काठमाडौ, २२ जेठ । आज काठमाडौं उपत्यकामा सिथि नखः पर्व मनाईदैछ । नेवारी सभ्यता अनुसार हरेक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका दिन नखः पर्व मनाउने गरिएको छ ।
![](https://www.nepalpage.com/wp-content/uploads/2022/06/285797121_6234457136587027_1119549903756459648_n-768x552.jpg)
यस वर्ष पनि सदाझैँ काठमाडौं उपत्यका भित्र रहेका ढुंगेधारा, इनार, कुवा, धारा सफा गरेर नखः पर्व मनाइदैछ । यस पर्वको दिन ढुंगेधारा, इनार, कुवा, धाराको मुहानमा सरसफाइ गरेर मनाइने प्रचलन रहि आएको छ । साथसाथै रोटीसहितका मिष्ठान परिकार समेत खाने गरिन्छ । सरसफाई गरिसकेपछि सो स्थानमा पुजाआजा पनि गरिन्छ ।
![](https://www.nepalpage.com/wp-content/uploads/2022/06/285713876_1072699916983114_1374012443599993420_n-768x709.jpg)
मंगलटोल सुधार समितिका सदस्य रविन कपाली ढुंगेधारा, इनार, कुवा लगायतको सरसफाइ र पुजाआजा गरेर मनाउने नखः पर्व नेवार समुदायको विशेष पर्व रहेको बताउन्छन् ।
काठमाडौँ उपत्यकाको पुरातात्विक, धार्मिक तथा ऐतिहासिकतालाई झल्काउने ढुंगेधाराहरुको संरक्षणमा सरकारले चासो नदेखाएकोमा उहाँले दुःख व्यक्त गरे ।
हालसम्म स्थानीयको जागरुकताले ढुंगेधाराहरु बचाउन सकिएको भएपनि पानीको मुहान बिस्तारै सुक्दै गएको उनको भनाई छ । सरकारले ढुंगेधाराको संरक्षण गर्नका लागि र पानीको मुहान नसुकोस् भन्नका लागि अनुसन्धान गर्नुपर्ने उनले बताए ।
यस दिनमा भगवान शिवजीका पुत्र कुमारको पनि पुजाआजा गर्ने गरिएको उनले बताए ।
COMMENTS