काठमाडाैँ। पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले आफ्नो पार्टीको नाम फेरबदल नहुने बताएका छन् । केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेपछि लामिछाने विवादमा तानिएका थिए । स्वतन्त्र नाम दुरुपयोग गरिएको भन्दै आलोचना भइरहेका बेला रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो निर्णयको बचाउ गरेका हुन् ।
“हामी पहिलेदेखि नै स्वतन्त्र उम्मेदवारहरुको छलफलमा सहभागी भएका थियौँ । अब पनि देशभरकै स्वतन्त्र उम्मेदवारहरुसँग चरणवद्ध छलफल गर्छौँ,” उनले भने, “हाम्रो स्वतन्त्र पर्टीसँग आवद्ध हुने आउने क्रम बढेको छ । स्वतन्त्रलाई पार्टी प्रवेश गर्दा असर गर्छ भन्ने कुरा होइन । धेरै मानिसहरु दलमा आवद्ध भएका छैनन् । राजनीतिमा लागेर परिवर्तन गर्नुपर्छ कि भन्ने जमात छ । उनीहरुलाई पनि हामी आवद्ध गराउँदै छौँ ।”
उनले स्वतन्त्र दल, स्वतन्त्र पार्टीसहितका नाममा अन्यले पनि नाम दर्ता गराउने पहल गरेको जिकिर गरे । “स्वतन्त्रको अभियानलाई सदुपयोग गर्न सकिन्छ कि भनेर यो नामाकरण गरेका हौँ,” उनले भने, “विश्वभर इन्डिपेन्डेन्ट पार्टीको अभ्यास छ । लाओस, केन्या, बर्मा र साउथ अफ्रिका धेरै स्थानमा स्वतन्त्र नामका पार्टी सक्रिय छन् ।”
उनले स्वतन्त्र उम्मेदवारी दिनेलाई आफूहरुको नामले असर नगर्ने पनि बताए । “स्वतन्त्र उम्मेदवारी दिने कसैको विरुद्ध यो नाम राखेको होइन । स्वतन्त्रलाई पनि समेट्न यो निर्णय गरेको हो,” उनले थपे,“स्वतन्त्र मान्छे पनि हामीसँग कुरा गर्न सक्छन् । संसदीय निर्वाचन भएकाले हामीले दल बनाएर जान तयार भएको हौँ ।”
त्यस्तै, पार्टीको लोगोबारे पनि युरोपियन युनियनको लोगोसँग जोडेर गरिएको प्रश्नमा उनले यसमा पनि खोजी गर्न सुझाव दिए । उनले भने,“कलरमा शंका तथा आशंका भएका होलान्, रातो छान्दा सूर्यजस्तो भन्लान्, रुख, वनजंगलजस्तो हरियो कलर राख्दा कांग्रेसजस्तो भन्लान्, युरोपियन युनियनबारे मलाई केही थाहा छैन । भिसा लिने प्रयोजनबारे म कुनै पनि दूतावासमा छिरेको छैन । म पनि पत्रकारितामा थिएँ, मैले आरोपमा मात्रै समाचार बनाएको छैन ।”
उनले राजनीतिमा आउनका लागि दाजुसँग छलफल गरेर नै अघि बढेको जिकिर गरे ।
लामिछानेले आफूहरुको मूल उद्देश्य देशको विद्यमान व्यवस्था परिवर्तन नभएर जनताको अवस्था परिवर्तन गर्नु रहेको स्पष्ट परे । उनले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता आफूहरुले मान्ने स्पष्ट पारे । उनले अहिले आफूहरु व्यवस्था भन्दा पनि जनताको अवस्था परिवर्तनका लागि आएको भन्दै सोहीअनुसार योजना बनाएको स्पष्ट पारे ।
COMMENTS