काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी चार वर्षे कार्यकालका लागि आज सोमबार निर्वाचन हुँदै छ ।
बुढानिलकण्ठस्थित पार्क भिलेजमा साँझ आउने नजितासँगै एन्फाले २१ सदस्यीय नयाँ कार्यसमिति पाउने छ ।
आगामी चार वर्ष एन्फा हाक्न वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ आ–आफ्नो समूहसहित चुनावी प्रतिस्पर्धामा होमिएका छन् । यस्तै फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजीव पौडेलसमेत प्रतिस्पर्धामा छन् ।
चुनावका लागि अध्यक्ष पदमा तीन, वरिष्ठ उपाध्यक्षमा दुई, चार उपाध्यक्ष पदका लागि आठ, १३ खुला सदस्य पदका लागि ३६ तथा दुई महिला सदस्य पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ ।
२१ सदस्यीय कार्यसमिति चयनका लागि एन्फाको वैधानिक व्यवस्थाअनुसार जिल्ला फुटबल संघ, विभिन्न श्रेणीका क्लब तथा प्राविधिक संघहरु गरी कुल ८४ संस्थाले मतदान गर्ने पाउनेछन् ।
जसमा ४८ मध्ये ४४ जिल्लाले मताधिकार पाउँदा सहिद स्मारक ‘ए’ डिभिजन क्लबका १४, ‘बी’ डिभिजनका १४ मध्ये ११, ‘सी’ डिभिजनका १४ मध्ये ९ तथा राष्ट्रिय लिगका लागि छनोट भएर पनि दुई वर्षअघिदेखि खेल्न नपाएका चार क्लबले मताधिकार पाउँछन् । यसैगरी महिला, खेलाडी, प्रशिक्षक र रेफ्री संघले पनि एकएक मताधिकार पाएका छन् ।
चार वर्षअघि भएको एन्फा निर्वाचनमा कर्मा र पंकज समूह नै ‘क्लिन स्विप’ गर्दै एन्फा हाक्न आएको थियो । तर, दुवै समूह विभाजन हुँदै यसपटक एक अर्काविरुद्ध लड्दै छन् । चुनावी साधारणसभा बिहान नौ बजे सुरु हुने छ ।
प्रतिक्रिया