एमालेको लालकिल्ला तोड्दै मनहरीमा ‘नायक’ बनेका बर्तौला

  • राजन कटुवाल

मकवानपुर । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्लाको मनहरी गाउँपालिकाको अधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि प्रकाश बर्तौलाले नेकपा (एमाले)लाई मनहरीमा ‘पत्तासाप’ पार्ने बताएका थिए ।

३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा प्रकाशले आफ्नो अभिव्यक्तिलाई प्रमाणित नै गरिदिए ।

अघिल्लो स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित पाँचवटा वडा (वडा नम्बर–९ मा एमालेकै स्वतन्त्र) जितेको एमालाई यस पटक भने गाउँपालिकामा जम्मा चार जना वडा सदस्यमा सीमित पारिदिए ।

गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)सँग तालमेल गरेको कांग्रेस वडा भने एकल प्रतिस्पर्धामा उत्रिएको थियो ।

कांग्रेसले गाउँपालिका अध्यक्षसहित १, ३, ६, ७ र ८ मा प्यानलसहित र ९ नम्बर वडामा भने अध्यक्षमा जित्यो ।

बाँकी वडामा माओवादीले जित हात पारेको छ । अघिल्लो निर्वाचनमा दबदबा कायम गरेको एमाले भने चार जना वडा सदस्यमा मात्र यस पटक सीमित हुन पुगेको हो ।

केही वर्ष वैदेशिक रोजगारीका लागि क्यानडा पुगेर फर्किएका उनी राजनीतिमार्फत् समाजसेवा गर्ने भन्दै राजनीतिमा आएका हुन् । राजनीतिमा प्रवेश गरेपछि पार्टी सभापति बनेसँगै उनले गाउँपालिकामा पार्टीका उम्मेदवारहरूलाई निर्वाचित गराउन सके ।

‘राजनीतिमार्फत आफ्नै गाउँ ठाउँको विकास गरौं भन्ने उद्देश्यले अघि बढेको छु’, उनी भन्छन्, ‘मैले मात्रै चाहेरभन्दा पनि आम नेता कार्यकर्ताको मिहेनतबाट एमाले हराउन सफल भएँ ।’

गाउँपालिकामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई जनभावनाअनुसार काम गर्न उनको सुझाव छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति