काठमाडौँ, ११ जेष्ठ । नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई एक साताभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन गरेको छ ।
एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी यसपालि पहिलो पटक निर्वाचनमा सहभागी भएको हो। सत्ता गठबन्धनमा रहेको समाजवादीले पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाको मेयर जितेको छ।
देशभर प्रमुख पदमा २० जना र उपप्रमुख पदमा २४ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । बुधबार महासचिव बेदुराम भुसालले सर्कुलर जारी गर्दै पार्टीकातर्फबाट उम्मेदवार बनेर निर्वाचित जनप्रतिनिधिहरूलाई जेठ १७ गतेिभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन गरेका हुन् ।
भुसालले जनताले ठूलो विश्वास गरी मत दिएकाले जनताको विश्वासप्रति सधैँ इमानदार रहन भनेका छन् । ‘जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुहोला। निर्वाचनका बेला जनसमक्ष गरेको वाचालाई कहिल्यै नभुल्नुहोला,’ सर्कुलरमा भनिएको छ।
उनले सर्कुलरमा जनप्रतिनिधीलाई ऐन र कानुनमा रहेर काम गर्न निजी स्वार्थ, अनियमितता र भष्ट्रचारबाट मुक्त रहन पनि उल्लेख गरेकाे छ ।

प्रतिक्रिया