संघीय सरकारका कारण धेरै काम गर्न सकिएन : मुख्यमन्त्री भट्ट

  • मोहन जोशी

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले संघीय सरकारका कारण जनअपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन् ।

प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको छलफलका क्रममा प्रदेशसभामा उठेका प्रश्नको बिहीबार जबाफ दिँदै मुख्यमन्त्री भट्टले संघीय सरकारले काम गर्ने वातावरण नै नबनाई दिँदा जनअपेक्षा अनुसार काम गर्न नसकिएको बताए ।

‘एकल अधिकार भएका क्षेत्रमा पनि संघकै कारण काम गर्न सकिएन,’ मुख्यमन्त्री भट्टले भने, ‘साझा अधिकार क्षेत्रमा संघले समयमै नीति निर्माण नै नगरेर अल्झाउने काम गर्‍यो । जस कारण हामीले सोचे अनुरूप सफलता हासिल गर्न सकेनौँ ।’

सुदूरपश्चिम प्रदेशसभाले सबैभन्दा पहिला प्रदेश राजधानी तोकेर नामकरणसमेत गरेको भए पनि संघीय सरकारले जग्गाको भोगाधिकार नदिएका कारण हालसम्म कुनै प्रगति हासिल गर्न नसकिएको मुख्यमन्त्री भट्टको भनाइ छ ।

उनले प्रदेश सरकार आएपछि कुनै काम नै नभएको भन्ने कुरा भने सत्य नभएको बताए । ‘प्रदेश सरकारले सिन्को भाँचेन, सरकारको काम नै छैन भन्ने अफवाह फैलाइन थालेको छ,’ मुख्यमन्त्री भट्टले भने, ‘त्यो गलत हो, प्रदेश सरकार बनेपछि प्रदेशका कुना कन्दरासम्म सडक विस्तार भएको छ । शाखा सडक पिच भएका छन् । माविदेखि उच्च माविसम्म सबै विद्यालयका सुरक्षित भवन बनेका छन् । संघीय सरकार मात्रै भएको भए यी काम हुने थिएनन् ।’ उनले सुदूरपश्चिममा प्रदेश सरकारको बजेट नगएको कुनै ठाउँ नै नभएको दाबीसमेत गरे ।

प्रदेश सरकार नौलो संरचना भएका कारण सुरुवाती चरणदेखिनै सबै काम गर्नुपर्ने भएका कारण पनि अपेच्छित काम हुन नसकेको उनले बताए । ‘हामीसँग नीति नियम केही थिएन,’ उनले भने, ‘प्रदेश संरचना निर्माणका लागि नीति निर्माण गर्नै हामीलाई धेरै समय लाग्यो, अहिले पहिलाभन्दा धेरै सहज परिस्थिति बनेको छ । अर्को सरकारलाई अब काम गर्न धेरै सजिलो हुने छ ।’

रुख रोपेको एक वर्षमै फल नपाइने भन्दै मुख्यमन्त्री भट्टले प्रदेश सरकारले गरेका कामको प्रतिफल आउन पनि केही समय लाग्ने बताए । केही कामको परिणाम देखिन थालिसकेको र केही कामको प्रगति छिट्टै देखापर्ने उनको भनाइ छ । ‘बहुवर्षीय योजनाको काम सम्पन्न हुने चरणमा छ,’ उनले भने, ‘केही योजना सम्पन्न भइरहेका छन् । त्यसैले प्रदेश सरकारले केही गरेन भनेर फैलाइएको भ्रम गलत हो । हाम्रो कामको परिणाम जनताले छिट्टै देख्ने छन् ।’

सुदूरपश्चिम प्रदेशका अस्पतालमा प्रदेश सरकार आएपछि धेरै सुधार भएको मुख्यमन्त्री भट्टको दाबी छ । ‘म मुख्यमन्त्री भएको पहिलो दिन सेती हस्पिटलमा गएर हेरेको थिए । एउटा एक्सरे मेसिनसमेत राम्रो थिएन,’ उनले भने, ‘हाम्रै लगानीका कारण आज सेती प्रादेशिक अस्पताल सुविधा सम्पन्न भएको छ । अन्य जिल्लामा पनि सुरुवात गरेका छौँ । रेफर गर्ने हस्पिटलका रूपमा सेती चिनिन्थ्यो । महाकालीमा डाक्टर टिक्दैनथे । आज अवस्था फेरिएको छ । जनताले त्यो कुरा बुझ्नु पर्दछ ।’

उनले कृषिमा पनि प्रदेश सरकारले गरेको लगानीको प्रतिफल देखिएको बताए । बिउ विजनमा अहिले प्रदेश आत्मनिर्भर भएको र गाउँ–गाउँमा किसानले काम गरेर परिणामसमेत राम्रो दिएको मुख्यमन्त्री भट्टले बताए ।

उनले सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम अनुसार बजेट आउने भन्दै प्रदेशसभा सदस्यलाई ढुक हुन आग्रह गरेका छन् । ‘नीति तथा कार्यक्रम राम्रो छ । तर, त्यो अनुसारको बजेट आउँछ कि आउँदैन भनेर धेरै जिज्ञासा आएका छन्,’ मुख्यमन्त्री भट्टले भने, ‘बजेट नीति कार्यक्रम अनुसार नै आउँछ । तर, त्यसलाई कार्यान्वयन गर्ने दायित्व हामी सबैको हो । अब कार्यान्वयनमा आशंका गर्नभन्दा पनि सोच बदलौँ र सबै मिलेर अबको बजेट कार्यान्वयन गर्ने दिशामा अघि बढौँ ।’

मुख्यमन्त्री भट्टले उच्च पहाडी तथा हिमाली क्षेत्र रहेका दार्चुला, बझाङ र बाजुराका स्थानीय तहमा खाद्यान्न ढुवानी गर्दा प्रदेश सरकारले ढुवानीमा अनुदान दिने कार्यक्रम ल्याएको र आवश्यकता अनुसार सो अनुदानलाई विस्तार गर्न सकिने बताए ।

मुख्यमन्त्री भट्टले संघ, प्रदेश र स्थानीय तहले आ–आफ्नो ठाउँबाट युवालाई सीपमूलक तालिम प्रदान गरे पनि त्यसको परिणाम राम्रो नआएको भन्दै आगामी वर्षदेखि एकीकृत सीप विकास केन्द्र गठन गर्ने बारेमा छलफल अघि बढाइने बताए । सीप विकास तालिम दिँदा सिलाई कटाई र अन्य परम्परागत कार्यक्रम भन्दा अव पृथक कार्यक्रम ल्याइनेसमेत उनले बताए ।

‘सडक कालोपत्र गर्ने जनशक्ति भारतबाट ल्याउनु परिरहेको छ । पलम्बर, मेकानिक जस्ता राम्रो आम्दानी भएका क्षेत्रमा समेत बाहिरबाट जनशक्ति ल्याएर काम गराउनु परिरहेको छ,’ मुख्यमन्त्री भट्टले भने, ‘अब त्यस्तो जनशक्ति उत्पादन गर्ने गरी सीपसम्बन्धी तालिम प्रदान गर्नुपर्ने देखिन्छ, तीन सरकाले त्यसै क्षेत्रमा लगानी गर्ने गरी एकीकृत सीप विकास केन्द्र गठन आवश्यक देखिएको छ ।’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board