संयुक्त राष्ट्र संघका उपमहासचिवले भनिन्– लुम्बिनी विश्व मानव जगतकै आस्था र श्रद्धाको केन्द्र

  • मोहम्मद हबिब

भैरहवा । संयुक्त राष्ट्र संघका उपमहासचिव कानी विग्नराजाले लुम्बिनी विश्‍व मानव जगतकै आस्था र श्रद्धाको केन्द्र बन्दै गएको बताएकी छन् ।

नेपाल भ्रमणमा रहेकी युएनडीपीका एसिया प्रशान्त क्षेत्रीय ब्युरो निर्देशकसमेत रहेकी विग्नराजाले लुम्बिनी विश्‍व शान्तिका लागि प्रेरणास्थल रहेकाले अवलोकन गर्न आएको बताउँदै ऐतिहासिक, सांस्कृतिक र अध्यात्मिक रुपमा संसारकै पवित्रस्थल रहेको पनि बताइन् ।

लुम्बिनी ग्राममा पिपलको विरुवा रोप्दै उनले भनिन्, ‘यहाँबाट प्राप्त हुने ऊर्जा र पुण्य सबैको हितकारी हुन्छ ।’

उनको नेतृत्वमा आएको टोलिका सदस्यहरूले बुद्ध जन्मस्थल मायादेवी मन्दिर, पुष्करणी पोखरी र अशोक स्तम्भ अवलोकन गरी दीप प्रज्जवलनसहित प्रार्थना गरे ।

उनलाई लुम्बिनी क्षेत्र विकास कोषका सूचना अधिकारी हरिध्वज राईले कोषले गरेको काम, संरक्षणको प्रयास र गुरुयोजनाबारे जानकारी दिए ।

सन् २००८ मा लुम्बिनी आएका संयुक्त राष्ट्रसंघ महासचिव वानकी मुनपछि राष्ट्रसंघका पदाधिकारीको यो उच्चस्तरीय भ्रमण हो ।

संयुक्त राष्ट्र संघीय कार्यक्रम दिगो विकास लक्ष्य पूरा गर्न लुम्बिनी बौद्ध विश्‍वविद्यालय र यूएनडीपी नेपालबीच समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको छ ।

विश्‍वविद्यालयका उपकुलपति डा.हृदयरत्न बज्राचार्य र युएनडीपी नेपालका आवासीय प्रतिनिधि आइशानी मेडागंगोडा लाबेले हस्ताक्षर गरेका थिए ।

पाँच वर्षे योजनाअन्तर्गत तीन बुँदामा समझदारी भएको हो । बृहत्तर लुम्बिनी विकास योजनाअन्तर्गतका क्षेत्रमा स्थानीय समुदायको स्वास्थ्य, शिक्षा, सामाजिक र आर्थिकस्तर उकासेर जीवनयापन सहज बनाइने उल्लेख छ ।

लुम्बिनीलाई ‘क्लिन’ र ‘ग्रिन’ बनाउन वातावरण संरक्षण गर्न विभिन्न कार्यक्रम गरिने पनि भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति