चिकित्सा विषय पढ्न चाहनेलाई पौवादुङले अध्ययन खर्च दिने

भाेजपुर । पौवादुङमा गाउँपालिकाले उत्कृष्ट अंक ल्याएर विज्ञान तथा एमबिबिएस पढ्न चाहने आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अध्ययन खर्च दिने नीति ल्याएको छ । शिक्षा क्षेत्रको विकासमा योगदान दिएर दक्ष नागरिक उत्पादन गर्न गाउँपालिकाले यस्तो नीति अघि सारेको हो । त्यसरी पढ्ने विद्यार्थीले शिक्षा पूरा गरिसकेपछि गाउँपालिकामा सेवा गर्ने प्रतिबद्धता जनाउनुपर्ने छ ।

‘खानेपानी, सडक, विद्युत्, कृषि, पर्यटन, सञ्चार, खेलकुद, स्वास्थ्य, शान्तिसुरक्षा र शिक्षा पौवादुङमावासीलाई उपलब्ध गराउने गाउँपालिकाको इच्छा’ भन्ने मूल नाराका साथ शुक्रबार सम्पन्न भएको दोस्रो गाउँसभा तथा प्रथम अधिवेशनले यस्तो नीति सार्वजनिक गरेको हो । विद्यार्थीमा उत्पेरणा थप्ने लक्ष्यले यस्तो व्यवस्था लागु गर्न लागिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।

उनले भने, “गाउँपालिकाले विद्यार्थीमा पढाइप्रति लगाव बढाउनका लागि अध्ययन खर्चको व्यवस्था गर्ने नीति लिएको छ । एसइईमा उच्च अंक ल्याएर राम्रो विषय पढ्न चाहने विद्यार्थीलाई अध्ययन खर्च दिने नीति ल्याएका छौँ तर त्यस्ता विद्यार्थीले केही समय गाउँपालिकाको विद्यालय तथा अस्पतालमा अनिवार्यरुपमा सेवा गर्नुपर्ने छ । यसका लागि कार्यविधि बनाएर कार्यान्वयनमा ल्याउछौँ ।”

गाउँसभामार्फत खानेपानीलाई पहिलो प्राथमिकतामा दिँदै नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । गाउँसभाले तयार गरेको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न आगामी आर्थिक वर्ष २०७९/८० का लागि जम्मा रु ४१ करोड दुई लाख ७६ हजार १० बराबरको अनुमानित बजेट सार्वजनिक गरिएको छ । चालुतर्फ शिक्षा, स्वास्थ्य र कृषिसमेतको रु २५ करोड ५८ लाख ७६ हजार र पुँजीगततर्फ रु १५ करोड ४४ लाख खर्च हुने अनुमान गरिएको उपाध्यक्ष ज्योत्सना राईले जानकारी दिइन् ।

पुँजीगततर्फ ३७.६४ र चालुतर्फ ६२.३६ प्रतिशत बजेट विनियोजन भएको छ । बजेटमा खानेपानी पहिलो र सडक विस्तारलाई दोस्रो प्राथमिकतामा राखिएको छ । अध्यक्ष राईले जनताको भावना र चाहना समेट्ने गरी बजेट निर्माण गरिएको जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board