काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले पार्टी एकताका लागि वार्ता थाल्ने भएका छन् । शनिबार बसेको अभियानको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै गौतमले वार्ता कमिटी बनाउने प्रस्ताव गरेका हुन् ।
“हामी नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवाद केन्द्र)सँग पार्टी एकताका निम्ति वार्ता सुरु गर्ने छौँ,” उनले भने ।
नेकपाको पुनः एकीकरणका लागि गौतमले एमाले र माओवादीबीच २ जेठ २०७५ मा भएका सहमति र समझदारीहरुलाई नै संशोधनसहित अघि सारेका छन् ।
दुई अध्यक्ष रहने व्यवस्थाको ठाउँमा एकमात्र अध्यक्ष राख्नु उपयुक्त हुने भन्दै गौतमले आफ्नो राजनीतिक प्रस्तावमा भनेका छन्,“पुनःएकीकरण पार्टीमा एउटा अध्यक्ष र एक सहअध्यक्ष वा मानार्थ अध्यक्ष र कार्यकारी महासचिवको व्यवस्था उपयुक्त हुने छ ।”
गौतमले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जाने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउने, राष्ट्रपति, मुख्यमन्त्री र पालिका प्रमुखमा मात्र स्वतन्त्र उम्मेदवारी दिन पाउने व्यवस्था गर्ने प्रस्ताव पनि गरेका छन् ।
COMMENTS