मैले एमालेको भोट काटेको होइन, एमालेले नै सुरक्षित गर्न सकेन : जगन्नाथ पौडेल

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेल तेस्रो शक्तिका रुपमा देखिए । उनले १४ हजार ७२८ मत ल्याएका छन् । गठबन्धनका सामु नेकपा (एमाले) दोस्रो शक्तिका रुपमा देखियो ।

मेयरमा पराजित हुनुमा मौन अवधिमा सत्ता र शक्तिको दुरुपयोग हुनु, तालमेल गरिएको दल राप्रपाले सहयोग नगर्नु र असन्तुष्ट कांग्रेसीबाट आउने भोट पौडेलले रोक्नु प्रमुख कारण भएको एमालेको निष्कर्ष छ ।

तर, नेता पौडेलले भने आफूले एमालेको भोट नकाटेको बरु एमालेले आफ्नै मत सुरक्षित गर्न नसकेको बताउँछन् । उनले एमालेको २५ प्रतिशत मत पाँच दलीय गठबन्धनको उम्मेदवारलाई गएको पनि बताए ।

एमालेले नेपाली कांग्रेसले अघोषित रूपमा स्वतन्त्र उमेदवार उठाएर आफ्नो पक्षमा आउने मत काटेको आरोप लगाउँदै आएको विषयमा उनले भने, ‘मलाई सुरूमा माओवादीले हाम्रो मत काट्नलाई उठे भने । अहिले होइन भनिरहेका छन् । आफूले पराजय भोग्नुपर्ने भएपछि एमालेले पनि त्यही आरोप मतिर तेर्साए । तर, वास्तविकता त्यस्तो होइन । मलाई कसैले उठाएको होइन, म आफैँ उठेको हुँ ।’

आफूले एमालेको मत काटेको नभइ एमालेका उम्मेदवारले आफ्नै मत पनि सुरक्षित राख्न नसकेको उनको भनाइ छ । ‘एमालेका २५ प्रतिशत मतदाताले गोलाकारभित्रको हँसिया हथौडामा मतदान गरेका छन्,’ उनी भन्छन्, ‘त्यसैले एमालेले अरूलाई दोष दिने होइन कि आफ्नै पार्टीभित्र भित्री समीक्षा गर्नुपर्छ ।’

निर्वाचन हुनुपूर्व पौडेलको विषयमा धेरैले १० हजारदेखि २० हजारसम्मको मत ल्याउन सक्ने आंकलन गरेका थिए । कांग्रेस र पाँच दलीय गठबन्धनबाट असन्तुष्ट बनेका पौडेलको उम्मेदवारीले रेणु दाहालको मत काट्ने अड्कल गरे । कतिपयले भने दुवै उम्मेदवारको मत काट्ने अड्कल पनि गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीसँग पनि तल्लो तहसम्म गठबन्धन नगर्दाको असर मेयरमा देखिएको एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले बताए । ‘गठबन्धनबाट असन्तुष्ट पक्षले सूर्यमा मतदान गर्न सक्ने सम्भावना बलियो हुँदाहुँदै पनि वैकल्पिक चुनाव चिन्ह पाएपछि हामीलाई आउने मत पनि उता गयो,’ उनी भन्छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति