बदमासी गरेपछि जागिरबाट निकालिए, उनैले चोरे साढे ७ लाख

पोखरा । पोखरा १४ मा रहेको वीपीमार्गमा रहेको चुलो सेवामा काम गर्थे २१ वर्षका अजित विक । केही समय काम गरेपछि उनको काममा शंका लाग्यो । कम्पनीले उनलाई बदमासी गरेको आशंकामा जागिरबाट निकालिदियो । २ महिना अघि कामबाट निकालिएपछि विकले सोही कम्पनीमा लुट्ने योजना बनाए ।

लेखापाल काम गरेका उनलाई पैसा कहाँ राखिन्छ र कत्तिको सुरक्षित छ भन्ने हेक्का थियो । विकले ग्रिल र झ्याल फुटाएर काउण्टरमा भएको पैसा चोरे । सन्चालक सन्तबहादुर लामिछानेका अनुसार ७ लाख २५ हजार ३५० र ९ हजार भारतीय रुपैयाँ थियो । तर, विकको साथबाट ३ लाख ६२ हजार ३८० रुपैयाँ मात्रै बरामद भएको प्रहरीले जनाएको छ ।

थप २ लाख रुपैयाँ पनि घरमा लुकाएको स्वीकार गरेको प्रहरीका निमित्त प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए ।

औद्योगिक क्षेत्रबाट सादा पोशाकमा खटिएको प्रहरीले विकलाई शंकास्पद अवस्थामै पक्राउ गरेको हो । तत्कालै खानतलासी गर्दा उनको साथबाट नगद भेटिएको प्रहरीले जनाएको छ । सोधपुछका क्रममा स्रोत खुलाउन नसकेपछि थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गैह्रापाटन पठाएको थियो । विकमाथि चोरी कसुरमा मुद्दा दर्ता गरि थप अनुसन्धान भइरहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board