कैलालीमा ठेकेदार र कर्मचारीसहित १८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, १३ जेष्ठ । ठेक्कापट्टामा अनियमितता गरी गुणस्तरहीन काम गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय खेमराज विष्ट र देवराज जोशीसहित १८ जना विरुद्ध तीन वटा भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको छ ।

अख्तियारले शुक्रबार विशेष अदालतमा तीनवटा छुट्टाछुट्टै आरोपपत्र दायर गर्दै विष्ट र जोशी तथा इन्जिनियरसहित १८ विरुद्ध कैद, बिगो र जरिवाना सजायको मागदाबी लिएको हो । तीनवटै प्रकरणमा प्रतिवादीहरुबाट ४ करोड १६ लाख २४ हजार २१ रुपैयाँ बिगो, बिगोबमोजिम जरिवाना, बिगो असुल र कैद सजाय मागदाबी लिइएको अख्तियारले विशेष अदालतमा दायर गरेको आरोपपत्रमा उल्लेख गरिएकाे छ ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार गोदावरी नगरपालिका कैलालीका १३ वटा सडकमा गुणस्तरहीन काम गरी रकम भुक्तान गरेको आरोपमा एउटा अभियोगपत्रमा विष्ट र जोशी, तत्कालीन इन्जिनियर पूर्ण कुँवर, तत्कालीन सवइन्जिनियर ज्ञानेन्द्र बूढा, ल्याव टेक्निसियन धनबहादुर विष्ट र ठेकेदार कामी शेर्पालाई प्रतिवादी बनाइएको छ । उनीहरुविरुद्ध १ करोड १६ लाख ४ हजार २ सय ८० रुपैया बिगो, त्यत्ति नै जरिवाना र खुलेको बिगो असुल गर्नुपर्ने अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

यो कसुरमा विष्टबाट ७ लाख ६७ हजार ९ सय ८८, जोशीविरुद्ध २४ लाख ५१ हजार ५ सय २६ रुपैयाँ, तत्कालीन इन्जिनियर कुँवर र सवइन्जिनियर बूढाविरुद्ध समान ३२ लाख १९ हजार ५ सय १४, ल्याव टेक्निसियन धनबहादुर विष्टविरुद्ध २९ लाख २८ हजार १ सय ६८ रुपैयाँ बिगो, सबै आरोपितविरुद्ध कायम बिगोबराबर जरिवाना र बिगोसमेत असुल र कैद सजायको मागदाबी लिइएको अख्तियारले जनाएको छ ।

यसैगरी अख्तियारको अर्को अभियोजनमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्ट, इन्जिनियर कुँवर, सवइन्जिनियर नरेन्द्र शाही, ल्याव टेक्निसियन धनबहादुर विष्ट र ठेकेदार हरिसिंह विष्टलाई प्रतिवादी बनाइएको छ । आरोपितहरुविरुद्ध ७५ लाख ६६ हजार ९ सय ४३ रुपैया बिगो, बिगोबराबर जरिवाना र हानी भएको बिगो रकम असुल कैद सजायको मागदाबी गरिएको छ ।

अख्तियारले प्रतिवादी विष्टबाट १५ लाख १७ हजार ६ सय ९७ रुपैयाँ, इन्जिनियर कुँवर र सवइन्जिनियर शाहीबाट समान १५ लाख १७ हजार ६ सय ९७, ल्याब टेक्निसियन विष्टबाट १४ लाख ९६ हजार १ सय ५५ र ठेकेदार विष्टबाट १५ लाख १७ हजार ६ सय ९७ रुपैयाँ बिगो, बिगोबराबर जरिवाना र कायम भएको बिगो रकम असुल र कैद सजायको मागदाबी लिएको छ ।

अख्तियारको तेस्रो अभियोगपत्रमा प्रमुख प्रशासकीय अधिकृतद्वय खेमराज विष्ट र देवराज जोशी, इन्जिनियर पूर्ण कुँवर, तत्कालीन सवइन्जिनियर भक्तराज जोशी र नरेन्द्र शाही, ल्याव टेक्निसियन धनबहादुर विष्ट र ठेकेदार सन्तोश जोशीलाई कैद, बिगो, जरिवाना र बिगो खुलेको रकम असुल गर्नुपर्ने उल्लेख छ । आरोपितबाट यो अभियोगमा २ करोड २४ लाख ५२ हजार ७ सय ९८ रुपैयाँ बिगो, बिगोबमोजिम जरिवाना, कैद सजाय र हानी नोक्सानी भएको बिगो रकम असुल गर्नुपर्ने अख्तियारले दायर गरेको मुद्दामा उल्लेख छ ।

यो कसुरमा प्रमुख प्रशासकीय अधिकृत विष्टबाट ४२ लाख ५ सय ३१ रुपैयाँ, अर्का प्रमुख प्रशासकीय अधिकृत जोशीविरुद्ध ६ लाख ७८ हजार २ सय २०, इन्जिनियर कुँवरबाट ४८ लाख ७८ हजार ७ सय ५१, सव इन्जिनियरद्वय भक्तराज जोशी र नरेन्द्र शाहीविरुद्ध क्रमशस् २७ लाख ५८ हजार ४ सय ३२ र २१ लाख २० हजार ३ सय १९, ल्याव टेक्निसियन विष्टविरुद्ध ४० लाख १७ हजार ६ सय र ठेकेदार जोशीविरुद्ध ३७ लाख ९८ हजार ९ सय ४५ रुपैयाँ बिगो कायम गरी हरेक प्रतिवादीविरुद्ध खुलेको बिगोबराबर जरिवाना र कैद सजायको मागदाबी लिइएको अख्तियारले जनाएको छ ।

पालिका अन्तर्गतका सडकको ठेक्का लगाएपछि कर्मचारी, ठेकेदारलगायत मिलेमतोमा गुणस्तरहीन काम गरी रकम दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको थियो । अख्तियारका अनुसार सडकको स्थलगत निरीक्षण गर्दा ठेकेदार र ठेक्का कार्यान्वयन गराउने नगरपालिकाका कर्मचारी तथा रकम भुक्तानी गर्ने अधिकारीको मिलेमतोमा गुणस्तरहीन कामलाई प्रमाणीकरण गरी रकम भुक्तानी गरिएको, मिलेमतोमै प्रमुख प्रशासकीय अधिकृतद्वयले वास्तविक कामभन्दा बढी परिमाणको काम उल्लेख गरी भुक्तानी दिएको खुलेको छ ।

प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर र ल्याव टेक्निसियनले वास्तविक कार्यसम्पादन गराई सोहीअनुसार मूल्यांकन प्रतिवेदन पेस गर्नुपर्नेमा ठेकेदारसँगको सेटिङमै सडक निर्माणदेखि भुक्तानीसम्ममा संलग्न रहेको अख्तियारको आरोप पत्रमा उल्लेख गरिएकाे छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board