस्वागतगरे । तर पुष्पलाल, मोहनविक्रम सिंह, तुलसीलाल अमात्य र मनमोहन अधिकारीले भने राजाको कदमको विरोध गरे । पछि केशरजंग रायमाझी दरबार पसे । अन्य शीर्ष नेताहरु पनि कम्युनिष्ट पार्टीको नेतृत्वमा भएका विभिन्न राष्ट्रलाई हेर्ने दृष्टिकोण नमिलेको नाममा, अनेकौँ शब्दजालमा एकमत नभएका कारण फूटको राजनीति शुरु भयो ।

२०१९ सालमा भएको नेकपाको तेस्रो महाधिवेशन मूलतः तत्कालीलनी रुसी लाइन अर्थात राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम भन्ने दिशामा गएपछि नेकपा छिन्नभिन्न हुने अवस्थामा पुग्यो । त्यो बेला अधिकांश नेताहरु प्रवास र जेलमा थिए भने बाहिर रहेकाले रुसी लाइन लिएपछि पार्टी सदस्यहरुमा चरम अन्योलको अवस्था सृजना भएको देखिन्छ ।

२०२३ सालसम्म आइपुग्दा कम्युनिष्ट पार्टी आफ्नो अस्तित्व रक्षार्थ नै धौधौ हुने स्थितिमा पुगेको थियो । ठीक यही बेला कम्युनिष्ट आन्दोलनलाई गति दिन एकातिर पूर्व मेची कोशी प्रान्तीय कमिटी गठन भयो भने अर्कोतिर केशरजंगको समूह छुट्टियो। त्यसको एक वर्षपछि पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको तेस्रो सम्मेलनआयोजन गरे । तर २०२५ सालमै पार्टीमा पुनःफुट्यो । नेताहरू तुलसीलाल अमात्य र पुष्पलाल पनि छुट्टिए ।

२०२८ सालमा कम्युनिष्ट आन्दोलनमा दुइधार देखा परे, झापा जिल्ला कमिटी र केन्द्रीय न्युक्लियस । पुष्पलालको पार्टी दुवै धारमा देखा परेन । सिपी मैनालीले झापा विद्रोहको नेतृत्व गरेको थिए । उद्देश्य थियो– पञ्चायत फाल्ने । मोहनविक्रमले नेतृत्व गरेको केन्द्रीय न्युक्लियसले भने पञ्चायतविरुद्धमात्र होइन भारतीय विस्तारवाद र सामन्तवादविरुद्ध पनि आन्दोलन गर्ने उद्घोष गरेको थियो । यो दुई धारबीचको एकता र फुट्को श्रृङ्खला केही समय चल्यो पनि ।

राजनीतिमा मदन भण्डारीको उदय

२०३५ साल साउनमा कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको निधन भयो । पुष्पलालको निधनअघि नै पुष्पलाल निकट रहेका मदन भण्डारी,वामदेव गौतम, जीवराज आश्रित, मोदनाथ प्रश्रितजस्ता नेताहरूले छुट्टिएर मुक्ति मोर्चा समूह बनाइसकेका थिए ।

मदन भण्डारीको राजनीतिमा प्रवेश पनि एकाएक भएको थिएन । बडो रोचक ढंगले भएको थियो । लाग्छ, उहाँले सम्पूर्णकुराहरुको अध्ययन गरिसकेपछि साँच्चै नै देश र जनताप्रति आफूलाई प्रतिबद्ध बनाउने संकल्प गरेपछि राजनीतिमा प्रवेश गर्नुभएको देखिन्छ । जतिखेर उहाँ बनारसमा अध्ययन गर्नुहुन्थ्यो । त्यसताका बनारसमा पुष्पलाल, मोदनाथ प्रश्रित लगायतका नेताहरु संगठित रुपले राजनीतिमा लागिरहनु भएको थियो । उहाँहरु कम्युनिष्ट पार्टीको संगठन विस्तार गर्ने योजनाअनुरुप काम गरिरहनुभएको थियो । पुष्पलालले विभिन्न टुक्रामा विभाजित कम्युनिष्ट पार्टीलाई एक बनाउने योजना अघि सार्नुभयो । यसको निम्ति सांस्कृतिक दृष्टिबाट पार्टीलाई बलियो बनाउने योजनाअनुरुप मोदनाथ प्रश्रितलाई सांस्कृतिक फाँट बलियो बनाउने जिम्मा दिइएको थियो ।

साहित्यिक, सांस्कृतिक रुपमा बलियो चेत बोक्नुभएका मदन भण्डारीको संगत मोदनाथ प्रश्रितसँग भयो । शुरुमा मदनमासाहित्यिक सांस्कृतिक मोर्चाबाट आफूले सहयोग जारी राख्ने सोचाई रहेका पाइन्छ । घरमा बुढाबुढी बुबाआमा रहेको, भाइबहिनीको अभिभावकत्व पनि आफूले लिनुपर्ने बाध्यताका कारण राजनीतिमा आउन हिच्किचाउनुभएका मदन भण्डारी कवि गोष्ठीहरुमा आउँदाआउँदै युद्धप्रसाद मिश्रको अध्यक्षतामा बनेको सांस्कृतिक मोर्चाको केन्द्रीय सदस्यका रुपमा औपचारिक रुपमा आबद्ध हुनुभएको थियो । यसपछि मदन भण्डारीले बनारसका विद्यार्थीहरुलाईसंगठित गर्ने काम गर्नुभएको थियो ।

मदन भण्डारीको राजनीति प्रवेशबारे मोदनाथ प्रश्रितभन्छन्–‘सांस्कृतिक फाँटबाट गइयो भने अरुहरुलाई पनि ल्याउन सकिन्छ भनेर लागिरहेको बेला मदनलाई संगठित गरिएको थियो । पछि मदनको भाषण निकै राम्रो देखिन थालेको र प्रभाव बढ्दै गएको थियो पार्टीमा । बुबा, आमा र भाइबहिनीको जिम्मेवारी उठाउनुपर्ने भएकोले तत्कालै पार्टीमा काम गर्दिन कि भन्ने मदनको सोच थियो । तथापि बुवाआमाले अनुमति दिएसँगै उहाँ राजनीतिमा आउनुभएको हो ।’

मदन भण्डारी पार्टीको पूर्णकालीकसदस्य हुन तयार हुनुभएको केही दिनमै मुक्ति मोर्चाका नेताहरु कोअर्डिनेशन केन्द्रमा सामेल भए । लगत्तै २०३५ पुसमा माओ जयन्तीको दिन पारेर मदनकै गाउँ मोरङको इटहरामा सीपी मैनालीको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी–लेनिनवादी) गठन भयो । मदन त्यस पार्टीको संस्थापक सदस्य हुनुभयो । यही विन्दुबाट एकातिर नेपालमा कम्युनिष्ट आन्दोलनको मूलधार निर्माणको बीजारोपण भयो भने अर्कातिर मदन भण्डारीलाई त्यो मूलधारको नेतृत्व गर्ने प्लेटफार्मले मार्गप्रशस्त गर्यो ।

त्यस अघि नै मोहन विक्रम सिंह, निर्मल लामा, भक्तवहादुर श्रेष्ठ, मोहन बैद्यहरुले २०३१ सालमा चौथो महाधिवशेन गरेर नेकपाको एउटा जबर्जस्त धार निर्माण गरेका थिए । तर त्यो समूहको नीति स्पष्ट थिएन ।

हालको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को जग पनि २०३१को चौम र ०३५ सालका माले गठन भएदेखि नै प्रारम्भ हुन्छ । नेकपा (माले)को गठनपछि एकातर्फ पार्टीभित्र मदनको नेतृत्व क्रमशः स्थापित हुने बाटोमा अघि बढ्यो । २०३९ सालमा पार्टी स्वतन्त्रता कि राजनीतिक स्वतन्त्रता भन्ने विवादमा तत्कालीन महासचिव सीपी मैनालीमाथि कारवाही भयो । यसपछि महासचिव बनेका झलनाथ खनालको कार्यकालमा केन्द्रीय सदस्यकै हैसियतमा पनि मदनका विचारहरुले पार्टी निर्णयमा गम्भीर महत्व राख्न थाल्यो ।
मदन भण्डारी पञ्चायतको अन्त्य गरी पार्टीहरु खुला हुनुपर्ने र बहुदलीय प्रतिस्पर्धामा जानुपर्ने अडानमा हुनुहुन्थ्यो । अन्ततः उहाँको अडान पार्टीको बहुमतको धारणा बन्न पुग्यो । फलतः २०४६ का आन्दोलनका लागि बाम मोर्चा गठन गरी काँग्रेससँग मिलेर जान नेकपा (माले) तयार भयो । मदनका यिनै विचारका कारण मालेको चौथो अधिवेशनमा स्वयं महासचिव झलनाथ खनालले अबको नेतृत्व अर्थात् महासचिव मदन भण्डारी हुनुपर्छ भन्ने प्रस्ताव राख्नुभयो ।

नेकपा स्थायी कमिटी सदस्य युवराज ज्ञवाली ०४६ सालको चौथो महाधिवेशनबाट तत्कालीन नेकपा (माले) एउटा नयाँ उचाइमा पुगेको बताउँछन् । वैचारिक रुपमा निकै परिस्कृत तहमा पुगेको बखत महासचिवको हैसियतमा झलनाथ खनालको योगदान त हुने भैहाल्यो, मदन भण्डारीको झनै ठूलो योगदान रहेको ज्ञवालीको भनाइ छ । महासचिवमा झलनाथले नै मदन भण्डारीलाई सिफारीस गरेको ज्ञवाली धारणा छ ।

कम्युनिष्ट पार्टीहरुबीच एकताको लहर र नेकपा (एमाले) को गठन

नेकपा (माले)को गठनताकादेखि नै बामघटकहरुबीच एकताको क्रम बढेको थियो । ०३६ सालमा मनमोहन अधिकारीले नेपाल कम्युनिष्ट पार्टी (मनमोहन) नामको छुट्टै पार्टीको स्थापना गर्नुभएको थियो । मनमोहनले बहुदल वा निर्दल भन्नेमा राजा वीरेन्द्रले गराएको जनमत संग्रहमा बहुदलको पक्षमा चुनावमा भाग लिनुभयो भने नेकपा (माले)ले बहिष्कार ग¥यो । पुष्पलालको निधनपछि उहाँको पार्टीलाई बलराम उपाध्याय र साहना प्रधानले अगाडि बढाउनुभएको थियो ।

२०४३ सालमा मनमोहन अधिकारीको पार्टी र पुष्पलालको नेकपाबीच एकता भयो र नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी) बन्यो । २०४६ को आन्दोलनअघि पञ्चायतविरुद्ध आन्दोलन गर्ने भन्दै नेकपा (माले) र नेकपा (माक्र्सवादी) तथा केही साना घटक मिलाएर संयुक्त वाममोर्चा बनाइएको थियो । वाममोर्चाले नेपाली कांग्रेससँग मिलेर संयुक्त आन्दोलन पनि गर्यो । यससँगै कम्युनिष्ट पार्टी साम्यवादको लक्ष्य छोडेर संसदीय व्यवस्थाको प्रतिस्पर्धात्मक राजनीतिमा आउनेभयो तत्काललका लागि । २०४६ सालको संयुक्त जनआन्दोलनले पञ्चायती शासनको अन्त्य गरेपछि मनमोहन अधिकारीले नेतृत्व गरेको नेकपा (माक्र्सवादी) र मदन भण्डारीले नेतृत्व गरेको नेकपा(माले)बीचको एकताबाट नेकपा(एमाले) गठन भयो ।

०४६ सालको जनआन्दोलनमा सहकार्य गरेका पार्टीबीच एकीकरण गरौं भन्ने पहल मदन भण्डारीले गर्नुभएको नेकपा स्थायी कमिटी सदस्य बेदुराम भुसाल बताउँछन् । निर्मल लामा, विष्णुबहादुर मानन्धर, तुलसीलाल अमात्यले नेतृत्व गरेका पार्टीहरु लगायत माक्र्सवादी पार्टीसँग पनि एकीकरण गर्ने विषयमा छलफल भए पनि वैचारिक लाइन नमिलेपछि अन्य राजनीतिक दलसँग एकीकरण हुनसकेन । तर माले र माक्र्सवादीबीचमा राजनीतिक कार्यदिशा मिलेको हुनाले एकीकरण गरी नेकपा (एमाले) बन्न पुगेको हो ।

मदन भण्डारीको नेतृत्व पाएपछि नेकपा (एमाले) शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिका माध्यमबाट जनताको विश्वास आर्जन गर्ने बाटोमा सक्रिय भयो । यही सक्रियताले पनि नेपालको कम्युनिष्ट आन्दोलनले उचाइ पाएको हो । त्यसपछि क्रमशः एमालेको संगठन बलियो बन्दैगयो भने नेतृत्वको चर्चा देश विदेशसम्म भयो । कुशल वक्ता, कुशल संगठकको परिचय बनाएका भण्डारीको व्यक्तित्वको क्रेजले पनि मानिसहरु कम्युनिष्ट बन्न थाले । भविष्यको प्रधानमन्त्री र राष्ट्रपिताको रुपमा पनि मदन भण्डारीलाई हेरिन थालिएको थियो ।

भूमिगत राजनीतिबाट भर्खरै बाहिर आएका नेता भण्डारीले तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईसँग प्रतिस्पर्धा गरेर हराउनु तथा काठमाडौंका दुईवटै निर्वाचन क्षेत्रबाट एकैचोटी चुनाव जित्नुले उहाँप्रति त्यतिखेर जनताले राखेको अपेक्षा सजिलै बुझ्न सकिन्छ । मदनले चुनाव प्रचारप्रसारको क्रममा दिएका मन्तव्य, विचार तथा दृष्टिकोण सुनेर र मदनको वैचारिक क्षमताबाट आकर्षित भएर हजारौं हजार जनता कम्युनिष्ट बनेको पनि नेता ज्ञवालीको भनाइ छ ।

हक्की स्वभावका मदन भण्डारीले राष्ट्रियताको सवालमा दह्रो कुरा उठाउने गर्नुहुन्थ्यो । जब तत्कालीन कांग्रेस सरकारले भारतसँग टनकपुर सन्धि गर्यो, मदन भण्डारीले त्यसको विरोधमा राष्ट्रवादी आन्दोलनको अगुवाई गुर्नभएको थियो । जुन अडान र भाषणले मानिसहरुको मन जित्न सफल भएको थियो भने पार्टीलाई अझ उचाइमा पु¥याएको थियो । नेपालमाथि विभिन्न असमान सन्धि र सम्झौताहरु थोपर्ने, नेपाललाई अकुण्ठित पारवहन सुविधा नदिने, विभिन्न बेलामा सीमा अतिक्रमण गर्ने, नेपालका आन्तरिक मामलामा दखल–हस्तक्षेप गर्ने, भारतको एकाधिकार पुँजीवादी घरानाको स्वार्थअनुरुप आर्थिक र व्यापारिक नीति लिन बाध्य पार्ने र नेपालका विरुद्ध निरन्तर दवाव, हस्तक्षेप र प्रभुत्वलाई लाद्ने नीति भारतले अँगाल्दै आएको भन्दै त्यस निम्ति खुल्लम्खुल्ला भाषण गर्ने व्यक्ति मदन भण्डारी नै हुनुहुन्थ्यो । यसबाट उहाँको राष्ट्रियताप्रतिको चट्टानी अडानबारे बुझ्न सकिन्छ । राजालाई श्रीपेच खोलेर चुनाव लड्न आउन चुनौती दिने नेता त्यतिबेला मदन भण्डारी मात्र हुनुहुन्थ्यो ।

०४७ सालको संविधानले राजतन्त्रलाई दिएको अधिकार कटौतीको निम्ति उहाँले सो संविधानलाई आलोचनात्मक समर्थन मात्र गर्नुभयो । टनकपुर सम्झौतामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भारतसँग गरेको सन्धिका विरुद्ध सम्झौताहीन रूपमा उभिएर मदन भण्डारीले नेपाली जनतामा अभूतपूर्व राष्ट्रिय भावना जागृत गराउनुभएको थियो । यसले कम्युनिष्ट नेता, कार्यकर्ता र आमजनताले राष्ट्र र राष्ट्रियताको मुद्दामा शिरलाई ठाडो पार्नसक्ने बनाएको छ । नेकपा स्थायी कमिटी सदस्य युवराज ज्ञवाली मदनको विचारले कम्युनिष्ट पार्टीलाई आजको उचाइमा पु¥याएको र स्थापित गराएको दावी गर्छन् ।

२०५० साल जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमयी निधन भयो । मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको नीति पछ्याउँदै नेकपा (एमाले) बहुलवादी राजनीतिमा अगाडि बढी २०४८ को आम निर्वाचनमार्फत् देशको प्रमुख प्रतिपक्षको रूपमा स्थापित भयो ।

तत्कालीन समयमा पार्टीको शक्ति र प्रभाव कस्तो होला भन्ने मसिनो अध्ययन मदनले गर्नुभएको नेकपा नेता बेदुराम भुसालको बुझाई छ । सबैलाई मिलाएर जानुपर्छ, चुनाव लड्ने जति एकै भएर जाऊँ भन्ने मदनको प्रस्तावसहित सबै बाम एक ठाम हौं भनेर मदनले भनेको कुरा आजपर्यन्त स्मरणीय छन् । मदनको आम मानिसलाई उत्प्रेरणा गर्न सक्ने वक्तृत्वकला र साहसपूर्ण ढंगले विचार राख्नसक्ने सामथ्र्यले पार्टीले संसदीय राजनीतिमा उक्त उचाई पाएको स्पष्ट छ ।

मदन भण्डारीको जीवनकालसम्मै पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवै धारमा नरहे पनि चौथौ महाधिवेशनको पुरै लिगेसी भने प्रचण्डले लिनुभयो । पुष्पलाल श्रेष्ठ, मोहनविक्रम सिंहको पार्टी हुँदै आफ्नै नेतृत्वमा नेकपा (माओवादी) गठन गरी दशवर्ष सशस्त्र संघर्ष शुरु गर्नुभयो । तत्कालीन नेकपा (एमाले) भने हिजोसम्म मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई आदर्श मानेर काम गरिरहेको थियो । आज प्रचण्डले नेतृत्व गरेको माओवादी र मदन भण्डारीको जगमा बनेको एमाले जुन केपी ओलीले नेतृत्व गर्नुभएको थियो, बीच एकीकरण भएको छ र नेकपा बनेको छ ।

यद्यपि मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको बारेमा अझै पनि उत्तिकै छलफल र बहस भैरहेका छन् । अहिले नेकपाले देशको नेतृत्व पनि गरिरहेको छ, त्यो पनि इतिहासकै शक्तिशाली जनमतसहित । यो पार्टीले सारमा जनताको बहुदलीय जनवादलाई नै अंगीकार गरेर अघि बढ्ेको देखिन्छ । यद्यपि दुई पार्टी बीच एकता हँदा कार्यक्रमको नाम भने समाजवाद उन्मुखत जनताको जनवाद राखिएको छ । तर मदनले नेकपालको कम्युनिष्ट आन्दोलनलाई नै रक्षकवच बनाउन अघ सारेको राजनीतिक प्रतिस्पर्धाको मूल नीतिलाई कसैले अस्वीकार गर्न सक्ने अवस्था छैन । यसरी मदन भण्डारी नेपाली राजनीति र नेपाली कम्युनिष्ट आन्दोलनमा कहिल्यै नमेटिने नाम बनेको छ ।

मदन भण्डारीको जीवनी र राजनीतिक यात्रा

वि.सं.२००९ साल असार १४ गते पिता देवीप्रसाद भण्डारी र आमा चन्द्र कुमारीको माइलो छोराको रुपमा मदनको जन्म भएको थियो । पा“च दाजुभाइ र पाँच दिदीबहिनीमध्ये उहाँ माहिला हुनुहुन्थ्यो । पूर्वी नेपालको ताप्लेजुङ्ग जिल्लाको ढुङ्गेसाघँुमा चन्द्रकुमारी भण्डारी र देवीप्रसाद भण्डारीको माइला छोराको रुपमा २००९ साल असार १४ गते शुक्रवारको दिन उहाँको जन्म भयो । उहाँको न्वारानको नाम मोतिप्रसाद भण्डारी थियो ।

बाल्यकालमा उहाँको शिक्षा घरमै चण्डीपाठबाट शुरु भयो । त्यसबला उहाँको परिवारलाई जान्नेहरु बालक मदन चण्डी कण्ठाग्र गरेकाले जिल्लाभर नै चर्चित भएको बताउँछन् । उहाँको बौद्धिकता र स्मरण शक्ति समयको अन्तरालसँगै झनै तिखारिएर गयो । उहाँले २०२४ सालमा बाल सुवोधिनी संस्कृत प्रधान पाठशालाबाट प्रवेशिका उत्र्तीण गर्नुभयो र लगत्तै उच्च शिक्षा हासिल गर्नका लागि भारतको मथुरा जानुभयो । दुई वर्षपछि देहरादुन हुँदै उहाँ बनारस पुग्नुभयो । उहाँले बनारस विश्वविद्यालयबाट भाषा साहित्यमा स्नातकोत्तर गर्नुभयो ।

बनारस बस्दाकै समयमा वि.सं.२०२८ सालमा उहाँको भेट नेकपाका संस्थापक महासचिव पुष्पलालसँग भयो । यो भेट उहाँको राजनीतिक यात्रातर्फको पहिलो पाइला थियो । त्यसलगत्तै २०२९ सालमा मदन पुष्पलालकै जनवादी सा“स्कृतिक मोर्चाको केन्द्रीय सदस्य हुनुभएपछिको उहाँको राजनीतिक यात्रा प्रारम्भ भएको हो ।उहाँमा त्यसबेला राजनीतिक भन्दा पनि साहित्यिक चेत बढी थियो । मदनका सहयोद्धा डा.मोदनाथ प्रश्रितका अनुसार कलेज पढ्ताका उहाँले एउटा काव्य लेख्नुभएको थियो । मानव महाकाव्य लेखेर मदन पुरस्कार पाइसक्नुभएका प्रश्रित त्यसबेलाका चर्चित लेखक त हुनुहुन्थ्यो नै, राजनीतिक रुपमा पुष्पलालसँग नजिक रही उहाँको सांस्कृतिक मोर्चामा आवद्ध हुनुहुन्थ्यो । मदनको प्रतिभा देखेर नै प्रश्रितले उहाँलाई सांस्कृतिक मोर्चामा आवद्ध हुन मनाउनुभयो । बनारसमा हुने कवि गोष्ठी, सांस्कृतिक गोष्ठीहरुमा मदन आउन थालेको अवस्था थियो । प्रश्रितका अनुसार उहाँ गीत मीठो गाउने, कविता राम्रो भन्ने र वक्तृत्व पनि राम्रो रहेको थियो । मदन आएसँगै उहाँ, मोदनाथ, जीवराज र बोधराज काफ्लेलगायत सम्मिलित सांस्कृतिक मोर्चा बन्यो ।

सांस्कृतिक मोर्चाको कार्य क्षेत्र नेपालको लुम्विनी अञ्चलका जिल्लाहरु थिए । त्यसैले मदन पनि नेपाल आएर सांस्कृतिक अभियानबाट कम्युनिष्ट विचारको प्रचारमै लाग्नुभयो । पछि २०३० देखि मदन पूर्णकालीन कार्यकर्ता भएर राजनीतिमा होमिनुभयो । सक्रिय राजनीतिका लागि उहाँलाई केही पारिवारिक समस्या पनि थियो । जीवराज आश्रितसहितले मदनको मोरङ इटहरास्थित घरमै गएर उहाँका माता पितासँगसमेत आग्रह गरेर मदनलाई पूर्णकालिक राजनीतिमा ल्याउन सफल हुनुभयो ।

वि.सं.२०२३ सालमा भारतको बनारस विश्वविद्यालयबाट भाषा साहित्यमा स्नातकोत्तर गर्नुभएका मदनले २ वटा विषयमा स्नातकोत्तर गर्नुभएको थियो । वि.सं.२०३३ सालमा पुष्पलालको पार्टीस“ग विद्रोह गरी निर्माण भएको मुक्तिमोर्चाका नेताहरु अखिल नेपाल क्रान्तिकारी कोअर्डिनेशन केन्द्रमा सम्मिलित भए । र, त्यसैवर्ष अर्थात् २०३५ साल पुस ११ गते माओ जयन्तिको दिन पारेर इटहरामै नेपाल कम्युनिष्ट पार्टी (माले) स्थापना भयो । पूर्णकालिक राजनीतिमा आइसक्नुभएका मदन त्यस पार्टीको संस्थापक केन्द्रीय सदस्य हुनुभयो । उहाँले २०४१ मा पार्टीको पोलिटब्यूरो सदस्यको जिम्मा पाउनुभयो । पार्टी र पार्टी नेता सबै भूमिगत हुनुहुन्थ्यो । तर नेताका फाँटहरु फरकफरक थिए । मदन भण्डारी र जीवराज आश्रित पार्टीलाई राजनीतिक रुपमा स्थापित गराउने र संगठन बढाउन क्रियाशील हुनुहुन्थ्यो । आश्रितको सक्रियता र भण्डारीको लोकप्रियता, प्रभाव, दृष्टिकोण र वैचारिक स्तरका कारण पार्टीलाई उचाईमा पु¥याउन सम्भव भएको नेता मदन हुनुहुन्थ्यो भन्ने कुरा त्यो बेलाका सबै नेताहरुले स्वीकार गर्दछन् ।

सादा जीवन उच्च विचार
सबै भन्छन्, हिजो आज यहा“ गाह्रो छ
ठूला–ठाला मजा गर्छन्, मसिना ज्यूनै गाह्रो छ
पिठो–आ“टो नपाएर मुटुमा वेदना बोकी
हिमाली सन्तती रुन्छन् सधैं खोजी ढिंडो रोटी

यो रचना जननेता मदन भण्डारीको हो । कम्युनिष्ट नेताले भड्काउ गरेर, लावालस्कर लगाएर सवारी साधन चलाउन ह“ुदैन, यो कम्युनिष्ट आचरणमा सुहाउँदैन, भन्ने मान्यता मदन भण्डारीको थियो ।

वि.सं.२०३९ साल साउन १४ गते पार्टीमै सक्रिय छँदा नै विद्यादेवी पाण्डेस“ग उनको जनवादी विवाह भएको थियो (विस्तृता भण्डारीसँगको अन्तर्वार्ता हेनुहोस्) । देशका वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र जननेता मदन भण्डारीले एकआपसमा रुमाल साटासाट गरेर भूमिगत जनवादी विवाह गर्नुभएको थियो । माधवकुमार नेपालको सभापतित्व रहेको उक्त विवाहमा अशोक राईले उद्घोषण गर्नुभएको थियो । विद्याले मदनलाई माला लगाइदिनुभयो अनि मदनले विद्यालाई सिन्दुर । जम्मा १ सय ५० रुपैंयाँमा उहाँहरुको विवाह सम्पन्न भएको थियो ।

उहाँहरुका दुई छोरी छन् – उषाकिरण र निशाकुसुम ।

भूमिगत राजनीति र पञ्चायती शासनको चर्को दमनको बेला थियो त्यो । त्यसैले विवाहपछि पनि मदन र विद्या लामो समय सँगै बस्न पाउनु भएन । यता पार्टीभित्र मदनको भूमिका झन् बढ्न थालेको थियो । पोलिटव्युरो सदस्य भए पनि मदनका विचारहरु तत्कालीन पार्टी महासचिव झलनाथ खनाललगायतका शीर्षनेताले गम्भिरतापूर्वक लिंदै पार्टी निणर्यका रुपमा अगाडि बढाउन थालेका थिए । पञ्चायती निरङ्कुशता विरुद्ध लड्न र खुला प्रतिपस्र्धामक परिवेशको राजनीतिमा पार्टीलाई अघि बढाउन पार्टी सहमत भयो । र, बहुदलीय जनवादको बाटोमा अघि बढ्नका लागि पार्टीभित्र सामूहिक बहस शुरु भयो । यसैक्रममा २०४५ सालमा सम्पन्न नेकपा मालेको चौथो महाधिवेशनले मदनलाई पार्टी महासचिव चुन्यो । अघिल्लो कार्यकालदेखि गृहकार्य भएका कामहरुले वैधानिकता त पाए नै, जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गर्ने काम सुरु भयो ।

मदनले पञ्चायत विरुद्धको संघर्षलाई निष्कर्षमा पु¥याउन नेपाली काँग्रेससँग मिलेर आन्दोलनमा जाने निर्णयसहित बाममोर्चा गठनको अभ्यास थाल्नुभयो । कांग्रेस र वाममोर्चाले २०४६ साल फागुन चैतमा गरेको संयुक्त जनआन्दोलनले पञ्चायत ढाल्यो । ३० वर्षे निरंकुश शासन ढालेर स्थापना भएको प्रजातान्त्रिक परिवेशको खुशियाली मनाउन काठमाडौंको खुलामञ्चमा हजारौंको जनसागर जुटेको थियो । त्यही सभामा सगर्व घोषणा गरियो– अब सम्बोधनका लागि आउँदै हुनुहुन्छ, नेकपा मालेका प्रवक्ता मदन भण्डारी । हजारौंको जनसागरले करतल ध्वनिसहित ताली बजाएर स्वागत ग¥यो । यही विन्दुबाट सुरु भयो, मदनको खुल्ला राजनीति जीवन ।

खासगरी विश्व कम्युनिष्ट आन्दोलन र नेपाली कम्युनिष्ट आन्दोलनमै पनि सशस्त्र संघर्षबाट नेपाली क्रान्ति पूरा गर्न सकिन्छ कि शान्तिपूर्ण रुपमा नै क्रान्तिको कार्यभार पूरा गर्न सकिन्छ भन्ने विषयमा मतभेदहरु सिर्जना भइरहेको परिस्थितिमा, कम्युनिष्ट पार्टीहरु विभिन्न विचार समूहमा विभक्त भइरहेको बेलामा सम्पूर्ण कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्न मदन भण्डारीले प्रयत्न गर्नुभएको थियो ।

विश्वभर कम्युनिष्ट पार्टीहरु विचार र सिद्धान्तबाट च्युत हुँदै, क्रान्तिमा असफल हुँदै गइरहेको परिस्थितिमा नेपाली परिवेश सुहाउँदो कार्यक्रम बनाउन मदन क्रियाशील हुनुभयो । कुनै पनि प्रकारको सशस्त्र संघर्षबिना नै परिवर्तन सम्भव छ, र बहुदलीय व्यवस्थालाई अङ्गीकार गर्दै जनवादी क्रान्ति पूरा गर्न सकिन्छ भन्ने ठानेर मदनले बहुदलीय प्रतिस्पर्धामा आधारित जनवादको विकास गर्नुभएको हो । यो नेपाली कम्युनिष्ट आन्दोलनको लागि दिशानिर्देश पनि थियो । आजको दिनमा आधारभूत रुपमा मदनले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादकै विचारमा नेकपा रहेको छ । भावी प्रधानमन्त्रीको रुपमा हेरिएको एउटा राष्ट्रवादी नेतालाई अकालमा गुमाउनुपर्दा कम्युनिष्ट आन्दोलन नै टुहुरोजस्तो भएको छ ।

जनआन्दोलनको सफलताले ३० वर्षे लामो निरङ्कुश पञ्चायती शासन ढाल्दै राजाबाट लादिएको नेपालको संविधान २०१९ खारेज गरायो । र, मुलुकलाई बहुदलीय प्रजातान्त्रिक व्यवस्थाअनुरुप आन्दोलनकारी दलहरुका प्रतिनिधिसहितको नया“ संविधान तर्जुमा गर्न समिति गठन गरियो । नेपालको अधिराज्यको संविधान २०४७ माथि नेकपा (माले) ले आलोचनात्मक समर्थन ग¥यो । त्यसो त, वि.सं.२०४७ सालको संविधानमा मदनले २७ बुँदेै असहमति सार्वजनिक गुर्नभएको थियो । मदनले संविधानलाई आलोचनात्मक समर्थन गरेको कुरा जनतामाझ भन्दै आउनुभएको थियो । संविधानका प्रजातान्त्रिक अधिकारका प्रावधानलाई समर्थन गर्ने र त्यसलाई टेकेर अघि बढ्ने पनि उहाँको स्पष्ट धारणा थियो ।

मदन भण्डारीले २०४७को संविधानमा राख्नुभएको २७ बु“दे फरक मतकै कारण नेकपा एमालेले अग्रगमनमर्फत गणतन्त्रसम्म पुग्न र आजको नेकपाको स्वरुप लिन सफल भएको राजनीतिक विश्लेषकहरुको ठहर छ । २०६२÷६३ को दोस्रो जनआन्दोलनको सफलतापछि २०६३ साल जेठ ४ गते घोषणा गरिएको नेपालको अन्तरिम संविधानमा त्यसबेला मदनले राख्नुभएका २७ बुदा हुबहु समावेश गरिनुले पनि यो कुराको पुष्टि गर्छ ।

२०४७ संविधान जारी भैसकेपछि संसदीय निर्वाचन घोषणा गरियो । त्यसअघि २०४७ पुस २२ गते नै मनमोहन अधिकारी र साहना प्रधानको नेकपा (माक्र्सवादी) र नेकपा माले बीच एकीकरण भयो । एकीकृत पार्टीको नाम नेकपा (एकीकृत माक्र्सवादी–लेनिनवादी) अर्थात् नेकपा (एमाले) रह्यो । नेतृत्वमा अध्यक्ष मनमोहन अधिकारी र महासचिव मदन भण्डारी हुनुभयो । मदन २०४८ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई परास्त गरी काठमाडौं क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभयो । यो नै मदनले जीवनमा लाभको पद लिएको एकमात्र अवसर थियो, त्यो पनि विश्वभर गुञ्जिनेगरी ।

२०४८ को आमनिर्वाचनमा एमालेले ६९ सिट जित्यो । पहिलो पटक संसदमा गएको एमालेले नेपाली राजनीतिमै पहिलो पटक छायाँ सरकार बनाउने अभ्यास सुरु ग¥यो । यसस“गै एमालेप्रतिको जनताको आकर्षण त बढेको थियो नै, नेपाली कम्युनिष्ट आन्दोलन र नेपाली राजनीतिमा मदनकोे उचाइ तीब्रगतिमा स्थापित हु“दै गइरहेको थियो । वि.सं.२०३६ सालदेखि नै मदनले पार्टीभित्र चामत्कारिक उपस्थिति देखाउन थालेको नेताहरु बताउँछन् । ०४६ सालको असोजमा मदनले पहिलो पटक एउटा प्रस्ताव अघि सार्दै भन्नुभएको थियो– राजतन्त्र नै सामन्तवादको प्रतीक हो, र कम्युनिष्टको प्रमुख शत्रु राजतन्त्र नै हो । उहा“ले नेपाली का“ग्रेसलाई मात्रै होइन, तत्कालीन समयमा राजालाई श्रीपेच फुुकालेर खुला निर्वाचनमा आउन हा“क दिनुभएको थियो ।
मदनले भन्नुभएको थियो– ‘किनारामा बसिबक्सियोस् महाराज । हात नलम्काई बक्सियोस्, आँखा नचम्काई बक्सियोस्, आफ्ना सन्डमसन्डलाई नचलाई बक्सियोस् । यदि सन्डमसन्डलाई नै अगाडि लिएर आउने हो भने महाराजले श्रीपेच उतारेर सिंहासनमा राखेर मैदानमा नेता भएर आउनुप¥यो ।’

देशको राजनीति जनताको जीविकोपार्जनप्रति उत्तरदायी हुनुपर्छ । मदन भन्नुहुन्थ्यो– जनताको भोकप्रति, रोगप्रति र स्वतन्त्रपूर्वक बोल्ने, लेख्ने र विचार अभिव्यक्तिका लागि प्रजातान्त्रिक पद्धतिका शासकहरु हार्दिकतापूर्वक नतमस्तक हुनुपर्छ । जनताको बहुदलीय जनवाद भनेको जनलाई गोली नठोक्नु मात्रै होइन, जनतालाई फा“सीको सुलीमा नचढाउनु मात्रै होइन । आमजनताको जनजीविका, राष्ट्रियताको पक्षमा र सामन्तवादको प्रतिनिधिस्वरुप उभिएको राजदरबारविरुद्ध आक्रामक सम्बोधनले मुलुकभरको वाम झुकावयुक्त जनमत मात्र होइन मध्यमवर्गीय जनतालाईसमेत नेकपा (एमाले)को विचार नजिक पु¥यायो हो ।

मदन भण्डारी भाषणकलामा निपूण नेता त हुनुहुन्थ्यो नै, त्यत्तिकै उहा“ दूरदर्शी पनि हुनुहुन्थ्यो । त्यसको झल्को तत्कालीन प्रतिनिधिसभामा उहाँले विवादस्पद टनकपुर सन्धिको विरोध र राष्ट्रियता एवम् देशभक्तिका ओजपूर्ण विचार व्यक्त गर्नुभएबाट पुष्टि हुन्छ ।

पार्टीगत तवरमा भने २०४९ माघमा नेकपा एमालेको पा“चौ महाधिवेशन सम्पन्न भयो । महाधिवेशनले जनताको बहुदलीय जनवादलाई आधिकारिक रुपमा पार्टीको नीति र कार्यदिशा बनायो । तर मदनलाई बहुदलीय जनवादको उच्चतम कार्यान्वयनको चरणसम्म पुग्न शायद नियतिले साथ दिएन । पार्टी कामको सिलसिलामा पोखराबाट चितवनतर्फ जा“दा दासढुंगामा उहा“ र नेता जीवराज आश्रित सवार जीपको रहस्यमय दुर्घटना भयो । त्यसलगत्तै देशभर विरोधमा उत्रिएको जनसागरले दुर्घटनाको स्वतन्त्र छानविन गर्न दवाब दियो । एमाले नेता केपी शर्मा ओलीको नेतृृत्वको छानबिन समितिले दुर्घटना भवितव्य नभएर नेताद्वयको हत्या नै भएको निष्कर्ष निकाल्यो । त्यसयता २७ वर्ष बिते । पटक पटक नेकपा (एमाले) सरकारमा पुगेको छ । ४ पटक सरकारको नेतृत्वसमेत गरेको छ तर यो हत्याकाण्डको रहस्य अझै खुल्न सकेको छैन ।

मदनको प्रभावदेखि आत्तिनेहरुले उहाँलाई सिध्याउन लागेको र देशी विदेशी शक्तिको हात हुन सक्ने मदनका सहयोद्धाहरु बताउँछन् । प्रश्रित मदन हत्याको सम्भावित कारणबारे भन्छन्– वि.सं.२०३६ सालदेखि नै पञ्चायत ढाल्नुपर्छ भन्ने मान्यता र खुला राजनीतिमा प्रवेशपछि पनि राजा, महाराजा र सामन्तवादी विचारधारा र दमनकारी पद्धति समाप्त पार्न खुल्लम–खुल्ला बहसमा उत्रने मदनको ज्यानमाथि त यसै पनि जोखिम बढिरहेको थियो नै ।

अहिलेको अवस्थामा भण्डारी महासचिव रहेको तत्कालीन पार्टी नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीच पार्टी एकताबाट अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको छ । जसका दुई अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी हा“किरहेका छन् । नेकपाको दुइतिहाई बहुमतको सरकार छ । पार्टी मात्रै एक होइन, एकीकृत दुई पार्टीको घोषणापत्र र उद्देश्य पनि उही छ । झण्डै ७१ वर्षको जगमा उभिइरहेको कम्युनिष्ट पार्टीमा भण्डारीले देखाएका मार्गदर्शनहरु भने आजपर्यन्त उस्तै छन् । मदनले जनताको माझमा देखाएको आफ्नो कुशलता, क्षमताबाट पार्टी स्थापित भएको कुरालाई कसैले पनि नकार्दैन । जबज त्यतिखेरको परिस्थितिमा सान्दर्भिक भएको र आजको दिनमा जबजमा समेटिएका कतिपय विषयवस्तुको प्राथमिकीकरण गर्नुपर्ने आवश्यकता अरु बढी सान्दर्भिक भएको छ ।

वि.सं. २०५० जेठ ३ गते दासढुंगा दुर्घटनामा भण्डारी र एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएयता मदन–आश्रितको सम्झना र सम्मानमा नागरिक र पार्टी तहमा धेरै काम भएका छन् । नेकपा एमालेले संस्थागत निर्णयबाटै मदन–आश्रित स्मृति प्रतिष्ठान सञ्चालन गरेको छ भने मदन भण्डारी फाउन्डेसनको शाखा देशभर विस्तार भएका छन् । भण्डारीकै नाममा खुलेका प्रतिष्ठान, शिक्षालय, बाटोघाटो, प्रतीक्षालयका नाममा सरकारका तर्फबाट पनि बर्सेनी करोडौं रकम विनियोजन हु“दैआएको छ । मदनले जनताको बहुदलीय जनवादमार्फत् परिकल्पना गरेको समाजवादसम्म पुग्न अझ धेरै बाँकी छ । तर, बर्तमान सरकारले आफ्नो नीति तथा कार्यक्रम समाजवादउन्मुख भनेर अगाडि सारेको छ । अबका दिनमा पनि मदनले कोरेको मार्गचित्रमा नेकपा अघि बढ्नुको विकल्प छैन । भलै, विश्व परिवेश र समयअनुसार जनताको बहुदलीय जनवादमा समायानुकूल परिमार्जन गर्दै अझ उन्नत बनाउनुपर्ने छ ।

जबजबारे

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले) को २०४९ साल माघ १४ गतेदेखि २० गतेसम्म काठमाडौँमा भएको पाँचौ राष्ट्रिय महाधिवेशनले नेपाली क्रान्तिको क्रार्यक्रम जनताको बहुदलीय जनवाद अत्यधिक बहुमतका साथ पारित ग¥यो । त्यसयता नेपाली राजनीतिमा जनताको बहुदलीय जनवाद अथवा छोटकरी रुप जबजको चर्चा परिचर्चा धेरै भएको पाइन्छ । वि.सं. २००६ सालदेखि औपचारिक र संगठित रुपमा शुरु भएको कम्युनिष्ट आन्दोलनले विभिन्न आरोह–अवरोह पार गर्दै, विविध नीति, कार्यक्रम र कार्यदिशाका साथ अघि बढ्दै, कहिले जुट्दै र कहिले फुट्दै अगाडिको यात्रा तय ग¥यो । विश्वव्यापी रुपमा पनि कम्युनिष्ट आन्दोलनभित्र क्रान्ति पूरा गर्नको निम्ति सशस्त्र संघर्ष गर्ने कि शान्तिपूर्ण विद्रोह गर्ने भन्ने विषयमा तत्कालीन समयमा व्यापक छलफल र बहस हुने गरेको थियो । त्यसैको फलस्वरुप कम्युनिष्ट आन्दोलनभित्र वि.सं. २०१७ सालपछि नै कार्यक्रमिक विवाद देखिन थालेको थियो । अझ भनौँ कम्युनिष्ट आन्दोलनभित्र दुई धार थियोे । कालान्तरमा तत्कालीन नेकपा(माले)ले भने जनताको बहुदलीय जनवादलाई आफ्नो कार्यक्रमको रुपमा लिएर अघि बढ्यो ।

मदन भण्डारीले शान्तिपूर्ण बाटोबाट पनि परिवर्तनलाई अगाडि बढाउन सक्छौँ र परिवर्तनपछि स्थापना गर्ने सरकार, सत्ता भने लोकतान्त्रिक प्रणाली अनुरुप हुनुपर्छ भन्ने मान्यता रहेको नेता दीननाथ शर्मा सम्झिन्छन् । मदन एकदलीय निरंकुश व्यवस्थाको विपक्षमा थिए । बहुदलीय प्रतिस्पर्धासहितको लोकतान्त्रिक मूल्य–मान्यता भएको जनवादी व्यवस्था स्थापना गर्ने भन्ने विचारको रुपमा जनताको बहुदलीय जनवाद प्रस्तुत गरिएको स्पष्टै छ

सामन्तवाद, दलाल नोकरशाही पुँजीवाद र साम्राज्यवाद विरोधी कार्यक्रमकै रुपमा जबजको अभ्युदय भएको हो । जबज नेपाली क्रान्तिलाई साम्राज्यवाद सामन्तवादविरोधी क्रान्तिको रुपमा परिभाषित गरेको छ । सामन्तवाद–साम्राज्यवादको उन्मूलन गर्ने, अर्धसामन्ती र अद्र्धऔपनिवेशिक उत्पादन सम्बन्ध समाप्त पारेर जनवादी र राष्ट्रिय सम्बन्ध कायम गर्ने तथा आमजनताको संयुक्त राज्यसत्ता स्थापित गर्ने हुनाले यस कार्यक्रमलाई पनि जनवादी क्रान्तिकै रुपमा लिइएको छ । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा पनि जनवादी क्रान्तिलाई विभिन्न नाम दिइएको सन्दर्भमा अन्तर्राष्ट्रिय अनुभवलाई पनि समावेश गर्दै जबजलाई क्रार्यक्रमको रुपमा समावेश गरियो । जनवादी कार्यक्रम लागू गरिएका अन्यत्र देशहरुमा बहुदलीय प्रतिस्पर्धा थिएन । तर नेपालमा भने बहुदलीय प्रतिस्पर्धालाई स्वीकार गरियो ।

चौथो महाधिवेशनसम्म पुग्दाखेरी क्रान्तिपछि लागू गर्ने कार्यक्रम जनवादी कार्यक्रम, नयाँ जनवादी कार्यक्रम हो भन्ने भइसकेको थियो । तर त्यो जनवादी कार्यक्रम चिनियाँ मोडेलको होइन, नयाँ जनवादी कार्यक्रम बहुदलीय प्रतिस्पर्धामा आधारित हुन्छ, त्यो बहुदलीय जनवाद हुन्छ भन्ने चौथो महाधिवेशनमै भइसकेको नेकपा नेता युवराज ज्ञवालीको भनाइ छ ।

बहुदलीय प्रतिस्पर्धासहितको जनवादलाई नेपाली विशेषताअनुरुपको जनवादको रुपमा व्याख्या गरियो । स्पष्ट रुपमा बहुदलीय प्रतिस्पर्धा चाहने कुरा उल्लेख गरियो । बहुदलीय प्रतिस्पर्धाका साथ जनवाद स्थापना गर्ने कुरा नै जनताको बहुदलीय जनवादको विशेषताको रुपमा लिइएको छ । तत्कालीन समयमा नेकपा(एमाले) का महासचिव मदन भण्डारीले जबजलाई स्थापित गराउनुभएको हो । त्यतिखेर जनवाद, जनतन्त्र र प्रजातन्त्रका बारेमा राजनीतिक दलहरुबीच मतभिन्नताको अवस्थामा एमालेले जनताको बहुदलीय जनवाद अघि सारेको हो ।

नेकपा बरिष्ठ नेता माधवकुमार नेपालका अनुसार उसबेला कम्युनिष्ट पार्टीभित्र जनवाद र जनतन्त्रको खुब लडाइँ चल्यो । मोहनविक्रम सिंहहरु जनतन्त्र भन्नुहुन्थ्यो भने तत्कालीन मालेले जनवाद भन्थ्यो । जनवाद, जनतन्त्र र प्रजातन्त्रबीच खुब लडाइँ चल्यो । यद्यपि, पछि जनताको बहुदलीय जनवादलाई परिभाषित गरेर ल्याइयो । यसमा मदन भण्डारीको उच्च योगदान रहेको नेता नेपालको भनाई छ ।

जनताको बहुदलीय जनवादका विशेषता

संविधान सबैको निम्ति अनुल्लंघनीय हुनुपर्दछ । समाजको निरन्तर प्रगतिलाई संविधानले निकास दिन सक्नुपर्दछ । भनेर जनताको बहुदलीय जनवादले संविधानको सर्वोच्चतालाई मानेको छ । त्यसैगरी, प्रत्येक व्यक्तिलाई जनता र राष्ट्रको निम्ति सोच्ने, बोल्ने तथा आफ्ना अनुभूतिहरू अभिव्यक्त गर्ने स्वतन्त्रता हुनुपर्दछ भनेर बहुलवादी खुला समाजलाई मानिएको छ । एउटै संस्था कार्यकारी, विधायकी र न्यायिक अधिकार प्रयोग गर्ने केन्द्रीय शक्ति हुनुहुँदैन भनेर शक्ति पृथकीकरणको सिद्धान्त लाई आत्मसात गरिएको छ । मानव अधिकारको रक्षा कम्युनिष्ट आन्दोलनको महत्वपूर्ण तत्व हो र हुनुपर्दछ भन्दै मानव अधिकारको रक्षामा जोड दिइएको छ ।

मुख्य कुरा, संविधानबमोजिम राजनीतिक प्रतिष्पर्धा गर्ने स्वतन्त्रता दिनको निम्ति बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीलाई अङ्गीकार गरिएको छ । त्यसैगरी जनताले एकपटक गरेको निर्णय शाश्वत नहुने भन्दै आवधिक निर्वाचन हुने कुरा उल्लेख गरिएको छ भने बहुमतको सरकार र अल्पमतको विपक्ष बनाएर लोकतान्त्रिक प्रणाली अबलम्बन गरिने बताइएको छ । कानुनको शासन, जनवादी व्यवस्थाको सुदृढीकरण गर्ने विषय उल्लेख गरिएको छ । वैदेशिक पूँजी र प्रविधिको लगानी, संरक्षण र उपयोग गरिने विदेशी पूँजी र प्रविधि को विषयमा उल्लेख गरिएको छ ।

नयाँ समाजको निर्माणमा सकारात्मक योगदान गर्न नचाहने र त्यसको विरोध र ध्वंसमा लाग्ने सामन्ती जमिन्दार बाहेक अरूलाई जमिनको क्षतिपूर्ति दिइने भनिएको छ । त्यसैगरी, पञ्चशीलको सिद्धान्त अनुरूप वैदेशिक सम्बन्ध कायम गर्ने । आफ्नै प्रत्यक्ष पहलबाट अन्तर्राष्ट्रिय समर्थन जुटाउने । क्रान्ति र निर्माणको ठोस व्यवहारिक विषयलाई बेवास्ता गरेर केवल सैद्धान्तिक आग्रहबाट मात्र वैदेशिक नीति निरुपित नहुने विदेश नीति अपनाइएको छ ।

नेतृत्व र अधिनायकत्वको सम्बन्धमा सेवा, पहलकदमी र प्रतिस्पर्धाद्वारा नेतृत्व प्राप्त गर्ने । अधिनायकत्व शब्दको सट्टा आमरूपमा जनताको जनवादी राज्यसत्ता शब्दको प्रयोग गर्ने जनाइएको छ भने जनताको बहुदलीय जनवादलाई नेपाली सन्दर्भको नयाँ जनवादको रुपमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली मदन भण्डारीले दिनुभएको नयाँ विचारबाट कम्युनिष्टलाई मात्रै होइन प्रगतिशील वामपन्थी आन्दोलनलाईसमेत सहयोग पुगेको बताउँदै उहाँले देखाएको बाटो हिड्नुपर्ने बताउनुहुन्छ । मदनले देखाएको बाटो नेपालको लागि असाधारण उपयोगी भएकोले सबैले अनुशरण गर्नुपर्ने उहाँको भनाइ छ ।

यसरी हेर्दा जनताको बहुदलीय जनवाद अहिलेको परिस्थितिमा पनि उत्तिकै सान्दर्भिक देखिन्छ । यद्यपि नयाँ राजनीतिक परिस्थिति र परिवेशको सम्बन्धमा तत्कालीन पार्टी र पार्टी नेतृत्वहरुले यसलाई परिमार्जन र परिष्कृत गर्न पनि सक्छन् । त्यो बहसको विषय बन्ला । जबजलाई हेर्दा पनि मदन भण्डारी नेपाली राजनीतिको दूरदर्शी र भिजन भएको नेता भएको कुरा इतिहासले प्रमाणित गरिसकेको छ । मदनको विचार यस हिसाबले पनि नेपाली कम्युनिष्ट आन्दोलनको रक्षाकवच बन्न पुगेको थियो ।
जनताको बहुदलीय जनवाद कुन परिस्थितिमा आयो ?

वि.सं. २००५ सालमा कार्ल माक्र्स र फ्रेडेरिक एङ्गेल्सले लेखेको माक्र्सवादको घोषणापत्रको नेपाली अनुवाद कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालले गर्नुभयो । अनुवाद गरेसँगै उहाँको भनाइ थियो– यही घोषणाअनुरुप भए नेपालको समस्या समाधान हुन्छ । क्रान्ति सफल हुन्छ । वि.सं. २००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना भएपछि माक्र्सवादको कार्यान्वयनको चरण प्रारम्भ भयो । यससँगै कम्युनिष्ट पार्टीभित्र धेरैखाले प्रयोगहरु शुरु भए ।

विश्व कम्युनिष्ट आन्दोलनमा पनि कम्युनिष्ट पार्टीभित्र दुई धार देखिएको थियो । शान्तिपूर्ण संघर्षबाट क्रान्ति पूरा गर्ने कि संघर्षबाट क्रान्ति पूरा गर्ने भन्नेमा । यसको प्रभाव नेपालमा पनि देखापरेको थियो । एकबाट दुई, दुईबाट तीन हुँदै विभिन्न धारमा कम्युनिष्ट पार्टीहरु देखा पर्दैगएका थिए । कम्युनिष्ट पार्टीभित्र वि.सं. २००९ सालदेखि नै शान्तिपूर्ण र सशस्त्र संर्घषको धार देखापरेको थियो । वि.सं. २०१७ सालमा राजा महेन्द्रले दलीय व्यवस्थाको हत्या गरी पञ्चायती निर्दलीय व्यवस्था लागू गरेपछिको समयबाट भने कम्युनिष्ट पार्टीभित्र कार्यक्रमिक विवाद शुरुभएको थियो । विभिन्न छलफल र बहस प्रारम्भ भएका थिए । पुष्पलालले नयाँ जनवादी क्रान्ति भन्ने गर्नुभएको थियो ।

मोहनविक्रम सिंहले देशभक्त र जनतान्त्रिक शक्तिको सरकार बनाउने भन्ने अर्मूत र असान्दर्भिक नारा उठाउनु भएको थियो ०३१ सालमा आइपुग्दा ।

यता नेकपा (माले)ले भने स्थापनाकालमा चर्को क्रान्तिकारीताको धङधङीबाट बहुदलीयतासहितको नयाँ जनवादी व्यवस्था लागू गर्ने भन्नेमा आइपुग्न झण्डै एक दशक लाग्यो । सैद्धान्तिक, वैचारिक छलफलहरु उत्कर्षमा रहेको थियो । तत्कालीन माले जहाँ मदन भण्डारी आवद्ध हुनुहुन्थ्यो, वि.सं. २०३६ सालको विद्यार्थी आन्दोलन जसले जनमतसंग्रह गर्न राजालाई बाध्य पा¥यो, जुन आन्दोलनको सफलतासँगै नेकपा (माले)ले शान्तिपूर्ण आन्दोलनबाट पनि परिवर्तन सम्भव रहेको निष्कर्ष निकाल्ने प्रस्थान विन्दु बन्न पुगेको नेताहरु बताउँछन् ।

यसैबीच मदन भण्डारीकै विशेष भूमिकामा मालेले पञ्चायतविरोधी शक्ति एक भएर अघि बढे पञ्चायतलाई परास्त गर्न सकिन्छ भन्ने निष्कर्ष पनि निकालेको थियो । पछि नेपाली कांग्रेस, वाम गठबन्धन लगायतका दलहरुले वि.सं.२०४६ सालको आन्दोलन गरे । पञ्चायत फालियो । यस आन्दोलनले पनि शान्तिपूर्ण आन्दोलनबाट ठुल्ठुला परिवर्तन सम्भव हुने रहेछ भन्ने शिक्षा दियो । मदन भण्डारीले त्यसअघि नै आगामी कम्युनिष्ट आन्दोलनको बाटो शान्तिपूर्ण बनाउनेतर्फ आफ्ना विचार प्रस्तुत गर्दै आउनुभएको थियो । यद्यपि मदनले जबजलाई सैद्धान्तिक रुपमा अघि सार्न महत्वपूर्ण र नेतृत्वदायी भूमिका खेलेको तथा सम्पूर्ण नेताहरुको सामूहिक प्रयासको कारण जबजको जन्म भएको नेकपा बरिष्ठ नेता माधवकुमार नेपालको भनाइ छ । जबज एकैदिन कसैको दिमागमा आएको उपज नभई मदन लगायतका सबै सहयोद्धाहरुको श्रेय भएको बताउनुहुन्छ ।

त्यसो त, वि.सं. २०४६ भदौमा मालेको चौथो महाधिवेशनमा तत्कालीन महासचिव झलनाथ खनालले पनि नयाँ जनवादी कार्यक्रम बहुदलीयतामा आधारित हुने र त्यो कार्यक्रम बहुदलीय जनवाद हुन्छ भनेर राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो प्रतिवेदन तयार गर्न मदन भण्डारीको ठूलो हात रहेको थियो । यसकारण पनि यो तथ्य प्रमाणित हुन्छ कि तत्कालीन महासचिवको हैसियतमै झलनाथले चौथो महाधिवेशनमा महासचिवको रुपमा मदन भण्डारीकै नाम सिफारीस गर्नुभएको थियो । ०४६ सालमा आइपुग्दा माओत्सेतुङ विचारधारालाई मार्गदर्शक सिद्धान्तबाट छोडेर माक्र्सवाद, लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने कुरा आयो ।

चौथो महाधिवेशनकै राजनीतिक प्रतिवेदनमा नयाँ जनवादी कार्यक्रम बहुदलीय प्रतिस्पर्धामा आधारित हुनुपर्छ, त्यो बहुदलीय जनवाद हुन्छ भन्ने कुरा समेटिएको थियो । यद्यपि चौथो महाधिवेशनमा नयाँ जनवादी कार्यक्रम, नयाँ जनवादी व्यवस्था बहुदलीय प्रतिस्पर्धामा आधारित हुन्छ भन्ने कुरा गरिएको भए पनि त्यसको समग्र व्याख्या भने गरिएको थिएन । तर मदन भण्डारीले पाँचौ महाधिवेशनमा बहुदलीय जनवादको समग्र पक्षमाथि व्याख्या, विश्लेषण गर्नुभएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली जबजलाई वैचारिक छलफल गर्ने, त्यसका राजनीतिक पक्ष, सैद्धान्तिक पक्ष, संगठनात्मक पक्ष, राजनीतिक प्रणालीगत पक्ष, सामाजिक न्याय र समानताका पक्ष, मानवअधिकार, वातावरणका पक्ष लगायतका विविध कुरा सामेल गराएर सुविचारित विचारको रुपमा ल्याइएको बताउनुहुन्छ ।

इतिहासलाई फर्केर हेर्दा, विश्वभर कम्युनिष्ट पार्टीले चलाएको सत्ता निरङ्कुश, एकदलीय र तानाशाही हुन्छन् भन्ने आरोप लाग्दै आएको थियो । तर नेपालमा भने कम्युनिष्ट पार्टी स्थापनाको सुरुवाती वर्षदेखि नै बहुदलीय प्रणालीको पक्षमा उभिएको सुन्दर उदाहरणहरु छन् । वि.सं. २००८ सालमा भएको नेकपाको पहिलो सम्मेलनले पारित गरेको नयाँ जनवादको निम्ति नेपाली जनताको बाटो भन्ने दस्तावेजमा पनि बहुदलीय व्यवस्था हुने, आवधिक निर्वाचन हुने, पार्टीहरुको समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्ने प्रावधानहरु थिए । जतिखेर तत्कालीन मालेभित्र विचार र सिद्धान्तबारे छलफल चलिरहेको थियो विश्व कम्युनिष्ट आन्दोलन विग्रहको बाटोमा थियो । सोभियत संघ विघटन भएको थियो । कम्युनिष्ट पार्टीहरु विर्सजनवादी धारमा पुगेका थिए । विश्वभरबाट कम्युनिष्ट पार्टीको झण्डा फालिंदै गएका थिए ।

कतिपय पार्टीहरु माओत्सेतुङ र स्टालिनको पालाको शैलीको सशस्त्र संघर्षजस्तै कडा ढङ्गले जानुपर्छ भनिरहेका थिए, हाम्रो देशमा पनि त्यस्तै थियो । केशरजंग रायमाझीहरु कम्युनिष्ट भएर अघि बढ्न सकिन्न भन्ने, मदन भण्डारी शान्तिपूर्ण बाटोबाट अघि बढ्न सकिन्छ भन्ने र यता प्रचण्डहरु सशस्त्र संर्घषबाट मात्रै अघि बढ्न सकिन्छ भन्ने धारको विकास भइरहेको थियो ।
यद्यपि अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा पनि शान्तिपूर्ण धारहरु भने थिए ।

यस्तो अवस्थामा भने संयुक्त जनआन्दोलनबाट राजतन्त्र हटाउने र बहुदलीय प्रजातन्त्र स्थापना गर्ने पहल भइरहेको थियो । मदन भण्डारीको विचार शान्तिपूर्ण बाटोबाट पनि परिवर्तन अघि बढाउन सक्छौं र क्रान्ति सम्पन्नपश्चात् स्थापना हुने सत्ता, सरकार लोकतान्त्रिक मूल्य, मान्यताअनुरुपकै हुनुपर्दछ, एकदलीय, निरङ्कुश हुनुहुँदैन भन्ने थियो । मदनले बहुदलीय प्रतिस्पर्धासहितको लोकतान्त्रिक, मूल्यमान्यता भएको जनवादी व्यवस्था स्थापना गर्ने भन्ने विचारको रुपमा जनताको बहुदलीय जनवाद भनेर प्रस्तुत गर्नुभएको थियो । यसको पक्ष र विपक्षमा मत मतान्तर भएको थियो । जनताको बहुदलीय जनवाद नाम राख्ने विषयमा पनि व्यापक छलफल भएको थियो । कार्यक्रमले बोकेको दिशा ठिक भएकोमा आम सहमति भए पनि नामको विषयमा तीब्र मतमतान्तर भएको दृष्ट्रान्तलाई प्रधानमन्त्री ओली पनि स्वीकार गर्नुहुन्छ ।

नेकपा बरिष्ठ नेता माधवकुमार नेपाल बहुदलीय जनवादका मान्यताका बारेमा पार्टीभित्र त्यतिखेर पक्ष र विपक्षमा विभाजित भएको स्वीकार गर्नुहुन्छ । अन्ततः यसको नाम र सारतत्व के हुने भन्नेमा छलफल भई जनताको बहुदलीय जनवाद नाम राखेर जान सहमत भइएको नेता नेपालको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विश्वभरबाट माक्र्सवादविरुद्ध आक्रमण भइरहेको बेला त्यसलाई चुनौती दिदैँ कम्युनिष्ट आन्दोलन, विचार र रणनीतिलाई लोकप्रिय बनाउन साहसका साथ नयाँ कुरा मदन भण्डारीले अघिसार्ने आँट गर्नुभएकोले मदन लोकप्रिय विचारक र राजनीतिक रणनीतिज्ञको रुपमा स्थापित भएको बताउनुहुन्छ ।

संकीर्णतामा टाँसिएर पुरानै कुरा दोहो¥याई राख्ने नेपाली कम्युनिष्ट आन्दोलनमा लागेको रोगलाई मदनले नयाँ विचारसाहसका साथ अघि सार्ने नयाँ आँट गर्न सक्नुभएको प्रचण्डको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओली आगामी दिनमा रचनात्मकरुपले अघि बढेपनि त्यसको मार्गदर्शन भने जबजबाटै लिएर अघि बढ्नुपर्ने बताउनुहुन्छ ।

आज मदन भण्डारीले स्थापित गरेको कार्यक्रम जबज बोक्ने तत्कालीन नेकपा (एमाले) छैन । नेकपा (माओवादी केन्द्र) सँगको एकीकरणपश्चात् नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बनेको छ । आधारभूत रुपमा जबजलाई टेकेर नेकपाको कार्यक्रम जनताको जनवाद बनाइएको छ, त्यो पनि महाधिवेशनसम्मको निम्ति भनिएको छ । अन्तरवस्तु भने जबजकै छ जनताको जनवादमा पनि ।

आगामी दिनमा जबज

आगामी दिनमा जबज र एक्काइसौं शताब्दीको जनवादको विषयमा अझ बृहत् रुपमा छलफल गर्ने भनिएको छ । आगामी महाधिवेशनमा जनताको बहुदलीय जनवादमा केही समयानुकूल परिमार्जनसहित यसैको मार्गचित्र अङ्गीकार गर्न सक्ने निश्चितप्रायः छ । किनभने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सार्वजनिक रुपमै जबजको विषयमा आफ्नो धारणा प्रस्तुत गर्नुभएको छ । यी दुई पार्टीहरु वैचारिक मुलभूत विषयमा एक भएर पार्टी एकीकरण गरेका छन् । पहिलो अब फेरि सशस्त्र संघर्ष आवश्यक छैन भन्नेमा स्पष्टता । दोस्रो शान्तिपूर्ण ढङ्गले आगामी दिनमा समाजवादमा पुग्ने र तेस्रो समाजवादी व्यवस्था पनि लोकतान्त्रिक प्रणालीको हुने । मूल कार्यनीतिक कार्यदिशा भनेको समाजवादको आधारहरु निर्माण गर्ने ।

