पटक पटक नीति परिवर्तन हुँदा विदेशी लगानीकर्ताको कार्ययोजना नै प्रभावित हुन्छः गभर्नर अधिकारी

काठमाडौँ, ९ जेष्ठ । विदेशी लगानी सम्बन्धमा राज्य र निजी क्षेत्रको धारणा परिवर्तन गर्नुपर्ने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् ।

विदेशी लगानी आउँदा हामी कमजोर हुन्छौं भन्ने धारणा निजी क्षेत्रमा पनि रहेकाले उनीहरुले त्यसलाई समस्याका रुपमा हेर्ने गरेको उनले आरोप लगाए । ‘मेक इन नेपाल स्वदेशी समिट २०२२’ को ‘उत्पादन बढाउन विदेशी लगानीको अवसर’ विषयक सत्रमा बोल्दै गभर्नर अधिकारीले सो कुरा बताएका हुन् । विदेशी लगानीलाई निजी क्षेत्रले बाधक नभए साधकका रुपमा लिनुपर्ने उनले बताए । विदेशी लगानीले पुँजीसँगै प्रविधि, व्यवस्थापकीय सीप, उत्कृष्ट कार्यशैली पनि आउने भएकाले स्वदेशी लगानीकर्ता र उत्पादनका लागि पनि लाभदायक हुने उनले बताए ।

विदेशी लगानी भित्रिएकै कारण नेपालका केही संस्थाहरु पहिले भन्दा धेरै प्रतिस्पर्धी भएको उदाहरण दिँदै उनले थपे, ‘विदेशी लगानीमा उत्पादन भएका वस्तु तथा सेवाहरुको गुणस्तरमा राम्रो देखिन्छ ।’ नेपालमा नीतिगत अस्थिरता रहनु पनि अपेक्षित रुपमा विदेशी लगानी आउन नसक्नुको एक कारण भएको अधिकारीले बताए । ‘विदेशी लगानीकर्ताले निश्चित समयका लागि योजना बनाएर लगानी गर्न चाहन्छन्,’ उनले भने, ‘पटक पटक नीति परिवर्तन हुँदा विदेशी लगानीकर्ताको कार्ययोजना नै प्रभावित हुन्छ ।’

विदेशी लगानीकर्ताका लागि नेपालमा थुप्रै प्रक्रियागत झन्झट रहेकाले त्यसमा राज्यस्तरबाट सहजीकरण गरिदिनुपर्ने उनले बताए । विदेशी लगानीको प्रवर्द्धन विशिष्टीकृत सेवा भएकाले सामान्य संस्थाले त्यो काम गर्न नसक्ने उनले बताए ।

विदेशी लगानीको नाममा केही विकृति भित्रिन थालेकाले त्यस्ता लगानी निरुत्साहित गर्नुपर्ने गभर्नर अधिकारीले बताए । ‘नेपालकै वित्तीय स्रोतबाट स्थापना भइ राम्रोसँग सञ्चालन भइरहेका उद्योग व्यवसायको सेयर स्वामित्व विदेशमा रहेका आफ्नै परिवारको नाममा स्थानान्तरण गरेर विदेशी लगानी भित्र्याइएको देखाइने गरेको छ,’ उनले भने, ‘वास्तवमा त्यो विदेशी लगानी होइन । त्यो प्रक्रियामार्फत धेरै पुँजी बाहिरिएको छ ।’ यसकारण त्यस्ता गतिविधि सबै मिलेर निरुत्साहित गर्नुपर्ने उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति