काठमाडौ, २८ जेठ । शनिवार बिहान २ः३६ बजे भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार म्याग्निट्यूड ४.६ को उक्त भूकम्पको केन्द्रबिन्दु भक्तपुरको चाँगुनारायणमा थियो।
मानिसहरूले सामाजिक सञ्जालमा आफूहरू गहिरो निद्रामा भएकै बेला भूकम्प गएकाले आफू बिउँझिएको लेखेका छन्। नेपालमा अहिले पनि प्रत्येक दिन १०-१२ वटा भूकम्प गइरहेको विज्ञहरूले बताएका छन्। तर तीमध्ये निकै कम मात्र हामीले महसुस गर्छौँ।
हामीले महसुस गरेका वा लोकल म्याग्निट्यूड ४ भन्दा माथिका भूकम्पको विवरण भूकम्प मापन केन्द्रले सार्वजनिक गर्छ। तीभन्दा कम शक्तिशाली भूकम्पले चाहिँ जमिनको सतहमा खासै ठूलो प्रभाव पार्दैनन्। तर जमिनको भित्री भागमा ठूला भूकम्पका कारण खलबलिएको शक्तिलाई पुरानै अवस्थामा फर्काउन तिनको महत्त्वपूर्ण भूमिका हुने विज्ञहरू बताउँछन्।
वि.सं. २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भरेर ७.८ म्याग्निट्यूडको भूकम्प गयो। भूकम्प र त्यसपछिका परकम्पहरूले देशभरिका विभिन्न जिल्लामा भौतिक मात्र नभई ठूलो मानवीय क्षति पनि गरे।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख प्रमुख मोनिका झाले ‘गोरखा भूकम्प’ नाम दिइएको उक्त भूकम्पको शृङ्खलाका कारण परकम्पका रूपमा भूगर्भमा सञ्चित शक्ति बाहिर निस्किन खोजिरहेको भए पनि काठमाण्डूको जमिनमुनि आएर जम्मा भएकाले जोखिम अझै नटरेको बताएकी छन्।
सात वर्षअघिको भूकम्पसँगै सुरु भएको भूकम्पीय शृङ्खलामा भूकम्पको सङ्ख्या पाँचगुनाले बढेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रमा कार्यरत विज्ञ लोकविजय अधिकारी बताउँछन्। ‘त्यस भूकम्पले गर्दा जमिनमुनि प्रभावित शक्ति सन्तुलन नभएसम्म परकम्प आइरहन्छन्। पछिल्लो समय नेपालमै भएका अध्ययनहरूले त्यो शक्ति पुरानै अवस्थामा फर्किन समय लाग्ने देखाएको छ,’ उनले बताए।
भूकम्पका कारण काठमाण्डू उपत्यकामा पहिला सोचिए जति क्षति नपुगेको विज्ञहरूको भनाइ छ । भूकम्पपछि कतै २०० वर्षसम्म पनि परकम्प जाने त कतै केही महिनामै साम्य हुनसक्ने विज्ञहरूको भनाइ छ। सात वर्षअघि विनाशकारी भूकम्प जानुअघि नेपालमा ठूलो भूकम्पपछि महसुस हुने परकम्पहरू कसरी घट्दै जान्छन् भन्नेबारे तथ्याङ्क थिएन।
नेपालमा पछिल्लो समय भने परकम्पको सङ्ख्या कसरी घट्दै जान्छ भन्ने विषयमा जानकारी सङ्कलन गरिएको अधिकारीले बताए।
प्रतिक्रिया