प्रचण्डले आरोप फिर्ता नलिँदा नेकपा फुट्यो : वामदेव गौतम

काठमाडौँ । पूर्वउपप्रधानमन्त्री एवम् राष्ट्रिय सभा सदस्य वामदेव गौतमले तत्कालीन नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’का कारण नेकपा विभाज भएको आरोप लगाएका छन् ।

शनिबार नेकपा एकता राष्ट्रिय अभियानको कार्यक्रममा बोल्दै नेता गौतमले अध्यक्ष प्रचण्डले तत्कालीन अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि फलस्वरुप ओलीले अविश्वासको प्रस्ताव गर्ने स्थान नै ध्वस्त पारेको बताएका हुन् । उनले एउटा अध्यक्ष प्रधानमन्त्रीकोविरुद्धमा अविश्वासको प्रस्ताव, त्यसको जबाफमा प्रधानमन्त्रीले संसद् नै विघटन गर्नु कुनै हिसावमा उचित नभएको बताए ।

उनले पहिलो चरणमा अध्यक्ष प्रचण्डको दोषका कारण नेकपा विभाजन भएकोप्रति लक्षित गर्दै फलस्वरुप ओलीले संसद् बन्द गरेको बताए । नेता गौतमले कम्युनिस्ट एकताकै लागि आफू कुनै समूहमा नलागेको पनि बताए । उनले वामदेवका कारण पार्टी विभाजित भयो भन्ने कुरा केही हदसम्म सत्य रहेकाले आत्मलोचना गरेको बताए । उनले त्यो बेला अध्यक्ष प्रचण्डको समूहमा नगइ बीचमा बसेर मध्यस्थता गर्न सकेको खण्डमा कुनै हालतमा पार्टी विभाजन नहुने पनि बताए ।

राष्ट्रिय सभा सदस्य गौतमले तत्कालीन अध्यक्ष प्रचण्डले ओलीप्रति लगाएका आरोप फिर्ता नलिँदा पार्टी विभाजन भएको तर्क गरे । उनले ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये प्रधानमन्त्री पद छोड्न तयार भइसकेको अवस्थामा पनि प्रचण्डले ओलीमाथि लगाएका आरोप फिर्ता नलिँदा पार्टी विभाजन भएको बताए । उनले अन्तिम बैठकमा अध्यक्ष प्रचण्डले आफूलाई सबै दोष दिएपछि आफू माज बसेको बताए ।

“२०७७ साल पुस ४ गते कमरेड प्रचण्ड र केपी ओलीको बीचमा वार्ता भइरहेको बेला मलाई पनि बोलाउनुभएको थियो । त्यहाँ कमरेड केपी ओलीले पार्टी एकताको निम्ति म के त्याग गर्नुपर्छ म तयार छु भन्नुभएको थियो । उहाँले मेरोविरुद्ध पार्टीभित्र जेजस्तो विचार राख्नुभएको छ, त्यसमा केपी ओलीले दुईमध्ये एउटा पद छोड्नुपर्छ भन्नुभएको हो, म प्रधानमन्त्री पद छोड्न तयार छु तर मैले भनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्नुभएको थियो । साथै ममाथि लगाइएका संघीन आरोप फिर्ता लिनुपर्छ भन्नुभएको थियो । प्रधानमन्त्री फेर्ने कुरामा सहमत नै हुनुहुन्थ्यो प्रचण्ड तर आरोप फिर्ता नलिने अडान गर्नुभयो । मैले मान्नुस्, फिर्ता लिनुस् भने तर मान्नुभएन । केपीकै अगाडि प्रचण्डले मलाई यो सबै सिर्जना गर्ने तपाईं हो, मेरो त नाम मात्रै राखेको हो, तपाईंको राख्नुपर्ने हो भन्नुभयो म चुप लागेँ,” उनले भने ।

ओलीले व्यक्ति नै तोकेर प्रधानमन्त्री प्रस्ताव गरेका थिए वा थिएनन् भन्ने चाहिँ गौतमले खुलाएनन् । तर, त्यस्तो व्यक्तिलाई निर्वाचनमा जिताउनका लागि सम्बन्धित निर्वाचन क्षेत्रका व्यक्तिलाई राष्ट्रियसभामा ल्याउने र त्यहाँ निर्वाचन गराएर प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रस्ताव गरेको गौतमको भनाइ छ ।

जसका कारण ओलीले गौतमलाई नै प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका हुन् कि भन्ने आंकलन भने गर्न सकिन्छ । किनकि ओली निकटका अन्य व्यक्ति प्रतिनिधिसभा सदस्य नै थिए । उनीहरुमध्ये कसैलाई सहजै प्रधानमन्त्री बनाउन सकिन्थ्यो । राष्ट्रियसभा सदस्य रहेका गौतमलाई भने सहज थिएन । गौतमलाई प्रधानमन्त्री बनाउने भनेर त्यसअघि पनि चर्चा भइरहेको थियो ।

ओलीले आफूलाई लगाइएको आरोप पत्र फिर्ता लिन पनि भनेका थिए । त्यतिबेला प्रचण्डको नाममा ओलीप्रति असन्तुष्ट पक्षले १९ पृष्ठको प्रस्ताव सचिवालयमा पेस गरेका थिए । जसलाई ओलीले आरोप पत्र भन्दै आएका छन् । तर, सो प्रस्ताव फिर्ता लिन आफूले पनि गरेको आग्रह प्रचण्डले नमानेको गौतमको भनाइ छ ।

“आरोपपत्र फिर्ता लिन सक्दिनँ भनेर प्रचण्डले भन्नुभयो । यदि त्यसबेला फिर्ता लिएँ भनेको भए सायद पार्टी फुट्नबाट जोगिन्थ्यो कि भन्ने मलाई अहिले पनि लाग्छ,” उनले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति