कैलाली । निर्वाचनमा अन्तरघात गरेका नेकपा एमाले कैलालीका अध्यक्ष रतन थापालाई पार्टीको साधरण सदस्य समेत नरहने गरी कारबाहीका लागि सिफारिस गरेको छ ।
बिहीवार बसेको एमाले जिल्ला सचिवालय बैठकले अध्यक्ष थापालाई पार्टीको साधरण सदस्य समेत नरहने गरी कारबाही गर्न प्रदेश कमिटीलाई सिफारिस गरेको हो ।
थापालाई स्थानीय तहको निर्वाचनमा एमाले उम्मेदवारविरुद्ध नै लागेको आरोप लगाइएको छ । यसअघि थापालाई कैलाली इञ्चार्ज नारदमुनि रानाले २३ बुँदे आरोप लगाउँदै ७२ घण्टे स्पष्टीकरण सोधेका थिए ।
थापालाई पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीलाई अपुतो भनेको, महासचिव शंकर पोख्रेल, सचिव लेखराज भट्टसहितका नेताहरु कर्ण थापा, नारदमुनि राना, गौरीशङ्कर चौधरी, कमला ओली, सन्तोष शर्मालाई राजीनामा दिन लगाउने धम्की दिएको, एमालेले एक सिट पनि जित्दैन भन्दै प्रचार गरेको आरोप लागेको थियो ।
यस्तै निर्वाचनमा पार्टीका उम्मेदवार महादेव बजगाईँ, जुना चौधरी र ममता प्रसाद चौधरीलाई जसरी पनि हराउँछु भन्दै सार्वजनिक रूपमा बोलेको र उनीहरूलाई हराउने कार्यमा लागेको अभियोग छ ।
कार्वाही सिफारिसमा परेका थापा सुदूरपश्चिम प्रदेश सभा सदस्य पनि हुन् ।
प्रतिक्रिया