जिसस बैतडीको प्रमुखमा गठबन्धनबाट धामी र एमालेबाट थापाको मनोनयन

बैतडी । बैतडीमा जिल्ला समन्वय समितिको निर्वाचन २४ जेठमा हुँदै छ । निर्वाचनका लागि शनिबार मनोनयन दर्ता भएको छ । जिससमा ९ पदका लागि १७ जनाको मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बैतडीमा जिससको नेतृत्वका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र स्वतन्त्रले साझा उम्मेदवारी दिँदा भने एमाले एक्लैले उम्मेदवारी दर्ता गरेको छ ।

जिसस प्रमुखका लागि गठबन्धनबाट नेपाली कांग्रेसका खगेन्द्रसिंह धामीको उम्मेदवारी दर्ता भएको छ भने एमालेबाट मोहनबहादुर थापाले उम्मेदवारी दिएका छन् । यस्तै उपप्रमुख पदका लागि गठबन्धनबाट माओवादी केन्द्रका दमनबहादुर कुँवरको उम्मेदवारी दर्ता भएको छ भने एमालेबाट हेमा भट्ट (कपाडी)को उम्मेदवारी दर्ता भएको छ ।

खुल्ला तीन सदस्यका लागि गठबन्धनबाट नेपाली कांग्रेसका करनसिंह कठायत र दानबहादुर विष्ट तथा माओवादी केन्द्रबाट प्रेमसिंह भाटको उम्मेदवारी दर्ता भएको छ । यस्तै एमालेको तर्फबाट ईश्वरबहादुर बोहरा, कालुसिंह जोशी र दीपेन्द्रबहादुर धानुकको मनोनयन दर्ता भएको छ ।

यस्तै खुला तीन महिला सदस्यमा गठबन्धनबाट नेपाली कांग्रेसका यशोदा चन्द, माओवादी केन्द्रबाट निर्मला भट्ट र स्वतन्त्रबाट हरना पार्कीको उम्मेदवारी दर्ता भएको छ । यस्तै एमालेबाट महिला सदस्यमा चन्द्रा जोशी (पाण्डेय) र यशोदा महरा गरेर दुई जनाको मात्रै उम्मेदवारी दर्ता भएको छ ।

यस्तै दलित सदस्यमा नेपाली कांग्रेसबाट नेपाली र एमालेबाट द्रोपती दयालको उम्मेदवारी दर्ता भएको छ । जिससमा पालिकाका प्रमुख तथा उपप्रमुख मतदाता रहने प्रावधान छ । जिल्ला समन्वय समितिको नयाँ नेतृत्व चयनका लागि जेठ २४ गते बिहान ७ बजेदेखि ९ बजेसम्म मतदानको समय तोकिएको छ ।

१० स्थानीयतहका २० भोट रहेको बैतडीमा ९ भोट नेपाली कांग्रेससँग छ भने, २ भोट नेकपा माओवादी केन्द्रसँग छ । एमाले एक्लैसँग ८ भोट हुँदा स्वतन्त्रसँग एक भोट रहेको छ । यसरी गठबन्धनको जित हुने निश्चित जस्तै देखिन्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board