राष्ट्रपति भण्डारीद्वारा विश्व वातावरण दिवसका अवसरमा सन्देश

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवस (जुन ५)का अवसरमा सन्देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपति कार्यालयबाट जारी गरिएको सन्देशमा संयुक्त राष्ट्रसंघको आह्वानमा ५० वर्ष अघिदेखि मनाउन थालिएको ‘विश्व वातावरण दिवस’को सान्दर्भिकता हरेक वर्ष बढ्दै गएको भनिएको छ ।

प्रकृतिको स्वभाविक सन्तुलनमाथि नकारात्मक दबाब उत्पन्न गर्ने मानवीय क्रियाकलापका कारण पृथ्वीको पारिस्थितिक प्रणाली, वर्षाचक्र र जलवायु सन्तुलनमा अस्वाभाविक परिवर्तन आउन थालेको वैज्ञानिक प्रमाण उपलब्ध भएसँगै वातावरण दिवसप्रतिको संवेदनशीलता वृद्धि भएको उल्लेख गरिएको सन्देशमा जलवायु परिवर्तनले विश्वव्यापी संकटको स्वरुप ग्रहण गरिरहेको परिवेशमा हामी प्रकृति र मानव सभ्यताको दिगो सहअस्तित्वका लागि ‘केवल एउटै पृथ्वी’ भन्ने मूल विषयमा आधारित भइ यस वर्षको विश्व वातावरण दिवस मनाइरहेका छौँ । हामीसँग पृथ्वीजस्तो सजीव ग्रह एउटै मात्र भएकाले प्रकृतिका अन्य अवयवहरुको संरक्षण गर्दै सबैखाले प्राकृतिक स्रोतको दिगो उपभोगका लागि जीवनशैलीमा परिवर्तन ल्याइ स्वच्छ र हरित मानवीय जीवन पद्दतिको विकास गर्ने कुरा आज प्रमुख चुनौतीको रुपमा रहेको बताइएको छ ।

“वातावरण संरक्षणको क्षेत्रमा हामीले अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीयस्तरमा विभिन्न नीति योजना तथा कार्यक्रमहरु निर्माण गरी तिनको कार्यान्वयनका लागि आवश्यक कानुन र संस्थागत संरचनाहरुसमेत निर्माण गरेका छौँ । हाम्रा राष्ट्रिय प्रतिबद्धताहरु विभिन्न समयमा अभिव्यक्त भएका छन् । नेपाल आफैँ ठुलो मात्रामा कार्बन उत्सर्जन गर्ने राष्ट्र नभएता पनि हाम्रा हिमालहरु पग्लने क्रम बढेको छ, पानीका मूलहरु सुक्दै गइरहेका छन्, हामी नदी र प्राणवायुले प्रदूषणको सिकार हुनु परिरहेको छ । हाम्रोजस्तो अन्य पर्वतीय मुलुकहरुले भोग्नुपरेको संकटको प्रवृत्ति उस्तै छ भने टापु राष्ट्रहरुले सम्भावित अस्तित्वको संकट झेल्नु परिरहेको छ,” सन्देशमा भनिएको छ ।

वातावरण अनुकूलनका कार्यक्रमहरुलाई प्रभावकारी ढंगले अगाडि बढाउनुका साथै शतप्रतिशत हरित वा स्वच्छ ऊर्जाको प्रयोग, विद्युतीय सरसमानको बहुउपयोग तथा इको यातायातको प्रवर्द्धनमा विशेष जोड दिन आवश्यक रहेको सन्देशमा भनिएको छ ।

त्यस्तै, सन्देशमा हरेक परिवारले उत्सर्जन गर्ने कार्बज र अन्य हरितगृह ग्यासहरु कम गरेका खण्डमा सौर्यमण्डलको सजीव पिण्डका रुपमा रहेको हाम्रो पृथ्वीको पर्यावरण थप बिग्रनबाट रोकिने र मानव अस्तित्व सहजरुपले चलिरहने आशा गर्न सकिने र यसका लागि नगण्य कार्बन उत्सर्जन गर्ने नेपालजस्ता पर्वतीय राष्ट्रले टापु राष्ट्रहरुको समेत साझा आवाज निर्माण गरी अन्तर्राष्ट्रिय मञ्चहरुमा जवाफदेहिता र ठोस प्रतिबद्धताको अभियान चलाउन अत्यावश्यक भइसकेको छ ।

साथै, वायु, जल र भूमि प्रदूषणबाट परिरहेको असरलाई कम गर्न नेपालले हासिल गरेका उपलब्धिलाई सुदृढ गर्नुका साथै विभिन्न द्विपक्षीय एवम् बहुपक्षीय मञ्चहरुमा उठान गरेका विषय र व्यक्त गरेका प्रतिबद्धता कार्यान्वयन गर्न आजको दिनले थप उत्प्रेरणा दिने छ भन्ने विश्वास लिएको सन्देशमा उल्लेख गरिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board