अर्थमन्त्री शर्मालाई हतकडी लगाएर थुन्नुपर्छः एमाले सचेतक भट्टराई

काठमाडौँ, ३१ जेठ । नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री जनार्दन शर्मालाई हतकडी लगाएर थुन्नुपर्ने बताएका छन्।

अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयमा नै एकजना अमुक व्यक्तिलाई बोलाएर करको दायरा हेरफेर गर्न सुझाव दिएकोबारे छानबिन गर्न माग गर्दै भट्टराईले उनलाई कारबाही गर्न माग गरेका हुन्।

‘यत्रो केस उठेको छ। करका दरहरु परिवर्तन भएका छन्। त्यसकारण छानबिन समिति त बनाउनपर्यो’ सचेतक भट्टराईले भने, ‘यो विषय हतकडी लगाएर थुन्नुपर्ने खालको हो।’ अर्थमन्त्री शर्माले अमुक व्यक्तिलाई बोलाएर करको दायरा हेरफेर गर्न सुझाव दिएको समाचार बाहिरिएपछि उनको चौतर्फी आलोचना भएको छ भने संसद बैठकमा पनि उनको राजीनामा माग भएको छ।

प्रतिनिधिसभा बैठकमा एमालेले यो विषय गम्भीरताका साथ उठाएर संसद अवरोध गरेको थियो। संसद अवरोध भएपछि सभामुख अग्निप्रसाद सापकोटाले भोलि ११ बजे सम्मका लागि बैठक स्थगित गरेका छन्। अर्थमन्त्री शर्माले आफूमाथि उठेका प्रश्नहरुको जवाफ दिएका थिए। तर, उक्त जवाफ चित्त नबुझेको भन्दै एमालेले राजीनामासहित छानबिन समिति गठन गर्न माग गरेको छ।

एमालेले संसदीय छानबिन समिति गठन गर्न माग गरेको हो। छानबिन समिति गठन नभएसम्म संसदको अवरोध कायम रहने एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। एमाले सचेतक भट्टराईले चोरले आफूले चोरेको हो भनेर कहिल्यै नभन्ने टिप्पणी गरे। ‘अहिलेसम्म चोर्नेले म चोरेर आएँ भनेर कतै भनेका छन् र? त्यो त कमैले भनेका छन् नि,’ उनले भने, ‘डकैती गर्नेले पनि भन्दैनन्। उहाँ राजनीतिक व्यक्ति हो। ठूलो बहस बनाउनुभन्दा राजीनामा दिएर छानबिनका लागि सहयोग गर्दा हुन्छ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति