आँबुखैरेनी खण्ड बेलुका ७ बजेबाट बिहान ५ बजेसम्म बन्द रहने

तनहुँ, २७ जेठ । पृथ्वीराजमार्गको तनहुँमा पर्ने आँबुखैरेनी–मुग्लिन खण्ड शुक्रबार बेलुका ७ बजेदेखि शनिबार बिहान ५ बजेसम्म बन्द गरिने भएको छ ।

आँबुखैरेनी–४ साँखरस्थित मर्स्याङदी विद्युत गृह नजिकै शुक्रबार बिहान सडक भासिएपछि अवरुद्ध भएको उक्त खण्ड मर्मतका लागि अर्को सूचना नआएसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि बन्द गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

लगातार वर्षाका कारण पहिरो गई सडक खण्डमा क्षति पुगेको हुँदा ठूला सवारी साधनहरुलाई वैकल्पिक बाटोबाट यातायात सञ्चालन गर्न आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले बताए । उनले भने, ‘साना सवारी साधन र दुई पांग्रे सवारी साधनहरुलाई बिहान ५ बजेदेखि ७ बजेसम्म मात्र सञ्चालन गर्न आग्रह गरिएको छ ।’

सडक भासिएपछि बिहानैदेखि अलपत्र सर्वसाधारणलाई पैदल हुँदै वारपार गराइएको छ । साना सवारी साधन पनि समय–समयमा सञ्चालनको व्यवस्था मिलाइएको छ ।

यसैबीच गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विकले उक्त खण्डको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री विकले छिटो काम सकेर यातायात सञ्चालनमा सहजता ल्याउन निर्देशन दिएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board