आठबिसकोटमा खरको छाना विस्थापित गर्न जस्तापाता वितरण

सुर्खेत । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले खरको छानामुक्त बनाउने कार्य अघि बढाएको छ । नगरपालिकाले पहिलो चरणमा नौ सय घरपरिवारलाई जस्तापाता वितरण गरेको छ ।

नगरप्रमुख रवि केसीले खरको छानाका कारण आगलागी बढी हुने र मानवीय क्षतिसमेत हुने भएकाले जस्तापाता वितरण गर्ने कार्यक्रम ल्याइएको बताए । आगलागीबाट हुने भौतिक तथा मानवीय क्षति कम गर्न र जनतालाई सुरक्षित आवासको महसुस गराउन खरका छानामुक्त गर्न थालिएको केसीले बताए । नगरपालिकाभर जस्तापाता वितरण गर्न थालिएको उनको भनाइ छ ।

अब नगरपालिकाले वडाअनुसार जस्तापाता वितरण गर्ने जनाएको छ । नगरपालिकाले खरका छाना भएका घरको संख्या भने पहिले नै संकलन गरिएको थियो । वडा १ मा ५० घरपरिवारलाई जस्तापाता वितरण गरिने छ । वडा २ मा ४६ घरपरिवार, ३ मा ८७ घरपरिवार, ४ मा ४४ घर परिवारलाई वितरण गरिने कार्यालयले जनाएको छ ।

त्यस्तै, वडा ५ मा ५१ घरपरिवार, ६ मा ५५ घरपरिवार, ७ मा ४३ घरपरिवार, ८ मा ३६ घरपरिवारलाई र ९ मा ५३ घरपरिवारलाई जस्तापाता वितरण गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाले वडा १० मा ७१ घरपरिवार, ११ मा ७२ घरपरिवारलाई, १२ मा ५८ घरपरिवार, १३ मा ४१ घरपरिवार र १४ मा ४० घरपरिवारलाई जस्तापाता वितरण गर्ने नगरपालिकाको योजना छ ।

अतिविपन्न घरपरिवारलाई समेत जस्तापाता वितरण गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकामा फुसका छाना हटाइ जस्तापाताको छानोमुनि जनता ल्याउने कार्यक्रम अन्तर्गत १३ करोड रुपियाँ बजेट विनियोजन गरिएको जनाएको छ । पहिलो चरणमा ९ करोडको जस्तापाता खरिद गरिएको र बाँकी आवश्यकताको आधारमा थप जस्तापाता खरिद गरिने पनि नगरपालिकाले बताएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board