वर्षायाम सुरु भएसँगै कच्ची सडक ठप्प

खोटाङ । वर्षायाम सुरु भएसँगै खोटाङका अधिकांश कच्ची सडक ठप्प भएको छ ।

वर्षाको सिजन सुरु भएसँगै कच्ची सडक हिलाम्मे भएपछि काठमाडौँ–लामीडाँडा–खार्पा–दुबेकोल–ऐसेलुखर्क, दिक्तेल–मात्तिम–टेम्मा–याम्खा–पञ्चमी–खोटाङबजार, दिक्तेल–राजापानी–रेग्मीटार–रसुवा, दिक्तेल–जालपा–हौंचुर–फेदी माक्पा–ऐसेलुखर्क, दिक्तेल–पाथेका, दिक्तेल–खार्मी–बालाबेँसी, रसुवा–सिमपानी–खोटाङबजार, रसुवा–रोक्सिङ–पञ्चमी–याम्खा–मात्तिम र रसुवा–टेम्मा–छितापोखरी सडक अवरुद्ध भएका हुन् ।

पानी पर्दा विभिन्न ठाउँमा सडक बिग्रेकाले ग्रामीण क्षेत्र जोड्ने सडकमा बस तथा जिप चल्न छाडेको खोटाङ यातायात प्रालिले जनाएको छ । वर्षाका कारण कच्ची सडकमा बनेको खाल्डाखुल्डी र हिलोमा सवारी साधन भासिने समस्याका कारण अर्को सूचना जारी नभएसम्मका लागि कच्ची सडकमा सवारी साधन चलाउन छाडिएको प्रालिका महासचिव रामकुमार हिङमाङले बताए । हिलाम्मे बनेका कच्ची सडकमा बस तथा जिप गुड्न सक्ने अवस्था छैन ।

सवारी साधन सञ्चालन नहुँदा आकस्मिक कामका लागि यात्रा गर्नुपर्ने स्थानीय मारमा परेका छन् । सडक सञ्चालन नहुँदा गाउँबाट बिरामी ओसार–पसार गर्ने एम्बुलेन्स सेवा सबैभन्दा बढी प्रभावित भएको छ । एम्बुलेन्स गुड्न नसक्ने अवस्थामा कतिपय बिरामीलाई अस्पताल लैजान हेलिकोप्टर चार्टर गर्ने गरिएको छ ।

हाल जिल्लाका कच्ची सडकमा ट्याक्टर र बाइक जबरजस्ती चलाउने गरिएको छ । मोटरसाइकल हिलोमा भासिँदा सकसका साथ निकाल्ने गरिएको प्रतिक्रिया सामाजिक सञ्जालमा छ्याप–छ्याप्ती देखिन्छ । हिलाम्मे सडकमा सकसपूर्ण यात्रा गरेका स्थानीयले स्थानीय तह, प्रदेश र संघका जनप्रतिनिधिमाथि आक्रोश पोख्ने गरेका छन् ।

अधिकांश बजेट कच्ची सडक खन्नमा खन्याउने स्थानीय तहले कच्ची सडक स्तरोन्नतिमा भने ध्यान दिएको देखिन्न । स्तरोन्नतिमा विनियोजन गरिएका बजेट पनि टालटुल पारेर सक्ने गरिएको स्थानीयको जनगुनासो छ ।

हाल कालोपत्रे भइसकेका मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–हलेसी–जयराम तथा दिक्तेल चखेवाभञ्ज्याङ सडक खण्डमा मात्र सवारी साधन गुडिरहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board