सरकारले बन्चरेडाँडा सरोकार समितिसँग शुक्रबार वार्ता गर्ने

काठमाडौँ, २६ जेठ । सरकारले बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिसँग शुक्रबार वार्ता गर्ने भएको छ ।

काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा देखिएको समस्या समाधानका विषयमा सहरी विकास मन्त्रालय र सरोकार समितिबीच वार्ता हुन लागेको हो ।

वार्ताका लागि बिहान ८ बजे सरोकारवाला सबैलाई बोलाएको बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिका उपाध्यक्ष सनत उप्रेतीले जानकारी दिए । उनका अनुसार वार्तामा संघर्ष समिति, नुवाकोट ककनी गाउँपालिका, धादिङको धुनीबेंसी नगरपालिका प्रमुखरउपप्रमुख, वडाध्यक्ष, प्रभावित स्थानीय प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

उपाध्यक्ष उप्रेतीले मन्त्रालयले माग पूरा नगरे प्रधानमन्त्री शेरबहादुर देउवाकहाँ जाने आफूहरुको तयारी रहेको बताए । सरकार र काठमाडौं महानगरपालिकाले विगतका सहमति र सम्झौता कार्यान्वयन नगरेको भन्दै संघर्ष समितिले फोहोर विर्सजन गर्न दिएका छैनन् ।

उनीहरूले बुधबार फोहोर लिएर बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा गएका झन्डै डेढ सय ट्रकहरु फर्काइदिएका थिए ।ठूलो संख्यामा स्थानीयवासी सडकमा उत्रिएपछि फोहोर बोकेका ट्रकहरूलाई उनीहरुले अवरोध गरेका थिए ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि ३ सेल अश्रु ग्यास प्रहार गरेका थिए । बिहीबार पनि प्रहरीलाई प्रतिकार गर्न र फोहोरका ट्रक आएमा प्रवेश नदिने भन्दै उनीहरु ढुंगामुढासहित बसिरहेका छन् ।

सरोकार समिति उपाध्यक्ष उप्रेतीले प्रहरीले घरमा रहेका र खेतमा काम गरिरहेका नागरिकलाई पनि धरपकड गरेको आरोप लगाए । शान्तिपूर्णरूपमा यसअघिका सहमति कार्यान्वयन हुनुपर्‍यो भन्दा राज्यले प्रहरी प्रशासन लगाएर हामीमाथि ज्यादती गरेको उनको भनाइ छ ।

काठमाडौं महानगरपालिकाका अनुसार मंगलबार १४ गतेपछि स्थानीय अवरोधका कारण उपत्यकाको फोहोर ढुवानी रोकिएको हो । जसकारण उपत्यकाका ठाउँ ठाउँमा फोहोर थुप्रिएका छन् भने दुर्गन्ध फैलिरहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board