बालबालिकालाई कोभिडविरुद्धको खोप लगाइने

जनकपुरधाम । आगामी ९ असारदेखि मधेस प्रदेशसहित देशभरि ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ ।

पहिलो चरणमा देशका २७ जिल्लामा सञ्चालन हुने खोप कार्यक्रम अन्तर्गत मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी र पर्सा जिल्लालाई समेटिएको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक विजयकुमार झाले जानकारी दिए ।

प्रदेशमा ५ देखि ११ वर्ष उमेर समूहका ८ लाख २४ हजार ७१६ जनसंख्या रहेपनि पहिलो चरणमा प्रदेशका ५ जिल्लाका लक्षित ५ लाख १६ हजार २३६ बालबालिकालाई खोप दिइने उनले बताए । लक्षित समूहका बालबालिकालाई फाइजर पेडियाट्रिक नामक खोप दुई मात्रामा दिइने बताउँदै उनले पहिलो खोप असार ९ देखि १५ गतेसम्म र दोश्रो मात्रा २१ दिनपछि साउन २ गतेदेखि ८ गतेसम्म दिइने जानकारी दिए ।

झाले मधेस प्रदेशमा यसअघि खोप कार्यक्रम सफल रहेको जानकारी दिँदै अब यस प्रदेशमा कोभिड १९ बिरामी न्यून भएको दाबी गरे ।

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा.अंकुर साहले खोप लगाउँदा टाउको दुख्ने, सुई लगाएको ठाउँमा दुख्ने, रातो हुने, सुन्निने, आलस्य हुने, जाडो हुने, ज्वारो आउने, वाकवाकी लाग्ने, वान्ता हुनेलगायतका सामान्य लक्षण देखिन सक्छ जुन सबै खोपमा लक्षण देख्निछ यसमा डराउने कुनै कुरा नरहेको बताए ।

तर, शरीर चिलाउने, बिमिरा आउने, डाबर हुने, बढी आलस्य हुने, सुई लगाएको ठाउँमा बढी चिलाउने वा फोका जस्तो देखिएमा तुरन्त सम्बन्धित खोप केन्द्र वा चिकित्सक कहाँ सम्पर्क गर्नुपर्नेमा उनले जोड दिए । कोभिडविरुद्धको खोप अभियान होस् वा स्वास्थ्य उपचार प्रदेश सरकारले गम्भीरतापूर्वक लागेको बताउँदै उनले स्वास्थ्य विज्ञान प्रतिस्ठानले कोभिड संक्रमित बिरामीको विशेष उपचारका लागि व्यवस्था मिलाएको पनि जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति