दुधौलीमा बन्यो स्वास्थ्य उपकरणसहितको ‘बर्थिङ सेन्टर’

सिन्धुली । अल ह्याण्ड्स एण्ड हार्टस र रिलिफ नेपालको साझेदारीमा निर्माण गरिएको दुधौली स्वास्थ्य चौकी भवन मङ्गलवार हस्तान्तरण गरिएको छ ।

रिलिफ नेपालका अध्यक्ष दुर्गाराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारीको प्रमुख आतिथ्यता तथा निवर्तमान मेयर घनश्याम राउत, उपमेयर चन्द्र किशोर थारु लगाएतको उपस्थितिमा स्वास्थ्य चौकीमा निर्माण गरिएको भवन हस्तान्तरण गरिएको हो ।

भवन हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारीले रिलिफ नेपालको पहलमा निर्माण गरिएको आधुनिक बर्थिङ सेन्टर निर्माणले यहाँका गर्भवतीहरू लाभान्वित हुने बताउनुभयो ।

स्थानीय सरकारले आफ्ना नागरिकको स्वास्थ्य सुरक्षा दिने जिम्मेवारी भएकोमा गैर सरकारी संस्थाले दुधौली नगरपालिकाको स्वास्थ्य क्षेत्रमा एउटा ईटा थप गरेकोमा धन्यवाद दिनुभयो ।

रिलिफ नेपालको आयोजनामा निर्माण गरिएको सुरक्षित प्रसूति गृहको नयाँ स्वास्थ्य उपकरण सहितको भवन हस्तान्तरण गरिएको हो । प्रसूति गृहमा सुरक्षित प्रसूतिका लागि आवश्यक आधुनिक स्वास्थ्य उपकरणहरू पनि प्रदान गरिएको रिलिफ नेपालका अध्यक्ष दुर्गाराज पौडेलले जानकारी दिनुभयो । उहाँले एटेज ट्वाइलेट सहितको ८ कोठे भवन र तीन कोठे शौचालय हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्य चौकीमा खानेपानी शुद्धीकरण गर्ने उपकरण पनि प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई उपकरण सञ्चालन सम्बन्धी तालिम पनि प्रदान गरिएको छ । साथै दुधौली नगरपालिकाका स्वास्थ्य स्वयमसेविकाहरुलाई सुरक्षित मातृत्व सम्बन्धी तालिम दिइएको रिलिफ नेपालले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति