वीरगञ्ज महानगरपालिकाको मेयर राजेशमान सिंह विजयी

काठमाडाै, १० जेठ । वीरगञ्ज महानगरपालिकाको नवनिर्वाचित मेयर राजेशमान सिंहले वीरगञ्जबासीको दैनिकीसँग जोडिएका समस्याहरु समाधान गर्नु आफ्नो प्राथमिकता भएको बताएका छन् ।

मंगलवार वीरगञ्ज महानगरपालिकाको मेयरमा औपचारिक रुपमा निर्वाचित भएसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ उनले वीरगञ्जबासीको दैनिकीमा भएका समस्या समाधान गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताएका हुन् । उनले कर, स्वास्थ्य र शिक्षाको विषयमा विज्ञहरुसँग बसेर छलफल गरी आवश्यक काम गर्ने बताए ।

मेयर सिंहले वीरगञ्जमा सरसफाईको चुनौती रहेको उल्लेख गर्दै वर्षात्को समयमा पानी जम्ने समस्या समाधान गरिने पनि बताए । उनले भने – ‘वीरगञ्जबासीसँग दैनिकी रुपमा जोडिएका जुन समस्याहरु छन् । सर्वप्रथम हामी त्यसलाई निदान गर्छौ । त्यसपछि विभिन्न सम्बन्धित विज्ञहरुसँग बसेर जसरी हामीले सुरुमा भनेका छौँ, करको विषयमा, स्वास्थ्य, शिक्षाको विषयमा हामी अगाडी बढ्छौँ । वीरगञ्जको सरसफाइ एउटा चुनौतीको रुपमा छ । वीरगञ्जबासीलाई वर्षातमा पानी जम्ने समस्या छ, यो सबै दैनिकीसँग जोडिएको कुराहरुलाई पहिलो प्राथमिकतामा राखेको छौँ ।’

जनता समाजवादी पार्टीका नेता सिंहले सत्तारुढ गठबन्धनको तर्फबाट विजय हासिल गरेकाे हो । नेकपा (एमाले)का तर्फबाट मेयरका उम्मेदवार एंव निवर्तमान मेयर विजय सरावगीलाइ २२ हजार ५ सय ४४ मतको फराकिलो अन्तरले पराजित गर्दै उनी निर्वाचित भएकाे हो । बैशाख ३० गतेको मतदानमा महानगरमा कूल ९३ हजार ७ सय ८२ मत खसेको थियो । मेयरमा विजयी राजेशमानले ४६ हजार २ सय १५ मत पाउँदा एमालेका सरावगीले भने २३ हजार ६ सय ७१ मत पाएकाे छ ।

यस्तै मेयरमा राप्रपाका उम्मेदवार गिरिश गिरीले भने ३ हजार ३ सय १३ मत पाएको छ । महानगरको उपमेयरमा पनि गठबन्धनकै साझा उम्मेदवार इम्तियाज आलम विजयी भएको छ । निकटतम प्रतिद्वन्द्वी लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झालाइ तेब्बर भन्दा बढि मत अन्तरले पराजित गर्दै गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार आलम उपमेयरमा निर्वाचित भएको हो । उपमेयरमा विजयी आलमले ३० हजार ७८ मत ल्याएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पुरुषोत्तमलाल झाले ९ हजार ५ सय ६८ मत ल्याएको छ । मेयर र उपमेयरमा एमाले र लोसपाले चुनावी तालमेल गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति