चितवन ९ जेठ । भरतपुर महानगरपालिकामा ११ हजार १७३ मत गन्न बाँकी रहँदा नै मेयर र उपमेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदेवार रहेका रेनु दाहाल र चित्रसेन अधिकारीले गन्न बाँकी मतभन्दा पनि बढीको मतान्तर बनाएका छन् ।
२९ वडा रहेको भरतपुर महानगरपालिकामा सोमबार साँझ वडा नम्बर २७ को मतगणना सुरु भएको छ । मेयरमा रेनु दाहालले ४७ हजार ४० मत ल्याएकी छन् । त्यसैगरी मेयर पदका अर्का उम्मेद्वार एमालेका विजय सुवेदीले ३५ हजार ५८३ र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार २६३ मत ल्याएका छन् ।
मेयर पदमा रेनु दाहालले सुवेदीभन्दा ११ हजार ४५७ मत बढी ल्याएकी छन् । जुन अन्तर अब गन्न बाँकी मतभन्दा पनि धेरै हो । दुईवटा वडाको मत गणना सुरु नहुँदै रेनु दाहालको जित निश्चित भएको छ ।
त्यसैगरी उपमेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका चित्रसेन अधिकारी झनै फराकिलो मतान्तरमा छन् । उपमेयरमा एमालेले समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०की उम्मेदवार हिमला गुरुङको २७ हजार ९२२ मत आएको छ । अधिकारी र हिमलाबीच २० हजार ३६ मतको फराकिलो अन्तर कायम भएको हुँदा उपमेयरमा चित्रसेन अधिकारी पक्का भएका छन् ।
भरतपुर महानगरपालिकामा कुल मतदाता एक लाख ८५ हजार रहे पनि एक लाख २७ हजार ८३९ ले मतदान गरेका थिए । हालसम्म एक लाख १६ हजार ६६६ मत गणना भएर सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । निर्वाचन कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले सकेसम्म सोमबार रातभरमा गणना सक्ने तयारीमा रहेको बताए ।
COMMENTS