के होला प्रशिक्षक अब्दुल्लाहको नेपाल भविष्य ?

  • रमेश सुवेदी

काठमाडौँ । एसिया कप छनोटको तीनै खेलमा पराजित भएपछि नेपाली फुटबल टिम कुवेत सिटीबाट नेपाल फर्कने तयारीमा थियो । नेपाली टिम अपरान्ह निस्कने तयारीमा थियो । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाली टिमको बिदाई गर्न सल्मियास्थित होटल मिलेनियम होटल तथा कन्भेन्सन सेन्ट्रको गेटमै थिए ।

विमानस्थल पुर्‍याउन आउने बसको पर्खाइमा रहँदा कुवेती नागरिक अब्दुल्लाहले आफ्नो नेपाल फर्कने विषयमा भनेका थिए, ‘हेरौं, आउने चुनावको नतिजा के हुन्छ ?’

सोमबार अर्थात् ६ असारमा सम्पन्न अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावी साधारणसभाबाट नयाँ अध्यक्षमा पंकजविक्रम नेम्बाङ निर्वाचित भए । पंकजसँग ६ मतले पछि परे निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा । जुन नतिजा आयो, त्यो नतिजा अब्दुल्लाहले चिताएका थिएनन् । उनको चाहना र प्रार्थना दियो । एन्फाको आगामी चार वर्षे कार्यकालमा कर्मानै दोहोरिउन् । तर, भयो उल्टो ।

नेपाल बसाई क्रममा अब्दुल्लाह कहिल्यै गुमनाम रहनु परेन । कहिले मैदानभित्र त कहिले बाहिर उनि सधैँ चर्चा पात्र रहे । अब्दुल्लाह सामाजिक सञ्जालमा बढी समर्थकबाट रुचाइए । उनको विषयमा राम्रो या नराम्रो प्रतिक्रिया आओस् । समर्थनले साथ दिइरहे ।

एक वर्षको लागि नेपाल झरेका अब्दुल्लाहले विभिन्न विवादका बीच आफ्नो नेपाल बसाईलाई गत वर्ष सम्झौता नवीकरण गर्दै सन् २०२४ सम्मलाई पुर्‍याएका थिए ।

एन्फाको अध्यक्षमा पंकज विजयी भएसँगै अब्दुल्लाह नेपाल बस्छन् कि बस्दैछन् ? बहसको विषय बनेको छ । सनकका भरमा जस्तोसुकै निर्णय गर्ने अब्दुल्लाहले यसअघि नै कर्माबाहेकको टिमसँग सहकार्य नगर्ने बताएका थिए । सोमबार राति १२ बजे चुनावको पूर्ण नतिजा नआउँदा नै अब्दुल्लाहले इन्स्ट्राग्राममा स्टोरी राख्दै नेपाल नफर्कने संकेत गरेका छन् । यद्यपि उनले त्यो स्टोरी केही समयमै हटाएका थिए ।

अध्यक्षमा निर्वाचित पंकजले जितपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै खेलाडी-प्रशिक्षक विवाद छानबिन समितिको प्रतिवेदन हेरेर कार्यसमितिको बैठकबाट निर्णय गर्ने बताएका छन् । ‘प्रशिक्षकको विषय पहिलो कार्यसमितिको बैठकबाट निर्णय गर्छौँ । छानबिन समितिको प्रतिवेदन बृहत् रूपमा छलफल गरेर त्यो समस्याको समाधान गर्छौँ,’ पंकजले भनेका थिए ।

यसअघि टोलीका नियमित सदस्य रोहित चन्दले खेलाडीको सामान्य माग प्रशिक्षक अब्दुल्लाह समक्ष राख्दा रोहितलाई घर पठाइएको थियो । यसपछि आफ्नो माग राखेका रोहितलाई अब्दुल्लाहले क्याम्पबाट निकालेपछि बाँकी १० खेलाडीले १४ वैशाखमा होटेल छाडेका थिए । १० खेलाडीलाई सामाजिक सञ्जालबाट समर्थन गरेका कप्तान किरणकुमार लिम्बूलाई समेत अब्दुल्लाहले कुवेतमा भएको एएफसी एसियन कप २०२३ छनोट खेलबाट बाहिर राख्दै ‘रिस्क’ मोलेका थिए ।

यसपछि एन्फाले भिक्टोर राणाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको थियो । जुन समितिले ४ जेठमा एन्फालाई प्रशिक्षक अब्दुल्लाहल र व्यवस्थापक मधुसुदन उपाध्यायको विकल्प खोज्न सुझाव दिएको थियो ।

यता, वरिष्ठ उपाध्यक्षमा निर्वाचित वीरबहादुर खड्काले आगामी कार्यसमितिको बैठकले छानबिन समितिको सुझावमा रहेर निर्णय हुने र आफूहरु खेलाडीको पक्षमा जाने बताइसकेका छन् । ‘हामी छानबिन समितिको सुझावअनुसार अगाडि बढ्छौँ । हामी खेलाडीको पक्षमा छौँ,’ खड्काले भनेका छन् ।

यसअघि १० साउन ०७८ मा अब्दुल्लाहले तत्कालीन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङका कारण आफू एन्फामा राजीनामा दिन जाँदै छु भनेर फेसबुकमा स्टाटस राखेका थिए । तर उनले राजीनामा भने गरेका थिएनन् । यसपछि पंकज अब्दुल्लाह र एन्फा नेतृत्वविरुद्ध असहमतिमा रहँदै आएका थिए । जुन विवाद पछि पंकजले आफ्नो फेसबुक अकाउन्ट बन्द गर्नुपरेको थियो ।

हाल भने मुटुको समस्याको कारण अब्दुल्लाह कुवेतमै रहेका छन् । उपचारका लागि उनले एन्फाको अघिल्लो नेतृत्वसँग तीन महिनाको छुट्टी लिएका छन् । अब बस्ने एन्फाको कार्यसमितिको पहिलो बैठकले यो विवादमा कुन निर्णय लिन्छ त्यो भने प्रतीक्षाको विषय बनेको छ ।

गर्ला त एन्फाले अब्दुल्लाहको बर्खास्ती ?
प्रशिक्षक अब्दुल्लाह कतार फुटबल संघको अनुदानमा नेपाल आएका हुन् । उनको खर्च कतार एफएले नै बेहोर्छ । उनको यहाँ बस्नेदेखि लिएर यातायात खर्च नेपाल सरकारमार्फत् एन्फाले हेर्दै आएको छ ।

वर्तमान एन्फा कार्यसमिति बैठकमा पंकज समूहको बहुमत रहेका कारण प्रशिक्षक अब्दुल्लाहलाई बर्खास्ती गर्न सक्ने सुरुवाती आकलन छ । निर्वाचनताका नै यो समूहले प्रशिक्षक बर्खास्तीको माग राखेको थियो । तर, तत्कालीन नेतृत्व भने अब्दुल्लाहको पक्षमा थियो ।

स्रोतका अनुसार अब्दुल्लाहलाई बर्खास्ती गरे एन्फाले करिब १० हजार डलर जरिबाना तिर्नुपर्ने छ । त्यसका लागि समेत वर्तमान नेतृत्व तयार छ । तर, नेतृत्वले कतार एफएसँग सहकार्य गर्दै अब्दुल्लाहको विकल्पमा अर्को प्रशिक्षक माग्न सक्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board