मुद्दा हेर्नका लागि गोलाप्रथाकाे विकल्प अब चाँडै अटोमेशनमा जानुपर्छः कार्की

काठमाडाै, १५ जेठ । का.मु. प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायालयको अवस्था सुधारोन्मुख रहेको बताएका छन् ।

आइतबार नेपाल कानून व्यवसायी परिषद्को लयर्स एकेडेमी व्यवस्थापन समितिद्वारा आयोजित ७ दिने तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै का.मु. प्रधानन्यायाधीश कार्कीले न्यायालयको अवस्थाबाट पहिले भन्दा सुधार भएको बताएका हुन् ।

कार्कीले आफुले सर्वोच्च अदालतको नेतृत्व लिएपछि मुद्दाको फस्र्योट बढेको बताउए । उनले आफु नेतृत्वमा आउँदा मुद्दाको फस्र्योट प्रतिशत ८ प्रतिशत रहेकोमा अहिले बढेर १५ प्रतिशत पुगेको बताए । उल्लेख्य मात्रामा पुराना मुद्दाहरुको फैसला भएको उनले उल्लेख गरे । उनले भने – ‘न्यायपालिका अहिले सुधारोन्मुख छ । म प्रतिवद्धता व्यक्त गर्न चाहान्छु, न्यायपालिकालाई अब हामीले यो भन्दा पहिलेको स्थिति भन्दा फरक ढंगबाट हेर्नुपर्छ । मैले आफुले नेतृत्व लिदाँखेरी हाम्रो सर्वोच्च अदालतको मुद्दाको फस्र्योट प्रतिशत ८ प्रतिशत थियो । ८ प्रतिशतबाट मैले विभिन्न ढंगबाट त्यसलाई फोकस गरेर अहिले प्रत्येक महिनाजसो २ प्रतिशतको दरले बढाएर अहिले हिजो सम्मको स्थितिमा १५ प्रतिशत मुद्दा फैसला भएको छ । धेरै मुद्दाहरु फस्र्योट हुन सकेनन् । पुराना मुद्दाहरु धेरै रहे भनेर त्यसमा सुधार गर्न खोजिरहेका छौँ ।’

का.मु. प्रधानन्यायाधीश कार्कीले तत्कालका लागि गोलाप्रथाको विकल्पमा जान नसकिने बताए । उनले अटोमेशनमा जाने प्रक्रिया सुरु भइसकेको उल्लेख गर्दै अटोमेशनमा जानु अघिसम्म गोलाप्रथाबाटै मुद्दा हेरिने बताए । उनले भने – ‘गोलाको विकल्प तत्काल हामी जानसक्ने अवस्था पनि छैन । हरिकृष्ण कार्कीको प्रतिवेदनले पनि अटोमेशनमा जाने हो र अटोमेशनमा नजाँदासम्म, अटोमेशनको कार्यान्वयन नहुँदासम्म हामी गोला प्रक्रियाबाट नै मुद्दा हेर्ने भएको हुनाले अहिले हामी अरु कुरामा विचार गर्न सक्ने पक्षमा छैनौँ र अटोमेशनमा जानका लागि प्रक्रिया सुरु भइसकेको छ । बजेटको पार्टमा फुल कोर्टले पनि पास गरिसकेर अर्थ मन्त्रालयमा बजेटको माग गरिसकेका छौँ । र अटोमेशन कार्यान्वयन हुन्छ भन्ने मलाई लाग्छ ।’

उनले अटोमेशनमा जानका लागि अर्थमन्त्रालय सँग बजेट माग गरिसकिएकाले अटोमेशनको प्रक्रिया छिट्टै कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति