संघ र प्रदेशको निर्वाचन पछिसम्म पनि गठबन्धन रहन्छ : प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रकृया टुंगोमा लगाउने बेलासम्म पाँच दलीय गठबन्धन कायम रहने बताएका छन् । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको भरतपुर महानगरको आगामी कार्यदिशा विषयक अन्तरक्रियामा उनले संघ र प्रदेशको निर्वाचनसम्म मात्रै नभएर शान्ति प्रकृया टुंगोमा पुर्‍याउने र विकासको नयाँ युगतिर लैजानका लागि पनि सामूहिकतामा नै जाने बताए ।

देशलाई अब कसैले प्रतिगमनतर्फ लान नसक्ने भन्दै उनले भने, ‘अहिले पनि समस्या र चुनौति त छन्, यद्यपी गठबन्धनको सरकारले ती मुद्दा समाधान गर्दै अघि बढेको छ ।’ अहिले देशमा एक्लै हिँड्ने प्रवृत्ति र मिलेर हिँड्ने प्रवृत्तिका बीचमा लडाइँ भइरहेको उनले बताए । हरेक पार्टीभित्र पनि यो प्रवृत्ति कायम रहेको भन्दै उनले भने, ‘हिजो प्रतिगमनतिर जान खोज्ने, संविधान मिच्न खोज्ने, लोकतन्त्रलाई मास्न खोज्ने प्रवृत्ति एक्लै हिँडेको छ । अर्को सबै मिलेर जाउँ भन्ने प्रवृत्ति रहेको छ ।’ एकताको पक्ष र विरोधीका बीचमा अहिले लडाइँ चलिरहेको उनले बताए ।

स्टेर्ट पार्टनरसीप प्रोग्राम (एसपीपी) पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सरकारको पालामा भएको उनले बताए । उनले भने, ‘राष्ट्रवादको ढोङ्को पछि नलाग्न र सक्कली राष्ट्रवाद हुन पनि अपिल गर्दछु ।’

अध्यक्ष दाहालले चितवनको भरतपुर अस्पताललाई शिक्षण अस्पताल बनाउन आफूले पहल थाल्ने बताए । भरतपुर महानगरपालिकामा विगतमा भएका विकासको प्रशंसा गर्दै उनले यस अघि पहिलो प्रथामिकता सडक रहेको भन्दै अबको प्रथामिकता उत्पादन, रोजगारी, सामाजिक सुरक्षा र न्यायतर्फ केन्द्रित हुनुपर्ने बताए । विकासका हिसाबले आफ्नो ध्यान देशभरनै पुग्ने भए पनि यहाँको विकास देशकै लागि नमुना बन्ने बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board