अमेरिकी एसपीपी सम्झौताले नेपाललाई सैनिक गठबन्धनतिर लैजाने संकेत गर्छ : भीम रावल

काठमाडौँ । नेकपा (एमाले)का सांसद् डा.भीम रावलले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गरिए देशको परराष्ट्र नीति नै ध्वस्त भएर जाने बताएका छन् ।

मंगलबार संसद् भवन नयाँबानेश्वरमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले एमसीसी पारित गर्दा नै नेपाललाई अमेरिकी हिन्द प्रशान्त रणनीतिको अंग बनाएर नेपालको स्वतन्त्र परराष्ट्र नीतिलाई ध्वस्त गर्ने काम हुँदै छ भन्ने आशंका गरेको उल्लेख गर्दै एसपीपीको दफा र घटनाक्रमले पनि त्यस्तै संकेत गरेको बताए ।

सांसद् रावलले भने,“एसपीपी सम्झौता गरिए परराष्ट्र नीति नै ध्वस्त भएर जान्छ । नेपाल असंलग्न स्वतन्त्र परराष्ट्र नीतिमा आबद्ध देश हो । हामी चीन र भारतजस्ता विशाल देशको संवेदनशील भूराजनीतिमा छौँ । एसपीपी सम्झौता नेपालजस्तो देशका लागि अत्यन्त गम्भीर विषय छ । यदि यस्तो हो भने त नेपाललाई एउटा सैनिक गठबन्धनतिर लैजाने र नेपाललाई अमेरिकी हिन्द प्रशान्त रणनीतिको अंग बनाएर नेपालको स्वतन्त्र परराष्ट्र नीतिलाई ध्वस्त गर्ने संकेत गर्छ ।”

उनले यस विषयमा सरकारले यथार्थ स्पष्ट गराउनुपर्ने भन्दै नेपाल स्वतन्त्र परराष्ट्र नीतिमाथि आँच पुर्‍याउने यस्तो कुरा कदापि स्वीकार्य हुन नसक्ने उल्लेख गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति