धनगढी, १८ जेठ, । कैलालीमा रासायनिक मलको आपुर्ति सहज नहुदाँ यो वर्ष पनि किसानहरु मारमा पर्ने भएका छन् । कैलालीका किसान भारतबाट मल ल्याएर भए पनि गर्ने गरेकोमा त्यहाँबाट पनि मल ल्याउन नपाउँदा समस्यामा परेका हुन् ।
कैलालीको जानकी गाउँपालिकाका तेतराम चौधरी यतिखेर धानखेती गर्न मलको खोजीमा भौतारिएका छन् । उनी भन्छन्,‘मल नेपाली बजारमा सहजरुपमा पाउँदैन, भारतीय बजारबाट ल्याउन पाइँदैन’, चौधरीले भने, ‘यस्तो बेलामा कसरी खेती गर्नु ? मल नभए धान उत्पादन घट्छ ।’
सरकारले अन्तर्राष्ट्रिय बोलपत्रका अतिरिक्त कृषि सामग्री र साल्ट ट्रेडिङ कम्पनीले जिटुजीअन्तर्गत भारत सरकारका आधिकारिक निकायबाट मल आयात गरी किसानलाई पूर्ति गर्दै आएको छ । तर यस वर्ष समयमा मल पर्याप्त मात्रामा आपूर्ति नहुँदा धानखेती गर्ने बेला मलको अभाव देखिने कृषि सामग्री कम्पनीका मौज्दात शाखा प्रमुख रुपबहादुर कुँवर बताउँछन् ।
‘यस वर्ष धान रोप्ने समयमा मल अभाव हुने देखिन्छ’, उनले भने, ‘सुदूरपश्चिम प्रदेशका लागि भैरहवा नाकामा दुई हजार १०० मेट्रिक टन डिएपी मल आइपुगेको छ ।’ कुँवरले मल नाकामा आए पनि इन्धनको मूल्य अधिक बढेर ढुवानीमा समस्या बताए । मल ल्याउनका लागि प्रदेशमा रहेका कृषि सहकारीलाई प्रधान कार्यालय र प्रदेशको स्वीकृति लिएर भैरहवाबाटै मल ल्याउन दिने व्यवस्था गर्न थालिएको उनले बताए ।
‘कैलालीमा रहेका ९५ कृषि सहकारीलाई मल ल्याउनका लागि स्वीकृत दिइएको छ’, उनले भने, ‘भैरहवा नाकाबाट मल ल्याउनका लागि सबै क्षेत्रमा मलको समानुपातिक वितरण भई मलको सहजताका लागि सहकारीलाई सोहीअनुसार मलको कोटा निर्धारण गरिएको छ ।’ आवश्यकता हेरी धनगढीबाट टीकापुरसम्म मलको कोटा निर्धारण गरिएको उनी बताउँछन् ।
रासायनिक मलका लागि जिटुजीमार्फत् डेढ लाख मेट्रिक टन भारतबाट खरिदको सम्झौता भएको छ । बर्खे धानखेतीका लागि भनेर सरकारले आपूर्तिका लागि सम्झौता गरे पनि जिटुजीमार्फत अहिलेसम्म नआएको सम्झौताअनुसार मल असार दोस्रो सातासम्म पुग्न सक्ने भनाइ रहेको छ ।
कैलालीमा १८ मेट्रिक टन डिएपी, १५ हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन पोटासको माग रहेको भए पनि आधा मात्र आपूर्ति हुने गरेको छ । किसानका हरेक वर्ष यसैगरी विभिन्न कारणले मल अभावमा खेतीमा असर हुने बताएका छन्।
प्रतिक्रिया