जिसस कैलालीको नेतृत्वका लागि स्वतन्त्र मेयर हमाल निर्णायक

  • मोहन जोशी

धनगढी । कैलालीमा भोलि हुने जिल्ला समन्वय समितिको निर्वाचनका लागि सबै तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय कैलालीले जनाएको छ ।

१३ पालिका रहेको कैलालीमा जिससको नेतृत्वका लागि २७ मत आवश्यक पर्ने छ । तर, कैलालीमा जीतका लागि भने कसैसँग पनि पर्याप्त मत नपुग्ने भएको छ ।

जिससको नेतृत्वका लागि कैलालीमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टी तथा एमालेबीच गठबन्धन भएको छ ।

कैलालीमा कांग्रेस, माओवादी र नेकपा एस मिल्दा १३ मत पाउने स्थिति रहेको छ भने एमाले र उन्मुक्ति पार्टी मिल्दा १२ मत पाइने स्थिति छ । तर, कैलालीको मोहन्याल गाउँपालिकाका निर्वाचित अध्यक्षलाई निर्वाचन आयोगले मताधिकारको प्रयोग गर्नबाट वञ्चित हुने गरी आइतबार मात्रै निर्देशनसहितको पत्र पठाएको छ ।

माओवादी केन्द्रबाट निर्वाचित मोहन्याल गाउँपालिकाका अध्यक्ष देविदत्त उपाध्यायका नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्याय भ्रष्टाचार मुद्दामा छानबिनको सूचिमा परेका भन्दै उनलाई जनप्रतिनिधिको हैसियतमा नराख्न निर्वाचन आयोगलाई पत्र पठाएको थियो ।

अख्तियारको पत्रका आधारमा निर्वाचन आयोगले मोहन्यालका अध्यक्ष देवीदत्त उपाध्यायलाई मुद्दा किनारा नलाग्नसम्म निलम्बनमा परेका भन्दै उनलाई जनप्रतिनिधिको हैसियतमा काम गर्न नदिन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।

उपाध्याय निलम्बनमा परेसँगै कैलालीमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको मतभार १२ हुने छ ।

उता नागरिक उन्मुक्ति पार्टी र एमालेको मतभार पनि १२ नै रहेको छ । यस्तो अवस्थामा कैलालीमा स्वतन्त्र रूपमा निर्वाचन जितेका धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल निर्णायक बन्ने देखिएका छन् । तर, मेयर हमालले अहिलेसम्म कसलाई समर्थन गर्ने भनेर कुनै निर्णय गरेको बताए । ‘म अहिलेसम्म स्वतन्त्रकै हैसियतमा रहेको छु,’ उनले भने, ‘के गर्ने भन्ने कुरोको टुंगो भोलिनै लाग्ने छ ।’

कैलालीमा कांग्रेससँग ९, नागरिक उन्मुक्ति पार्टीसँग ७, नेकपा एमालेसँग ५, माओवादी केन्द्रसँग २, एकीकृत समाजवादी पार्टीसँग १ र १ मत स्वतन्त्र रहेको छ ।

कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले मोहन्यालका अध्यक्षलाई निलम्बन गरिएको पत्र आएको बताए । ‘निर्वाचन अयोगको पत्रसँगै मोहन्यालका अध्यक्ष उपाध्याय मतदान गर्ने अधिकारबाट वञ्चित हुने छन्,’ मुख्य निर्वाचन अधिकृत पनेरुले भने, ‘अब २५ जना उम्मेदवारले मात्रै मतदान गर्ने पाउने छन्, जसको बहुमत आउँछ उसैले जिससको नेतृत्व गर्ने छ ।’

जिससका लागि कसैको पनि बहुमत नपुग्ने अवस्था आएका गोलापर्था विधिबाट जिसस प्रमुखको टुंगो लगाइने उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति