एमालेबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण

काठमाडौँ । नेकपा (एमाले)ले पार्टीबाट उम्मेदवार भइ स्थानीय चुनाव जितेका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षलाई प्रशिक्षण दिने भएको छ ।

एमाले सचिवालय बैठकले जनप्रतिनिधिलाई प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार बिहीबार र शुक्रबार जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रम रहेको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार आज बिहान ११ बजे काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा रहेको राष्ट्रिय सभा गृहमा प्रशिक्षण कार्यक्रमको उद्घाटन हुने छ ।

अध्यक्ष केपी शर्मा ओलीले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्ने छन् । त्यसपछि स्कुल विभागले जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रम छ ।

जनप्रतिनिधिहरुलाई पार्टीको घोषणा पत्र स्थानीय तहमा कसरी कार्यान्वयन गर्ने, आचार संहिता पालना गर्ने, सुशासन कायम गर्ने, नीति कार्यक्रम र बजेट निर्माणमा ध्यान दिनुपर्नेलगायतका विषयमा प्रशिक्षण दिइने एमालेले जनाएको छ ।

प्रशिक्षणमा सहभागी हुन एमालेबाट उम्मेदवार भइ निर्वाचित भएका जनप्रतिनिधिहरु काठमाडौँ आइसकेका छन् । एमालेले चुनाव भएका ७५२ मध्ये २०५ पालिकामा प्रमुख जितेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति