हेटौँडाको बजेट २ अर्ब ७१ करोड

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को नीति, कार्यक्रम र बजेट आइतबार सार्वजनिक गरेको छ । नेकपा (एमाले)को बहिष्कारका कारण असार १० गते हुन नसेकेको नीति, कार्यक्रम तथा बजेट आइतबार ल्याएको हो ।

हेटौंडा उपमहानगरले २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । उपमेयर राजेश बानियाँले सार्वजनिक गरेको बजेट अनुसार पूर्वाधार विकासतर्फ १ अर्ब ८ करोड ४२ लाख, आर्थिक विकासतर्फ १९ करोड ६९ लाख, सामाजिक विकासतर्फ ६६ करोड १५ लाख, स्वास्थ्यतर्फ ९ करोड ५३ लाख, महिला तथा बालबालिकातर्फ ३ करोड ५८ लाख रुपैयाँ, वातावरण तथा विपद् व्यवस्थापनतर्फ १२ करोड ६ लाख, संस्थागत विकास र सेवा प्रवाहतर्फ ७ करोड ३३ लाख तथा अन्य विविध शीर्षकमा ९९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

उपमहानगरले खर्च व्यहार्ने स्रोततर्फ आन्तरिक स्रोतबाट ९४ करोड ३६, राजस्व बाँडफाँडबाट ५८ करोड ९३ लाख, प्रदेश विभिन्न अनुदानबाट ९ करोड ५८ लाख, संघीय सरकार अनुदानबाट १ अर्ब ६ करोड ९५ लाख र अन्य आय तथा संघसंस्थातर्फ १ करोड ९६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

उपमहानगरले हेटौँडा–१० स्थित एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माणका लागि १५ करोड रुपैयाँ, हेटौँडा–४, बासुदेव बहुउद्देश्यीय व्यापारिक भवन निर्माणका लागि ५ करोड रुपैयाँ, बृहत्तर चक्रपथ निर्माण गर्न ३ करोड रुपैयाँ, वडा तथा वस्तीस्तरीय पूर्वाधार निर्माण गर्न ३८ करोड ४० लाख रुपैयाँ, हेटौँडा–११ मा निर्माणाधीन प्रादेशिक थोक फलफूल तथा तरकारी बजार केन्द्रका लागि ३ करोड रुपैयाँ, पर्यटकीय पूर्वाधार योजना निर्माण गर्न ४ करोड १७ लाख रुपैयाँ, विद्यार्थी दिवा खाजा कार्यक्रमका लागि ३ करोड ५३ लाख रुपैयाँ, चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि मेयर छात्रवृत्ति कार्यक्रमअन्तर्गत् २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै सीमान्तकृत तथा गरिब एकहजार ५४१ घरपरिवारको स्वास्थ्य बीमाका लागि ५३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board