काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नेपाल कुनै पनि शक्ति राष्ट्रको रणनीतिक अंग बन्न नसक्ने स्पष्ट पारेका छन् ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा ज्ञवालीले मुलुकको हितविपरीत नेपाल शक्ति राष्ट्रको रणनीतिक अंग बन्न नसक्ने स्पष्ट पारेका हुन् ।
स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)का विषयमा धेरै आशंका रहेको भन्दै उनले यसका विषयमा राज्यले थप स्पष्ट पार्नुपर्ने बताए । तत्कालीन समयमा नेपाली सेनाले कुनै राजनीतिक नेतृत्वलाई जानकारी नै नदिइ पत्र लेखेको पाइएको उनको भनाइ छ ।
उनले सन् २०१९ मा इन्डो प्यासिफिकको रिपोर्टमा नेपाल र श्रीलंकालाई एसपीपीको नयाँ सदस्यको रुपमा राखेको पाइएपछि एमाले नेतृत्वको सरकारले कार्यदल नै बनाएर एसपीपीलाई स्थगत गरेको दाबी गरे ।
ज्ञवालीले केही दिनअघि सार्वजनिक भएको अमेरिकी सेना र नेपाली सेनाबीच सम्झौता हुन लागेको भनिएको १० बुँदे मस्यौदाको स्रोत र कारण खोज्नुपर्ने बताए । उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्रीले सो ड्राफ्ट झुटो भएको बताए पनि त्यसलाई त्यतिकै छोड्न नहुने र त्यसबारे अनुसन्धान हुनुपर्नेमा जोड दिए ।
“जसरी १० बुँदे ड्राफ्ट भनेर आयो, अहिले त्यसलाई बेवारिसे बनाउने प्रयास पनि हुँदै छ । संवेदनशील ठाउँबाट संवेदनशील विषयमा महत्वपूर्ण ठाउँहरुमा त्यो कागजात पुगेको देखिन्छ । जुन मस्यौदा पढिसकेपछि कोही पनि नेपाली ढुक्कसँग निदाउने अवस्था बन्छ जस्तो मलाई लाग्दैन,” उनले भने ।
उनले अन्तर्राष्ट्रिय सैन्य गठबन्धनमा नेपाली सेना एउटा मात्र अन्तर्राष्ट्रिय संस्था संयुक्त राष्ट्रसँग निलो टोली लगाएर शान्ति स्थापनामा सहभागी भएको बताए । त्यसबाहेक नेपाली सेना कुनै पनि सैन्य गठबन्धनमा सहभागी नभएको र नेपालको संविधान, इतिहास, परराष्ट्र नीति, भूराजनीतिक संवेदनशीलता अवस्थाले पनि नेपाललाई अन्तर्राष्ट्रिय सैन्य गठबन्धनमा सहभागी हुने अधिकार नदिने बताए ।
प्रतिक्रिया