मेरो नेतृत्वको सरकारले जनताको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्‍यो : ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१९ को महामारी फैलिनेबित्तिकै नेपालमा तत्कालीन सरकारले जनताको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताएका छन् ।

पुष्प वरुवाल स्मृति प्रतिष्ठानले भक्तपुरको बालकोटस्थित ओली निवासमा आयोजना गरेको शिक्षासेवी, उद्योगी एवम् समाजसेवी स्वर्गीय पुष्पबहादुर वरुवालको प्रथम स्मृति दिवस, स्मारिका विमोचन एवम् श्रद्धाञ्जलीसभा कार्यक्रममा उनले अन्य मुलुकमा भन्दा नेपालमा त्यसबेलाको सरकारले धेरै काम गरेको जिकिर गरे ।

“विश्वव्यापी रुपमा महामारी फैलिरहेको थियो, कतिपय देश अर्थतन्त्र जोगाउनुपर्छ भनेर लागे, कतिपय देशले मास्क लगाउनै दिएनन्, कतिपयले राजनीतिक विषय बनाए तर हाम्रो देशमा भने सरकारले मानवीय जीवन र स्वास्थ्यलाई पहिलो प्राथमिकता हो भनेर जीवनरक्षालाई प्राथमिकतामा राखेर काम गर्‍यो,” उनले भने ।

देशमा स्वास्थ्य जनशक्तिका साथै अक्सिजन र भेन्टिलेटरको अभावमा पनि सबैले जनताको जीवन बचाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यस्तो अवस्थामा पनि केहीलाई भने बचाउन नसकिएको उनले बताए ।

कोभिड–१९ को संक्रमणकै कारण नेपालका शिक्षा सेवी, उद्योगी एवम् समाजसेवी पुष्पबहादुर वरुवालको २०७८ जेठ २४ गते अमेरिकामा निधन भएको सन्दर्भ कोट्याउँदै उनले अमेरिकामा भए केही हुँदैन भन्ने भ्रम धेरै नेपालीमा रहेपनि नेपालको उपचार प्रभावकारी रहेकामा अध्यक्ष ओलीले जोड दिए ।

स्वर्गीय वरुवाल बिर्सन नसक्ने व्यक्तित्व भएको चर्चा गर्दै उनले देश, समुदाय, शिक्षा र एमाले पार्टीमा उनको योगदानलाई बिर्सन नहुने बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति