३४ वटा वायुयान ‘नाइट–स्टप’ पार्किङ काठमाडौँ बाहिर जानु पर्ने

काठमाडौँ । हेलिकोप्टर तथा जहाज पार्किङका लागि ठाउँ अभाव भएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले १४ वटा हेलिकोप्टरलाई अबदेखि ‘नाइट–स्टप’ पार्किङका लागि काठमाडौँ बाहिर अनिवार्य जानुपर्ने निर्णय गरेको छ ।

प्राधिकरणको आज बसेको बैठकले उक्त निर्णय गरेको हो । ‘नाइट–स्टप’ पार्किङका लागि विमानस्थलमा ठाउँ अभाव भएको भन्दै व्यावसायिक उडान गर्ने नौवटा वायुसेवाका ४८ मध्ये २० वटा जहाज पनि ‘नाइट–स्टप’ पार्किङका लागि बाहिर जानुपर्ने निर्णय गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार अनुमति लिएका हेलिकोप्टर र वायुसेवाले आफ्ना जहाज मोफसलमा अनिवार्य राख्नुपर्ने निर्णयसमेत गरिएको छ ।

प्राधिकरणले गरेको सो निर्णय यही असार ७ गतेदेखि हेलिकोप्टर र १३ गतेदेखि जहाजमा अनिवार्य कडाइका साथ लागु हुने नेपाल प्राधिकरण (क्यान)का महानिर्देशक ई.प्रदीप अधिकारीले बताए । उनले भने, “नेपालको उड्डयन सुरक्षा अभिवृद्धि गर्ने नीतिअनुसार प्राधिकरणले ‘नाइट–स्टप’ पार्किङका लागि काठमाडौँबाहिर अनिवार्य जानुपर्ने निर्णय गरिएको छ । कडाइका साथ निर्णय लागु गरिने छ ।”

प्राधिकरण मातहतको फ्लाइटअनुसार नेपालमा ३६ वटा हेलिकोप्टर रहेको बताइएको छ । अबका दिनमा हेलिकोप्टर र वायुसेवाले काठमाडौँ विमानस्थलमा तोकिएको सङ्ख्याभन्दा बढी जहाज पार्किङ गर्न पाउने छैनन् । संघीयताको मर्मअनुसार प्रदेशको अर्थतन्त्र चलायमान बनाउन र प्रदेशका सर्वसाधारणले आफ्नो समयअनुसार केन्द्रीय राजधानीमा आउन यो समानताको निर्णयले अझ सहज हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले अपेक्षा लिएको छ ।

यसैगरी राज्यले भिभिआइपीको सूचीमा राखेका व्यक्तिले अबका दिनमा एकल पाइलटद्वारा सञ्चालन हुने हेलिकोप्टर चार्टर उडानमा यात्रा गर्न नपाउने भएका छन् ।

नागरिक उड्डयन प्राधिकरणले आज भिभिआइपी हेलिकोप्टर उडानमा अनिवार्य
दुईजना पाइलट हुनुपर्ने निर्णय गरेको छ । राज्यले भिभिआइपी भनेका व्यक्तिहरुलाई एकल पाइलट भएको उडानबाट ओहोरदोहोर गराउन नपाइने भनेर निर्णय भएको र सोमबार सबै हेलिकोप्टर कम्पनीलाई परिपत्र जारी गरिने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.अधिकारीले जानकारी दिए ।

हाल नेपालमा १० वटा निजी हेलिकोप्टर कम्पनी रहेका छन् । प्राधिकरणको आज बसेको सञ्चालक समितिको बैठकले अबदेखि अन्य सर्वसाधरणले गर्ने चार्टर उडानमा पनि दुइटा पाइलट अनिवार्य राख्नुपर्ने निर्णयसमेत गरेको छ । मौसमको अवस्था, पाइलटको स्वास्थ्य अवस्था, भौगोलिक अवस्था आदि स्थितिका आधारमा कतिपय उडानमा एउटा पाइलटले सर्वसाधारणका लागि चार्टर उडान भने गर्न पाउनेछन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board