रोजगारसँग सम्बन्धित सबै कोषलाई मर्ज गरौँ : मन्त्री गहतराज

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले युवा जनशक्ति विदेश पलायन हुने क्रम बढ्नु चिन्ताको विषय भएको बताएका छन् ।

नेपालमा युवाको बौद्धिकता र श्रमलाई उचित सदुपयोग गर्न नसकिएको उल्लेख गर्दै मन्त्री गहतराजले युवा तथा बौद्धिक जनशक्ति विदेश पलायन हुनबाट रोक्ने खालको रणनीति बनाउनु पर्नेमा जोड दिए ।

राष्ट्रिय युवा परिषद् र शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन)द्वारा आयोजित ‘युथ भिजन, १० वर्षे रणनीतिक योजना तथा राष्ट्रिय युवा नीतिका बारेमा परामर्श गोष्ठी’ मा बोल्दै मन्त्री गहतराजले युवा जनशक्तिको पलायन रोक्नुपर्ने ठुलो चुनौती रहेको बताए ।

युवालाई उत्पादनका क्षेत्रमा जोड्नु पर्नेमा जोड दिँदै उनले स्वदेशमै काम गर्न सकिन्छ भन्ने धारणाको विकास गराउनुपर्ने बताए । युवाको विदेश पलायनलाई रोक्न स्वदेशमै श्रम, रोजगार, उद्यमी र व्यवसायी बनाउँदै देशको आवश्यकताअनुसारको जनशक्ति तयार गर्ने खालको युवा नीति बनाउनुपर्ने उनको धारणा थियो ।

राज्यले कृषि क्षेत्रमा बर्सेनि ठुलो लगानी गर्दै आइरहेको तर्फ ईंगित गर्दै मन्त्री गहतराजले स्वरोजगारका लागि कृषि नै उत्तम विकल्प रहेको समेत प्रष्ट पारे । प्राकृतिक स्रोत र साधनका हिसावले नेपाल विश्वकै १७औाँ धनी देशका रुपमा रहेको उल्लेख गर्दै मन्त्री गहतराजले भने, “हाम्रो देशको प्रत्येक नदीमा सुन बगिरहेको छ, उच्चतम् प्रविधिको प्रयोग गरेर सुन
उत्खनन् गरौँ ।”

सम्बोधनकै क्रममा मन्त्री गहतराजले युवाका क्षेत्रमा भएका कार्यक्रमहरू विभिन्न मन्त्रालयमार्फत् छरिएर रहेकाले प्रभावकारीरूपमा कार्यान्वयन हुन नसकेको समेत दाबी गरे । युवाका लागि छुट्याइएको बजेटको पनि सदुपयोग हुन नसकेको उनको भनाइ थियो । “राज्यको रकम दुरुपयोग भइरहेको छ,” उनले भने, “प्रतिफल नआउनु भनेको दुरुपयोग हुनु हो नि ।”

युवा तथा रोजगारसँग सम्बन्धित थुप्रै कार्यक्रम एक–अर्कासँग सम्बन्धित भएकाले ती सबै कार्यक्रमलाई मर्ज गरेर छुट्टै कोष स्थापना गर्नु पर्नेमा मन्त्री गहतराजले जोड दिए । “हामीसँग युवा तथा रोजगारसँग सम्बन्धित १४ वटा कोष रहेका छन्” उनले भने, “ती सबैलाई एउटै ठाँउमा समायोजन गर्नुपर्छ ।” युवासँग सम्बन्धित सम्पूर्ण गतिविधिहरु एकद्वार प्रणालीबाट सञ्चालन हुनेगरी छुट्टै प्राधिकरण गठन गरेर अथवा अहिले अस्तित्वमा रहेकामध्ये कुनै एउटा कोषबाट मात्र कार्यक्रम तर्जुमा गर्नुपर्ने उनको धारणा थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board