यसर्थ मुलभूत रुपमा नेकपाभित्र जबजको कुरा नपरेको हुनाले नेकपाले जबज बोकेको छैन भन्न मिल्दैन । आजको नेकपाको राजनीतिक कार्यदिशा जबजकै कार्यदिशा हो । यद्यपि यसमा विगत तीन दशकका अनेक अनुभव र प्रयोगको समीश्रण पनि जोडिन आइपुगेको छ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विश्वभर कम्युनिष्ट आन्दोलन असफल भइरहेको परिप्रेक्षमा जबजले मजबुत बनाएको र विश्वलाई नै नयाँ सन्देश दिएको बताउनुहुन्छ । जबजले दुनियाँबाट कम्युनिष्ट आन्दोलन अत्यन्त रक्षात्मक भएको बेला नेपालमा भने कम्युनिष्ट आन्दोलन विश्वकै मजबुत आन्दोलनको रुपमा चुनावी मैदानबाट अगाडी बढाइएको ओलीको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी एकता गर्दाताका विचारलाई परिमार्जन गर्ने सहमति भएको बताउनुहुन्छ । विगतको विचार र सिद्धान्त, अनुभवलाई आधार मान्दै र अग्रजलाई सम्मान गर्दै विश्वलाई नेपालबाट समाजवादको नयाँ मोडेल दिने उहाँको भनाइ छ । विचार, राजनीति र रणनीतिमा अग्रजले देखाएको ठाउँमा टेकेर अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको संश्लेषण गर्दै नयाँ विचार र समाजवादको नयाँ मोडेल दिइने उहाँ बताउनुहुन्छ ।

अहिलेको पार्टी पङ्क्ति जबजको आधारभूत मूल्य, मान्यताअनुरुप नै अघि बढिरहेको परिस्थितिमा र तत्कालीन नेकपा माओवादीकेन्द्रले पनि बहुदलीय प्रतिस्पर्धालाई स्वीकार गरिसकेको अवस्था र पार्टी एक भइसकेको अहिलेको सन्दर्भमा जबजलाई नयाँ ढङ्गले सैद्धान्तिकरण गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालको भनाइ छ । आगामी महाधिवेशनले अघिल्लो बाटो तय गर्ने उहाँले बताउनुभयो ।

२१ औँ शताब्दीको जनवाद र जबजका कतिपय विषयहरु समेटेको, समग्र नेपाली कम्युनिष्ट आन्दोलनको अनुभवहरु संश्लेषण गरेर विगतका कुराहरु कति आवश्यक छन् ती आवश्यक कुरालाई समेटेर जनताको जनवाद बनाएको र यसलाई अझै समृद्ध र परिमार्जन गर्ने नेकपा स्थायी कमिटी सदस्य बेदुराम भुसाल बताउनुहुन्छ । विगतकै सम्पूर्ण पदचाप पछ्याउनु आवश्यक नरहेको उहाँको भनाइ छ ।

राजनीतिक प्रणालीको हिसाबले आधारभूत रुपमा देश जबजले बाटोमा गएको जस्तो देखिए पनि आर्थिक, सामाजिक, सांस्कृतिक हिसाबले जबजले भने अनुरुप हुन नसकेको परिस्थितिमा आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा पनि सोहीअनुरुप नै हुनुपर्ने आवश्यकता छ ।

जनवादी क्रान्ति आधारभूत रुपमा सम्पन्न भइसकेकाले अब नेकपाको यात्रा समाजवादतर्फ हो । जबज कुन परिस्थिति, दृष्टिकोणका साथ मदन भण्डारीले अघि सार्नुभयो त्यसको सारतत्व अहिले पनि लागू भएको र भोलि पनि लागू हुने नेता युवराज ज्ञवालीको भनाइ छ । समाजवाद गन्तव्य भएपनि त्यो समाजवाद लोकतान्त्रिक हुने र बहुदलीय प्रतिस्पर्धामा आधारित हुने, ३ खम्बे अर्थनीतिको आधारमा समाजवादको आधार तयार गर्ने आगामी बाटो भएकोले सारमा जबजमै रहेको उहाँको भनाइ छ ।
हिजो सशस्त्र संघर्षको बाटो समातेको पार्टी गणतन्त्रको मूल उपलव्धी सहित शान्तिपूर्ण राजनीतिमा आएको छ । बहुदलीय प्रतिस्पर्धाको आधारमा लोकतान्त्रिक प्रणालीमा सामेल भएको छ । एकदलीय शासनमा आधारित समाजवाद नमान्ने भनिसकेको अवस्थामा आगामी दिनमा जनताको बहुदलीय जनवादकै मार्गचित्रमा नेकपा अघि बढ्ने प्रष्ट देखिन्छ । भलै ०४९ सालमा प्रतिपादन भएको जबजमा आजको परिस्थितिअनुकूल केही थपघट हुने र नेकपा समाजवादको कुन मोडेलमा जाने भन्ने बहस, छलफल अरु धेरै बढी आवश्यक छ ।

बहुदलीय जनवादको आर्थिक प्रस्थापना

सन् १९९०को दशकमा विश्वमा आएको अर्थ–राजनीतिक परिवर्तनको प्रभाव नेपालमा पनि प¥यो । फलस्वरुप, नेपालमा पनि वि.सं.२०४७ सालताका नै जनताको बहुदलीय जनवादको जगमा आधारित अर्थनीतिको आधार तय भयो । वि.सं.२०५१ मा मनमोहन अधिकारीको नेतृत्वको अल्पमतको सरकारले सामन्तवादी, पूजीवादी उत्पादन र वितरण प्रणलीलाई अन्त गर्दै सामाजिक न्यायमा आधारित कार्यक्रमहरुसहितको आर्थिक नीति प्रस्तुत ग¥यो । यहाँबाट बहुदलीय जनवादको आर्थिक नीतिको व्यावहारिक परीक्षण त्यही सरकारको बजेटमार्फत भयो । ‘आफ्नो गाउ“ आफैं बनाऔं’देखि सामाजिक सुरक्षा कार्यक्रममार्फत बृद्धभत्ताको अवधारणासम्मका कार्यक्रम बजेटमा परे ।

त्यसबेलाका बजेट र आर्थिक कार्यक्रमले उत्पादन र वितरण प्रणलीमा विद्यमान सामन्ति जालोलाई चिर्दै लोककल्याणकारी राज्यको मान्यताअनुरुप सामाजिक न्यायमा आधारित हुने प्रयास गरेको देखिन्छ । आज पनि त्यसबेलाको सरकारका ती लोकप्रिय कार्यक्रमहरुलाई जनताको बहुदलीय जनवादको प्रतिविम्बको रुपमा लिन सकिन्छ । एकदलीय तानाशाही अर्थव्यवस्थालाई आलोचनात्मक रुपमा परिमार्जन गर्दै नेपाली कम्युनिष्ट आन्दोलनले गरिब, मजदुर र श्रमजीवीजस्ता समाजका हु“दा खाने वर्गहरुको आवश्यकता सम्बोधन गर्न जबजलाई जग बनाएको थियो । अर्थविज्ञ रघुवीर विष्ट तत्कालीन नेकपा(एमाले)को सरकारले २०५१ सालमा ल्याएको ‘आफ्नो गाउँ आफैँ बनाऊँ’, बृद्धभत्तालगायतका कार्यक्रम नेपालमा सामाजिक सुरक्षाको पहिलो कार्यक्रम रहेको र यसले जनस्तरमा ठूलो प्रभाव पारेको बताउनुहुन्छ ।

त्यसो त दोस्रो विश्वयुद्धपश्चात् विश्वको अर्थराजनीति अमेरिकाप्रति आकर्षित भयो । यसपछि विश्व क्रमशः पू“जीवादी र प्रजातान्त्रिक समाजवादउन्मुख भन्ने दुई हिस्सामा विभाजित हु“दै गयो । विशेषतः सन् १९९० को दशकताका विश्वको अर्थराजनीति पनि उदार र प्रजातान्त्रिक धारमा अघि बढिरहेको थियो ।

नेपालले पनि बाह्य पू“जीलाई स्वीकार गर्न थालिसकेको थियो । त्यसैले पनि २०५१ को एमालेको अल्पमतको सरकारले सामाजिक सुरक्षा तथा स्रोत–साधनको विकेन्द्रीकरण गरी तल्लो तहबाट पनि काम गर्ने अवधारणा अघि सारेको थियो । हुन त विश्वका विकसित राष्ट्रहरु चीन होस् अमेरिका या बेलायत नै किन नहोस् सामाजिक सुरक्षा, पूर्वाधार निर्माण लगायतका राजनीतिक र आर्थिक अधिकारहरु प्रशस्तै रुपमा दिइएको छ । नेपालका सन्दर्भमा भने जबजमा आधारित अर्थनीतिले समाजको क्षेत्रीय, वर्गीय असन्तुलन वा खाडललाई पुर्ने उद्देश्य राखेको थियो । त्यतिखेर तल्लो तहमा स्रोतको विकेन्द्रीकरण गरेर नेपालमा भएको क्षेत्रीय असन्तुलनलाई घटाउँदै जाने, वर्गीयविभेद र खाडललाई पुर्दै जाने भनेर त्यतिबेला ल्याइएको जबजको आर्थिक विचार अहिले गिजोलिंदै गएको अर्थविद् चन्द्रमणि अधिकारीको टिप्पणी छ ।

समग्रमा विश्व परिदृश्यमा भइरहेको राजनीतिक र आर्थिक परिवर्तनलाई निकै बौद्धिक र चतु¥याईंका साथ आत्मसात गरेका जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवादको प्रतिपादन गर्न सफल भएको विज्ञहरु मूल्याङ्कन गर्छन् । तत्कालीन समयमा विपक्षी दलस“ग सहकार्य गर्ने अभ्यास पनि थिएन । तर २००६ सालमा नेकपा स्थापनादेखिकै पुष्पलालको मिलेर जानुपर्छ भन्ने नीतिले पनि जबज स्थापनामा केही भूमिका खेल्यो । मदन भण्डारी र पुष्पलालको धारणा त्यति फरक नभएको अर्थविद् डा. चन्द्रमणि अधिकारीको ठहर छ । त्यसो त विश्वमा सधंै एक तप्काले मात्रै शासन गर्नुपर्छ र उसैले मात्रै राज्यको स्रोतको उपभोग गर्न पाउनुपर्छ भन्ने विरासतलाई नेपालमा भने कम्युनिष्ट पार्टीको राजनीतिक–आर्थिक कार्यक्रमले धकेल्दै लान सफल भएको छ । तत्कालीन परिस्थितिमा अन्तर्राष्ट्रिय अर्थराजनीतिको माग पनि त्यही नै थियो ।

जबजको आर्थिक नीतिको पहिलो प्राथमिकतामा उत्पादन र वितरणमा साम्यवादी र साम्राज्यवादीबीचको असमानताको अवशेषलाई उन्मूलन गर्ने र दोस्रोमा नया“ उत्पादन, स्रोत र साधनलाई तयारी गर्ने भन्ने उल्लेख छ । त्यसबेला जबज नै मुलुकलाई समाजवादमा पु¥याउने एक मात्र धारणा हो भन्ने मान्यता नेताहरुमा पनि थियो । तर महाकाली सन्धिपश्चात् जबजका उत्ताराधिकारीहरुमा केही बहकाब लागेको हो कि भन्ने विज्ञहरुको अनुमान छ ।

अर्थविज्ञ रघुवीर विष्ट उतिबेला नेताहरुमा र अगुवामा यो नै महत्वूर्ण विचार हो र यसले समाजवादउन्मूख गराउँछ भन्ने धारणा रहेको र पार्टी पनि संगठित र सामूहिक रुपमा सञ्चालित अवस्थामा, राम्रो चरित्रमा रहेको भएपनि आजको दिनमा सबै बिग्रँदै गएको बताउनुहुन्छ । सामूहिक नेतृत्वको कुरा, र सैद्धान्तिक कुराहरु संशोधन हुँदै हुँदै गइरहेको उहाँको आरोप छ ।

नेपालको अर्थराजनीतिक ईतिहासमा जनताको बहुदलीय जनवादको दृष्ट्रान्तअघि मुख्यतः पू“जीवाद, समाजवाद र मिश्रित अर्थव्यवस्था लागू भइरहेको थियो । छिमेकी मुलुक भारतले पनि अवलम्वन गरिरहेको मिश्रित अर्थराजनीतिलाई तत्कालीन पञ्चायतकालका शासकहरुले पनि अवलम्वन गरिरहेका थिए । उत्पादनका साधन र वितरणमा तल्लो वर्गको सहभागिता सम्बोधनका लागि जन्मिएको जबजले राष्ट्रिय अर्थतन्त्रको आधारका रुपमा सरकारी, निजी र सहकारी गरि ३ खम्बे नीति प्रतिपादन गरेको छ । जसको उपादेयता र सान्दर्भिकता आज पनि उत्तिकै टड्कारो छ ।

जनताको बहुदलीय जनवादको आर्थिक कार्यक्रमको प्रमुख उद्देश्य उत्पादन र वितरणमा सामन्तवाद र साम्राज्यवादको अवशेषलाई उन्मूलन गर्दै उत्पादनका नया“ स्रोत र साधन तयार गर्नु हो । वर्तमान अवस्थामा नेकपाको दुइ तिहाई बहुमतको सरकार छ । नेपालको संविधान २०७२ मा उल्लेख भएअनुसार समाजवादउन्मूख अर्थतन्त्रमा आधारित भई तीन पटकसम्म सरकारका नीति तथा कार्यक्रम र बजेट पनि सार्वजनिक भइसकेको छ ।

त्यसो त, लामो समयपछि निर्माण भएको स्थिर सरकारले सन् २०३० सम्ममा मध्यम आय भएको देश बनाउने दीगो लक्ष्य पनि अघि सारिरहेको छ । सतहमा हेर्दा राम्रै लागेपनि जनताको बहुदलीय जनवादमा आधारित अर्थनीतिको मूल मर्म अवलम्वन हुन नसकिरहको अर्थविज्ञ डा. रघुवीर विष्ट बताउनुहुन्छ । जबजले स्वाबलम्बी अर्थतन्त्र र स्वाधीनताको नीति अपनाएको छ । तर यतिबेला हामी पराधीन अर्थतन्त्रमै छौं, र त्यसैको सन्दर्भ लिएर व्याख्या गरिरहेका छौं, यसकै कार्यान्वयन अनि यसैको असरका बारेमा अल्मलिरहेका छौंं । अर्थराजनीतिस“गै जोडिएर आउने परराष्ट्रनीतिमा असंलग्न र पञ्चशीलको परराष्ट्रनीति जबजको मार्गनिर्देशन हो । तर वर्तमान परिस्थितिको राजनीति र अर्थनीतिले राष्ट्रिय स्वाधीनतालाई कमजोर बनाइरहेको छ । साइकल लिएर लुरु–लुरु हिंड्ने जननेता मदन भण्डारी र अहिलेका नेतृत्व वर्गहरु र उनीहरुको आदर्शमै आकाश–जमिनको फरक छ । अझै भन्दा जबजको आदर्शविपरीत सामन्ती अवशेषहरु पार्टीभित्र मौलाउँदै गइरहेका छन् । अर्थविज्ञ रघुवीर विष्ट अहिलेको पार्टीभित्र आदर्श र त्याग गुमेको टिप्पणी गर्नुहुन्छ । आजका नेताले गर्ने खर्चले समाजवादी चरित्र र जबजको आदर्श नबोकेको उहाँको भनाइ छ । पार्टीको आदर्श र वर्गीयचरित्र मर्दै गएको विष्टको ठहर छ ।

मुख्यरुपमा स्वास्थ्य, शिक्षा, वृद्धवृद्धा, बालबालिका र बेरोजगार लगायत समाजका कमजोर वर्गहरुलाई प्रवद्र्धन गर्नु जबजको मान्यता हो । तर, जबजले देखाएको लोककल्याणकारी बाटो विपरीत आमजनताको सरोकार रहने शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रहरु अन्धाधुन्द निजीकरण भएका छन् ।अर्थविद् चन्द्रमणि अधिकारी समाजवादी अर्थ व्यवस्थामा स्वास्थ्य, शिक्षा, बुढ्यौली, बचपन र बेरोजगारीको अवस्थामा राज्यले टेककेयर गर्नुपर्ने भए पनि राज्यले यसतर्फ ध्यान नपु¥याउँदा भोलि कस्तो राज्य व्यवस्था बन्ला भन्ने गम्भीर प्रश्न उठ्ने विष्टको आशङ्का छ ।

कुनै समय नेपाली कम्युनिष्ट आन्दोलनमा नया अध्याय थपेको जनताको बहुदलीय जनवादका संख्यात्मक रुपमा अनुयायीहरु त थपिएका छन् तर जबजको मर्म भने ओझेलमा पर्दै गइरहेको छ । यसर्थ, जबज कुनै कथा, ग्रन्थ वा सिद्धान्तमा मात्रै सिमित हुनुपूर्व नै जननेता भण्डारीले कोरेको पथमा इमानदारीपूर्वक अघि बढ्न आजको कम्युनिष्ट नेताहरुले छातीमा हात राखी समीक्षा गर्न जरुरी छ । सरकार र सडकको मोर्चाबाट जनपक्षीय काम गर्ने भन्ने जबजको मकसद हो भन्ने कम्युनिष्ट नेताहरुले भुल्न थालेको गम्भीर प्रश्न उठ्न थालेका छन् ।

जबजले अंगीकार गरेको विदेश नीति

नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवादले विदेश नीतिका सम्बन्धमा स्पष्ट अवधारणा प्रस्तुत गरेको छ । जबजले भनेको छ – सामान्य सैद्धान्तिक अवधारणाको आधारमा सैद्धान्तिक ढङ्गले आमखालको विरोध वा समर्थनबाहेक ठोस रुपमा आफ्नो देशको क्रान्ति र निर्माणको प्रत्यक्ष लाभ–हानिको हिसाबबाट मात्र विदेश सम्बन्ध सञ्चालन गर्न सक्छौं ।

जबजले छिमेकी देशहरुसँग पञ्चशीलको सिद्धान्तको आधारमा व्यावहारिक ढङ्गले सम्बन्ध स्थापना र विकास गर्ने दृष्टिकोण अघि सारेको छ । क्रान्ति र निर्माणलाई प्रत्यक्ष सहयोग समर्थन गर्ने देशहरु र मित्र देशहरुको आधारमा क्रमिक रुपमा महत्व दिइने उल्लेख छ भने क्रान्ति र निर्माणका ठोस व्यावहारिक विषयलाई बेवास्ता गरेर केवल सैद्धान्तिक आग्रहको रुपमा मात्र अघि बढ्न नसकिने बताएको छ । जतिखेर पाँचौ महाधिवेशन सम्पन्न भयो त्यतिखेर एमालेको महासचिव मदन भण्डारी हुनुहुन्थ्यो र उहाँले प्रखर राष्ट्रवादी नेताको छवि बनाउनुभएको थियो ।

जबजले साम्राज्यवादको प्रष्ट रुपमा विरोध गरेको थियो । क्षेत्रीय प्रभुत्ववादको पनि विरोध गरेको थियो । मदनले बारम्बार छिमेकी मुलुकसँग गरिएको असमान सन्धि, सम्झौता खारेजी गर्नुपर्ने धारणा राखिरहनुहुन्थ्यो र उक्त कुरा जबजको विदेश सम्बन्धमा पनि उल्लेख गरिएको छ । मदन भण्डारी पार्टीको महासचिव हुँदाका बखत विदेश विभागको सदस्यको जिम्मेवारी सम्हाल्नुभएका परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ मदन भण्डारीले देशभक्त, राष्ट्रियताको पक्षधर नेताको रुपमा आफूलाई उभ्याउँदै त्यसैअनुरुप परराष्ट्र नीतिमा पनि क्रान्तिकारी छवि देखाएको बताउनुहुन्छ । उहाँले साम्राज्यवाद र प्रभुत्ववादको विरुद्धमा निरन्तर संघर्ष गर्नुभएको श्रेष्ठको भनाइ छ ।

असमान सन्धि सम्झौता खारेज गर्नुपर्छ भन्ने दृढ धारणा राख्ने, देशभक्त र राष्ट्रियताको पक्षधर रहनुभएका भण्डारीको परराष्ट्र नीतिमा क्रान्तिकारी छवि रहेको उहाँ बताउनुहुन्छ ।मदन भण्डारीले विभिन्न अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीहरुसँग पनि भाइचाराको सम्बन्ध स्थापित गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । छिमेकका कम्युनिष्ट पार्टीहरुसँग पार्टी भूमिगत रहँदा र खुल्ला रुपमा पार्टी आइसक्दा पनि सम्बन्ध स्थापित थियो भने राष्ट्रिय स्वाधीनता र स्वाभिमानको पक्षमा मदन उभिनुभएको थियो । विगतका परराष्ट्रनीतिमा भएका कमी कमजोरीलाई सच्याउनुपर्नेमा भण्डारीको जोड रहेको थियो ।

भण्डारी तेस्रो विश्वका हिमायती, साम्राज्यवादका विरोधी र विगतका परराष्ट्र नीतिका कमी कमजोरी परिमार्जन गर्नुपर्छ भन्ने दृढ बिचार राख्ने प्रखर व्यक्तित्व रहेको परराष्ट्रविद् श्रेष्ठको स्मरण छ ।

भारतीय हेपाहा प्रवृत्तिको विरुद्ध सतिसालझैँ उभिए पनि भारतीय जनतासँगको सम्बन्ध, जनस्तरको आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्धलाई बलियो बनाउनुपर्नेमा भण्डारीको ध्यान केन्द्रित रहेको थियो । भारतीय संस्थापनबाहेक उहाँको त्यहाँका कम्युनिष्ट पार्टी र जनस्तरमा सम्बन्ध अत्यन्तै राम्रो रहेको थियो । जनस्तरको सम्बन्धलाई प्रोत्साहन र विकास गर्नुपर्छ भन्ने उहाँको मान्यता रहेको थियो । छिमेकी मुलुकसँगको सम्बन्ध सार्वभौम समानताको आधारमा हुनुपर्ने, ठूलाले सानालाई असमान व्यवहार गर्ने, हेप्ने, होच्याउने गर्नु नहुने र अन्र्तराष्ट्रिय सम्बन्ध पञ्चशीलको आधारमा सञ्चालन गर्नुपर्नेमा मदन भण्डारी दृढ रुपले उभिनुभएको थियो ।

छिमेकी देशहरुबीच सार्वभौम समानताका आधारमा सम्बन्ध हुनुपर्ने, असमान व्यवहार ठूलाले सानालाई गर्न नहुने, अन्र्तराष्ट्रिय सम्वन्धमा सार्वभौम समानता हुनुपर्ने र पञ्चशीलको आधारमा सम्बन्ध हुनुपर्ने धारणा भण्डारीको रहेको परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ बताउनुहुन्छ ।

तत्कालीन कांग्रेस सरकारले टनकपुर सन्धि गर्दा संसदमा निरन्तर ८ घण्टा नाराबाजी भयो । भण्डारीले ३ घण्टा लामो राष्ट्रवादी भाषण गर्नुभयो । उहाँ कुनै पनि प्रकारको असमान सन्धि सम्झौताको पक्षमा हुनुहुन्थेन र भारतसँग सन् १९५० मा भएको असमान सन्धि खारेजीलगायत समानताको आधारमा सन्धि सम्झौता हुनुपर्नेमा मदन भण्डारीको जोड थियो । गण्डकी र कोशी सम्झौताझैं गल्ती टनकपुरमा हुन नदिनको निम्ति उहाँ निरन्तर संसदीय संघर्षमा लाग्नुभएको थियो । भण्डारीको देशभक्तिको पक्षमा आफूमात्रै होइन, व्यापक मोर्चा बनाउने कला पनि रहेको जानकारहरु बताउँछन् । राष्ट्रिय हितका लागि संयुक्त मोर्चाको रणनीति कार्यान्वयनमा उहाँले कुशलता देखाउनुभएको परराष्ट्रविद् श्रेष्ठको भनाइ छ । राष्ट्रियताको पक्षको अडान र नेपालको प्राकृतिक सम्पदाको हकमा नेपाल डटेर लाग्नुपर्छ भन्नेमा उहाँ दृढ हुनुहुन्थ्यो ।

जबजको बल र कुशल नेतृत्वको कारण एमालेले संसदीय चुनावमा सामेल भएको पहिलो पटक अर्थात् ०४८ सालको आमनिर्वाचनमा सशक्त प्रतिपक्षीको भूमिका पायो भने ०५१ सालमा अल्पमतकै भए पनि नेपालको इतिहासमा पहिलो बामपन्थी सरकार नै बनाउन सफल भयो । एमाले सरकारमा रहँदा मदन भण्डारीले विकास गर्नुभएको विदेश नीतिलाई एमाले सरकारले कार्यान्वयन गरेको परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ बताउनुहुन्छ । मनमोहन अधिकारी नेतृत्वको सरकारमा मदन भण्डारीकै स्पिरिटलाई अनुमोदन गरिएको विज्ञहरुको भनाइ छ । परराष्ट्रविद्श्रेष्ठका अनुसार, पहिले पहिले असमान सन्धि खारेज गर्नुपर्छ भनेर नारा लाउने काम मात्रै भएपनि मनमोहनको सरकारको पालामा सन् १९५० को सन्धि खारेजीको लागि औपचारिक कदम उठाइएको हो ।

मदन भण्डारीले विकसित गर्नुभएको विदेश नीतिलाई हालको नेकपाले पनि आंशिक रुपमा कार्यान्वयन गरेको र कतिपय राष्ट्रिय हितको विषयमा भने अझै पनि मदनको जत्तिकोअडान लिन नसकेको परराष्ट्रविद् श्रेष्ठको मूल्याङ्कन छ । नेकपाले अझैपनि साम्राज्यवाद र प्रभुत्ववादको विरुद्ध दृढ हुँदै छिमेकी देशमा जनस्तरको सम्बन्ध बलियो बनाउँदै छिमेकी देशसँगका असमान सन्धि, सम्झौता खारेजी गरी र समानताको आधारमा देशभक्त र राष्ट्रिय चिन्तनसहितको स्वाभिमानी परराष्ट्रनीति अवलम्बन गर्नु आवश्यक छ ।

राष्ट्रियता र मदन भण्डारी

समकालीन नेताहरुमा जननेता मदन भण्डारी राष्ट्रियताको सवालमा निकै अघि हुनुहुन्थ्यो । उहाँको समग्र राजनीतिक जीवन नै राष्ट्र र राष्ट्रियताप्रति समर्पित रहेको छ । मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवादले राष्ट्रियताको सवालमा धेरै कुराहरु उठाएको छ । यसबाट पनि मदन भण्डारीको राष्ट्रियताप्रतिको धारणालाई बुझ्न सकिन्छ । जनताको बहुदलीय जनवादमा राष्ट्रियताको सवालमा भनिएको छ –

१. लाभमा आधारित सम्झौताहरुको नविकरण नै हाम्रो विदेश सम्वन्धको दृष्टिकोण हो ।

२. ‘देशको आधारभूत स्थितिको निर्णायक तत्व उत्पादन पद्धति हो । सामन्त, दलाल नोकरशाही पुँजीपति वर्ग, वैदेशिक एकाधिकार पुँजीवादका हातमा जीविकोपार्जन र उत्पादनका साधन छन् । यिनीहरुबाट आमजनता शोषणमा छन् । यिनको शोषण समाप्त पार्ने राष्ट्रिय स्वाधीनता हाम्रो कार्यभार हो । माक्र्सवाद र लेनिनवाद हाम्रो राष्ट्रिय स्वाधीनताको मार्गदर्शक सिद्धान्त हो।’
३. ‘देशको औद्योगीकरण र पर्याप्त भौतिक विकासबिना योग्यता अनुसारको काम र कामअनुसारको दाम’ दिने समाजवादी व्यवस्था स्थापना गर्न सकिदैन ।’
४. ‘उदार अर्थतन्त्रको नाममा भर्खरै बामे सर्न लागेका राष्ट्रिय उद्यमलाई विदेशी पूँजीसँंग प्रतिष्पर्धा गर्न बाध्य काम गरिरहेको परिणामस्वरुप कतिपय राष्ट्रिय उद्यमहरु बन्द हुने अवस्थामा छन् ।’
यसबाट बुझ्न सकिन्छ मदन भण्डारीको राष्ट्रियताप्रतिको भाव र अडान ।

जबजबाहेक मदन भण्डारीले राष्ट्र र राष्ट्रियताको सम्बन्धमा सार्वजनिक रुपमा पनि धेरै सम्बोधन गर्नुभएको छ । तत्कालीन नेपाली कांग्रेस सरकारका पालामा भारत भ्रमणका क्रममा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भारतसँग टनकपुर सन्धि गर्नुभयो । सन्धिमा तुरुन्तै लागूहुनेभन्ने बुँदा थियो । यस्तो महत्वपूर्ण विषयमा सन्धि गर्दा संसदको दुई तिहाइले पारित गर्नुपर्ने मदन भण्डारीको मत थियो । टनकपुर सन्धिमा मदन भण्डारीले राष्ट्रियताको पक्षमा अडान लिनुभयो । संसदमा मदन भण्डारीले राष्ट्रियताको सवालमा ३ घण्टा भाषण गर्नुभयो । ८ घण्टा निरन्तर नारा लगाइयो । संसदीय इतिहासमा यो घटना अविष्मरणीय बनेको छ भने राष्ट्रियताको पक्षमा लिइएको दरिलो अडानका कारण मदनलाई राष्ट्रवादी नेता परिचित गराएको हो । मदन भण्डारीले २०४७ सालको संविधानमा २७ बुँदे असहमति राख्नुभएको थियो । उक्त असहमती पनि राष्ट्र राष्ट्रियताको पक्षमा थियो भनेर अझै पनि व्याख्या, विश्लेषण हुने गरेको छ ।

जननेता भण्डारीको निधन अझै रहस्यको गर्भमा

आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको एक सन्देश छ – यो सानो दुखले आज्र्याको राष्ट्र होइन । नेपाली इतिहासमा जतिपनि सत्ता र सत्ता सञ्चालनका पद्धतिहरु परिवर्तन भएका छन्, यो अवधिभरमा एकले अर्काेलाई नरसंहार गरेका परिघटनाहरु श्रृङ्खलाबद्ध रुपमा आउ“छन् । साम्राज्यवादी शासन व्यवस्थामा होस् या प्रजातन्त्र स्थापना पश्चात्को कालखण्डमा प्रखर राष्ट्रवादी देशभक्तहरु विभिन्न कारणवश अकालमै मृत्युवरण गरेका छन् । मारिएका छन् । जनताको बहुदलीय जनवादको प्रतिपादक नेता मदन भण्डारीको मृत्यु भएको चितवनको दासढुंगा घटन दुर्घटना नै थियो भनेर पत्याउने कुनै आधार नै छैन । त्यसो त, स्वर्गीय भण्डारी जस्तै तत्–तत् समयमा उदार प्रजातन्त्रप्रति लचक देखिएका राजा वीरेन्द्रको वंश नै नाश हुने गरि नरसंहार गरिएको थियो । कुनैबेला नेपालको हितमा तिब्बतलाई झुकाएर सम्झौता गर्न सफल काजी भीम मल्लदेखि भीमसेन थापासम्म, सरदार भीमदत्त पाण्डेदेखि रत्नकुमार वान्तवासम्म फेहरिस्त खोज्नेहो भने निकै लामो हुन्छ, तर एउटै प्रश्न जन्मिन्छ– किन नेपालमा देशभक्तहरु सधैं मारिन्छन् ?

नेकपाले यस वर्ष पनि वि.सं. २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय मृत्युको छानविन गरिनुपर्ने भन्दै अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयुक्त हस्ताक्षरयुक्त वक्तव्यसहित स्वर्गीय जननेता मदन भण्डारी र जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धान्जली अर्पण ग¥यो । यो रहस्यमय घटना भएको २७ वर्ष पुगिसकेको छ तर यसको सत्य–तथ्य अझै बाहिरआउन सकेको छैन । दासढुंगा दुर्घटना मात्रै थियो या योजनावद्ध र रहस्यमय घटना ? यसको छानविन गर्न ४ आयोगहरु गठन भए, तत्कालीन समयमा सरकारको तर्फबाट पूर्वन्यायाधीश प्रचण्डराज अनिल आयोग, नेकपा एमालेको तर्फबाट तत्कालीन स्थायी समिति सदस्य केपी शर्मा ओलीको अध्यक्षतामा दोस्रो आयोग, जनताको तर्फबाट पद्मरत्न तुलाधरको संयोजकत्वमा अर्को तेस्रो आयोग गठन भएको थियो भने, सरकारको प्रतिवेदनको विरोधमा नेकपाले देशव्यापी आन्दोलन गरेपछि सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश त्रिलोकप्रताप राणाको अध्यक्षतामा अर्को चौथो आयोग गठन भयो । तर पनि निष्कर्ष भने शून्य ।

अगुवा मानवअधिकार अभियन्ता शुशील प्याकुरेल भन्नुहुन्छ – त्यो दुर्घटना पनि भएको हुनसक्छ, तर घटनाप्रति उठिरहेका प्रश्नहरुको स्पष्ट जवाफ दिन आवश्यक छ । नेपाली इतिहासमा हिजो भएका सबै हत्याहरुको पनि स्पष्ट रुपमा अनुसन्धान हुन नसकेको उहा“को भनाइ छ । यसतर्फ राज्य र सम्बन्धित निकायले प्रत्यन नै नगर्नुले शंकामाथि शंका उब्जने ठाउ“ रहिरहेको छ ।
दासढुंगा दुर्घटना रहस्मय हुनुमा धेरैले धेरै चर्चा हुने गरेका छन् । पोखराको सभालाई सम्बोधन गरेर फर्किरहेको जीपमा तीन नेताहरु हुनुहुन्थ्यो, मदन भण्डारी, जीवराज आश्रित र तत्कालीन नेकपा एमाले गोरखा जिल्लाका सविच ऋषि कट्टेल । ऋषि कट्टेल भने बीचमै ओर्लिनुभयो । जीपचालक अमर लामाले मिलाएपछि मुग्लिन पुगेर चिया खाने बन्दोबस्त भयो । चिया खाए लगत्तै हिंडेको जीप केही बेरमै सडकको दाहिनेपट्टिबाट १ सय ५० फिट तल त्रिशुली नदीमा झ¥यो । दुर्घटनामा बच्न सफल चालक लामाले पछि बयानमा आफू नदीमा पौडिएर बाच्न सफल भएको बताएका थिए । तर, प्लाष्टिकमा राखिएका लामाको लुगामा बालुवा थिएन, न त थियो, लामाको शरीरमा कुनै चोट ।

अर्को, मुग्लिनको सजिलो बाटोमा १ नम्बरको गियर र फोर ह्विल किन न्यूट्रलमा थियो ? जबकि, जीपको चारैवटा चक्काको हावा, स्टिेयरिङ, गियर र ब्रेक सबै ठीक थियो । प्राकृतिक ठाउ“मा शङ्कास्पद तवरले दुई ठाउ“मा थुपारिएको भुसको बीचबाट मदन सवार जीप त्रिशुली नदीमा खसेको थियो, यसबाहेक अन्य ठाउ“बाट खसेकोे भए, सोझै पानीमा गाडी खस्ने सम्भावना कम भएको विषयमा विभिन्न प्रतिवेदनहरुमा उल्लेख छ ।

मदनको पोष्टमार्टम् रिपोर्टले भन्छ– पानीमा डुबेर मरेका मदनको फोक्सोमा पानी भरिएको थिएन र मदनको मृत्यु सास अवरुद्ध भएर भएको थियो । त्यो समय श्यामबहादुर तामाङले मदनको शरीर चिरेका थिए । र मृत्यु स्वाभाविक थियो या अस्वाभाविक भन्ने जा“च गर्न चिकित्सकहरुले भण्डारी र आश्रित दुवै नेताको शरीरको मुटुको सानो टुक्रो, दुवै मृगौलाको आधा–आधा भाग, कलेजो, गिदी र शरीरका अन्य टुक्राहरुको भिसेरा मुचुल्का सिरिन्जमा उठाइएको थियो । तर अनुसन्धानको क्रममा यो भिसेरा मुचुल्का सिसाको बोतलमा पाइयो, त्यतिबेला चिकित्सकहरुबीचमा पनि खैलाबैला भएको थियो । यसरी मृत शरीरको भिसेराको प्रतिवेदन पनि गोलमाल भयो ।

उता पौडेर बा“च्न सफल अमर लामालाई देखेका प्रत्यक्षदर्शीबाट पनि केही जानकारी आउन सक्थ्यो या सक्थेन तर, त्यसको खोजीनीति भएन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकै प्रतिवेदन अलपत्रनै छ । तत् समयका प्रत्यक्षदर्शी जीप चालक लामालाई पनि खोजी–खोजी हत्या गरिनुले घटना थप रहस्यमय बन्दै गएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपाल घटनाको एउटा प्रमाण चालक अमर लामालाई समेत हत्या गरिनुले मदन हत्या षड्यन्त्रपूर्ण रुपमा रहेको बताउनुहुन्छ । भविष्यमा रहस्यको पर्दा खुल्नेमा उहाँ आशा व्यक्त गर्नुहुन्छ ।
त्यसो त, तत्कालीन समयमा नेपाली कम्युनिष्ट आन्दोलनका मार्गनिर्देशक जननेता भण्डारीको प्रभाव अन्तराष्ट्रिय जगतमा पनि पर्न थालेको थियो । पूर्वी यूरोपमा भएको प्रतिक्रान्तिको लहर अरु देशहरुमा पनि पर्दै थियो भने कम्युनिष्ट आन्दोलन र माक्र्सवादको कुनै भविष्य नै थिएन । पू“जीवाद नै एक मात्र सत्य हो भन्ने प्रचार तीव्ररुपमा अघि बढिरहेको बेला नेता भण्डारी बीसौं शताब्दीकै सर्वाधिक महत्वपूर्ण व्यक्तिको रुपमा परिचय बनाइरहनु भएको थियो । दासढुंगा दुर्घटना भएको झण्डै तीनदशकको निकट आइपुग्दा पनि यसको कारण खुल्न सकेको छैन । तर, एक न एक दिन यी सबै घटनाको सत्य–तथ्य बाहिर आउने विश्वास पनि आममानसबाट हट्न सकेको छैन ।

मदन हत्या योजनाबद्ध ढङ्गबाट गरिएको बताउनुहुन्छ चीनका लागि नेपाली राजदूत महेन्द्र पाण्डे । चालकको पनि मृत्यु गराइनुले षड्यन्त्रमा हत्या भएको पुष्ट्याई भएको उहाँको भनाइ छ ।

वि.सं. २०५० को दशकमा दासढुंगालाई षड्यन्त्रपूर्वक गरिएको घटना भनिन्थ्यो भने ६० को दशकयता यो रहस्यमयी र षड्यन्त्रपूर्वक हत्या गरिएको भन्दै विभिन्न विज्ञप्तिहरु निस्कने गरेको छ । यद्यपि मदनको पार्टी नेकपा एमाले, हाल नेकपाले ६–७ पटक सत्ताको बागडोर सम्हाल्दा समेत घटनाको सत्यतथ्य उजागर गर्न नसकेका कारण यी विज्ञप्तिहरु केवल राजनीतिक फण्डा मात्रै त होइनन् भन्ने सहज प्रश्न खडा गरिदिएको छ । र प्रश्न माथि थप अर्को प्रश्न थपिइरहन्छ – के नेपालमा देशभक्तहरु सधैं मारिन्छन् ?

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2022 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board