काठमाडौं, १० जेठ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सरेको छ । यसअघि गण्डकी प्रदेशमा यही जेठको २२ गतेदेखि हुने तय भएको राष्ट्रिय खेलकुद अब आउँदो असोजको २८ देखि कात्तिक ३ गतेसम्म हुने भएको हो । आज मङ्गलवार पत्रकार सम्मेलन गरेर युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले तयारी नपुगेको भन्दै नवौँ राष्ट्रिय खेलकुद असोज र कात्तिकमा हुने जानकारी दिए ।
बजेट र अन्य तयारीको व्यवस्थापन फास्ट ट्र्याकमार्फत गर्न खोजे पनि केही कानुनी र व्यावहारिक अड्चनका कारण जेठको २२ गतेदेखि प्रतियोगिता गर्न नसकिएको मन्त्री गहतराजले बताए । नवौँ राष्ट्रिय खेलकुदमा ६० करोड रुपैयाँभन्दा धेरै खर्च नगर्न अर्थ मन्त्रालयले निर्देशन दिइसकेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । कोभिड–१९ महामारीका कारण दुई वर्ष ढिलो भइसकेको नवौँ राष्ट्रिय खेलुकदको मिति फेरि सारिएको हो ।
नवौँ राष्ट्रिय खेलकुदका लागि यसअघि नै लोगो, मस्कट र नारासमेत सार्वजनिक भइसकेको छ भने ३६ प्रतिस्पर्धात्मक र दुई प्रदर्शनी गरी ३८ खेल हुने निर्णय यसअघि भइसकेको थियो ।
प्रतिक्रिया