वैदेशिक रोजगार विभागले एक म्यानपावरमा मार्‍याे छापा

जेठ २५, काठमाडौँ । रोजगारीका लागि मलेसिया जान श्रमिकसँग बढी शुल्क लिएको उजुरीका आधारमा म्यानपावर कम्पनीमा वैदेशिक रोजगार विभागको टोलीले छापा मारेको छ।

बुधबार साँझ बत्तिसपुतलीस्थित गल्फ एसिया म्यानपावर कम्पनीमा विभागको टोलीले छापा मारेको हो। निशुल्क रुपमा मलेसिया श्रमिक पठाउन यो म्यानपावर कम्पनीले विभागबाट पूर्व श्रम स्वीकृति लिएको थियो। तर साढे २ लाख रुपैयाँसम्म उठाएको उजुरीपछि छापा मारेको विभागका निर्देशक डम्बर सुनुवारले जानकारी दिए।

विभागको टोली छापा मार्न कार्यालयमा पुगेपछि म्यानपावरका सञ्चालकले रकम कम्पाउन्ड बाहिर फाँकेको भेटिएको छ। ‘उहाँले रकम फाल्नु भएको छ। रकम कति छ भन्ने गणना गर्न बाँकी छ’, सुनुवारले भने।

यो म्यानपावर कम्पनीबाट शुक्रबार १७ जना मलेसिया जान लागेका छन्। उनीहरुको भिसा, टिकट र अन्तिम स्वीकृति पनि भइसकेको छ। उनीहरुलाई समयमै मलेसिया पठाउने व्यवस्था गरिने निर्देशक सुनुवारले बताए।

म्यानपावर कम्पनीका सञ्चालक राजेश यादवले बढी रकम लिएको स्वीकार गरेका छन्। श्रमिकले उनैलाई रकम बुझाएका थिए। यसअघि ५० हजार रुपैयाँ दिइसकेका श्रमिकले आज २ लाख रुपैयाँका दरले रकम बुझाएको बताएका छन्।

म्यानपावर सञ्चालकलाई वैदेशिक रोजगार ऐन २०६४ को दफा ५३ अनुसार कारबाही गर्ने विभागको तयारी छ। यो दफा अनुसार सरकारले तोकेभन्दा बढी शेवा शुल्क लिएमा हुने सजाय सम्बन्धि व्यवस्था छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति