काठमाडौँ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई पदमा बसिरहन शुभकामना दिएका छन् ।
तत्कालीन नेकपाको विवादमा पार्टी परित्याग नगरी आएका भट्टराईलगायत समूहलाई केही दिनअघि ‘दास’को संज्ञा दिपछि एमाले नेता भट्टराईले दुई सय वर्ष बाँच्न भन्दै पदमा बसिरहन शुभकामाना दिएका हुन् ।
पार्टी कार्यक्रममा काठमाडौँबाट धनगढी हवाई यात्राको जाने क्रममा ‘कमरेड माधव नेपाल र म’ शिर्षकमा दुई जनाबीचको सबन्धका बारेमा पनि भट्टराईले उल्लेख गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्ः
कमरेड माधव नेपाल र म ।
कमरेड माधव नेपालले हामीमाथि पटक पटक भद्धा र असिस्ट टिप्पणी गर्नुभयो उहाँको सम्मानका लागि हामीले कुनै टिप्पणी गरेनौँ । अस्ती फेरि तल्लो स्तरमा झरेर बोल्नुभयो । अनि मैले उहाँकै हित हुने गरी जीवन उपयोगी जबाफ फर्काए । समाजवादीका युवाहरुको चित्त दुखेछ । माफ गर्नुहोला तपाईंहरुको चित्त दुखाउनु मेरो मनसाय होइन । अब उनीहरु खुसी हुनेगरी म भन्न चाहन्छु– “कमरेड माधव नेपाल दुईसय वर्ष बाँच्नुहोस्, पदमा रहिरहनुहोस्, शुभकामना !
कमरेड माधव नेपाल र मेरो सम्बन्धका बारेमा केही कुराः
१. पञ्चायतकालमा कमरेड रन्जनको उपनामले मैले कमरेड माधव नेपाललाई चिनेको हुँ । त्यतिबेला उहाँबाट थुप्रै प्रशिक्षण लिएको छु ।
२. उहाँमा थुप्रै राम्रा गुणहरु छन् जसको खुलेर प्रशंसा गरेको छु भने कमजोरीको खुलेरै विरोध गरेको छु । उहाँलाई चिनेदेखि उहाँ र मेरो सम्बन्धमा उतार चढाब रहेका छन् र यो जारी रहने छ ।
३. नेकपा एमालेको पाँचौँ महाधिवेशन (२०४९)मा उहाँ अन्तिमतिर मात्रै जनताको बहुदलीय जनवादका पक्षमा खुल्नु भएको हो । हामी सुरु देखिनै मदन भण्डारीको नेतृत्व र विचारलाई स्थापित गर्न लागेका हौँ ।
४. छैठौँ महाधिवेशनमा उहाँ पार्टीको महासचिव हुनुभयो । मेरो समर्थन उहाँलाई थिएन ।
५. सातौँ महाधिवेशनबाट उहाँ पुनः पार्टीको महासचिव हुनुभयो । मेरो समर्थन उहाँलाई थियो ।
६. आठौँ महाधिवेशनमा उहाँले आफ्नो धार बदल्नु भयो । हामी उहाँसँग लागेनौँ ।
७. नवौ महाधिवेशनमा उहाँ पुरानै धारमा फर्कनुभयो । अध्यक्षको उम्मेदवार हुनुभयो । हामीले साथ दियौँ । जित्नु भएन ।
८. प्रधानमन्त्री केपी ओलीका विरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्न भन्नुभयो मैले मानिन र गरिनँ ।
९. नेकपा एमालेको विभाजनको औचित्य छैन र यो नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्र हो भन्ने मेरो बुझाई रह्यो अलग पार्टी बनाउन उहाँलाई मैले साथ दिन सकिने । त्यसमा मलाई पछुतो छैन ।
१०. २०५३ सालमा म अखिलको अध्यक्ष थिएँ । राष्ट्रिय सम्मेलनबाट चुनिएको । उहाँ पार्टीको महासचिव । उहाँ र मेरो बीचमा समस्या उत्पन्न भयो । उहाँको दैनिक दवाव र असहयोगका कारण मैले अखिलको अध्यक्षबाट राजिनामा गरिदिएँ ।
११. म मार्क्सवादी चेत भएको मानिस हुँ । मेरा गुरुहरुले मलाई व्यक्ति, घटना र विषयवस्तुलाई बुझ्ने आलोचनात्मक शिक्षा दिनुभएको छ । गुरुहरुप्रति मेरो सदा सम्मान छ । र मैले कमरेड माधव नेपाललगायत सबैलाई यही मार्क्सवादी दृष्टिकोणबाट हेर्ने गर्दछु । म कसैको अन्ध समर्थक र अन्ध विरोधी होइन ।
पुनश्चः कमरेड माधव नेपालसँग सवाल जबाफ गर्नु मेरो मनसाय होइन ।
COMMENTS