घनश्याम भुसालमाथि कारबाहीको सिफारिस अनुमोदन

काठमाडौं, ३१ जेठ । नेकपा एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कारबाही गर्न पार्टी कमिटीलाई पठाएको सिफारिस अनुमोदन गरेको छ ।

मंगलबार केन्द्रीय मुख्यालय च्यासलमा बसेको आयोगको पूर्ण बैठकले भूसालको अभिव्यक्ति कारबाही योग्य भएको भन्दै यसअघि आयोगकै सचिवालयको निर्णयलाई अनुमोदन गरेको हो ।

‘पार्टी नेतृत्वबारे जस्तो अन्तर्वार्ता दिनुभयो । त्यो कारबाही योग्य छ भन्ने सचिवालयको निर्णयलाई अनुमोदन गरिएको छ’, आयोगका एक सचिवालय सदस्यले भने ।

१८ जेठमा अध्यक्ष केशव बडालले अनुशासन आयोगको सचिवालय बैठक राखेर भूसाललाई पार्टी विधान बमोजिम कारबाही गर्न सिफारिस गरेका थिए । तर आइतबार एमालेको केन्द्रीय कार्यालय समिति र सोमबारको सचिवालय समितिको बैठकमा आयोगको सिफारिस एजेण्डा बनेन ।सचिवालय बैठक सकिएको भोलिपल्ट, मंगलबार बसेको आयोगको पूर्ण बैठकले भने भूसाललाई कारबाही गर्न गरिएको सिफारिस अनुमोदन गरेको छ ।

‘आवश्यक निर्णय केन्द्रीय कमिटीले गर्छ । हामीले सिफारिस गर्ने हो, टेलिभिजनको त्यो अन्तर्वार्ता कारबाही योग्य छ’, आयोगका ती सचिवालय सदस्यले भने । भूसालले हिमालय टेलिभिजनसँगको एक अन्तर्वार्तामा स्थानीय तह निर्वाचनमा पार्टी हारको जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीले लिनुपर्ने अभिव्यक्ति दिएका थिए ।

आयोगको बैठकले स्थानीय चुनावमा अन्तर्घात गर्नेलाई विधान बमोजिम कारबाही गर्न समेत सिफारिस गरेको छ । तर ठाउँ र व्यक्ति भने तोकेको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति