सात वर्ष पुरानो बलात्कारको अर्को घटना जाहेरी भयाे तर आरोपी समातिएनन्

काठमाडौं, ८ जेठ । सौन्दर्य प्रतियोगिताको नाममा आयोजकले बलात्कार गरेको घटना सार्वजनिक भएपछि थप पीडितहरुले पनि पुरानो घटना उजागर गर्न थालेका छन् ।

शनिबार इटहरीकी एक युवतीले आफू १५ वर्षको हुँदा ब्लूमिङ लोटस इङ्लिस स्कुलका तत्कालीन प्रिन्सिपल राज खड्काले पटक-पटक बलात्कार गरेको खुलाएकी हुन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत सार्वजनिक गरेको घटना विवरण अनुसार २०७२-०७३ सालतिर विद्यालयको होस्टलमा बसेर कक्षा ९ मा पढिरहेका बेला पहिलो पटक घटना भएको हो ।

होस्टलमा बसेका वेला मेरो छातीमा समस्या देखियो, त्यसको उपचार गर्न विदेशबाट बुबाले प्रिन्सिपलको खातामा पैसा पठाउनु भएको थियो’ उनले भनेकी छन्, ‘बुबाले मलाई प्रिन्सिपलसँग सिधै अस्पताल जान भन्नुभएको थियो, तर उसले अस्पताल लैजानुको साटो मलाई होटल लग्यो ।’ बुबाआमाको अगाडि उनको धेरै ख्याल गरेजस्तो गरेर प्रिन्सिपलले घरपरिवारको पनि विश्वास जितेको उनको भनाइ छ । तर त्यहि विश्वासको आडमा अस्पताल लैजान्छु भनेर उनले होटलमा ‘स्कूलको पोशाक च्यातेर बलात्कार’ गरेको पीडितको भनाइ छ ।

उसले मलाई केही खान भन्यो, मैले मानिन । म डराइरहेको थिएँ, पसिना आइरहेको थियो’ उनले भनेकी छन्, ‘उसले मलाई यता आउ यहाँ गर्मी हुँदैन भनेर कोठातिर जान भनेको थियो, म त्यतिवेला १५ वर्षकी थिएँ ।’ कोठामा गएपछि उनले ताला ढोका लगाएर जबरजस्तीकरणी गरेको उनको भनाइ छ । ‘उसले यसको भिडियो पनि बनाएको थियो र मलाई पटकपटक त्यो भिडियो देखाएर ब्ल्याकमेल गरेको थियो’ उनले भनेकी छन्, ‘एसईई दिउञ्जेलसम्म उसले बाथरुम, विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, अफिस, होस्टेल कोठा, जहाँसुकै जहाँ भेटे पनि मलाई बलात्कार गर्‍यो ।’

पीडितका अनुसार प्रिन्सिपल खड्काले उनलाई विदाको समयमा पनि घर जान दिने गरेका थिएनन् । ‘घर गयो भने मेरो पढाइ खस्किन सक्छ, त्यसैले होस्टलमा बस्नु राम्रो हुन्छ भनेर घरमा भन्ने गरेको थियो’ उनले भनेकी छन्, ‘मेरो बुबाले प्रिन्सिपलको खातामा पैसा पठाउनुको कारण पनि छोरी राम्रो पढ्दै छ र उसको लागि घर नजानु नै राम्रो भनी उसले मेरो अभिभावकलाई यसरी गलत विश्वास दिलाउनु हो ।’

आफूले घटनाबारे साथीहरुलाई बताउँदा पनि कसैले नपत्याएको उनको भनाइ छ । ‘म बाल्यकालदेखि नै हक्की स्वभाव र बोल्ने खाल्को थिएँ, त्यसैले सबैले मेरै चरित्रलाई दोष दिन्थे, म पीडित हुँ भनेर कसैले विश्वास गरेनन्, कसैले मेरो पक्षमा अडान लिएनन्’ उनले गुनासो गरेकी छन्, ‘मैले यो कुरा प्रिन्सिपलकी श्रीमतीलाई पनि भनेकी थिएँ, तर उनले पनि मेरो लागि बोलिनन्, मैले स्कुलमा तीन पटक आत्महत्या गर्ने प्रयास पनि गरेँ, तर सफल भइन ।’

एसईई परीक्षा दिएपछि परिवारलाई हिम्मत जुटाएर यो कुरा भनेपछि पनि न्याय नपाएको उनको गुनासो छ । परिवारलाई भनेपछि इलाका प्रहरी कार्यालय, धरानमा खड्काविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी परेको थियो । तर हालसम्म उनी पक्राउ नपरेको पीडितको गुनासो छ ।

धरानका प्रहरी नायब उपरीक्षक (डीएसपी) बुद्ध श्रेष्ठले घटनाबारे जानकारीमा आएपछि पुरानो फाइल अध्ययन भइरहेको बताएका छन् । ‘२०७४ सालको घटना रहेछ, आरोपी पक्राउ नपरेपछि फरार प्रतिवादी कायम गरेर जिल्ला सरकारी वकिलको कार्यालयमार्फत मुद्दा दर्ता भएको रहेछ’ उनले भने, ‘अदालतको स्थिति के छ भन्ने खुलिसकेको छैन, आज सरकारी विदा भएकाले बुझ्न पाएनौं, फैसला भइसक्यो कि के भएको छ भन्ने बुझेर भोलि के गर्ने टुंगो लाग्छ ।’

विद्यालयका सञ्चालक ईश्वर भट्टराईले चाहिँ प्रिन्सिपल खड्काले २०७४ सालमै विद्यालयबाट राजीनामा दिएको बताएका छन् । ‘इनरुवाको एउटा विद्यालयमा पढाउँदै गर्दा हाम्रो विद्यालयमा आउनु भएको थियो, घरायसी कारण भन्दै राजीनामा दिनुभएपछि अर्को प्रिन्सिपल नियुक्त गरेका थियौं’ भट्टराईले भने ।
सिन्धुलीको कमलामाई नगरपालिका– ७, गढ्यौली स्थायी घर भएका खड्का २०७२ सालदेखि दुई वर्ष स्कुलमा काम गरेको उनी बताउँछन् । पीडित युवतीले चाहिँ बलात्कार आरोपी खड्का अहिले काठमाडौंको एक विद्यालयमा प्रिन्सिपलकै रुपमा काम गरिरहेको उल्लेख गरेकी छन् ।

‘अन्तिममा मैले न्याय पाउने आशा गुमाएको थिएँ, प्रहरीलाई फलोअप गर्न पनि छाडेको थिएँ’ उनले भनेकी छन्, ‘जब सामाजिक सञ्जालमा न्यायका लागि हल्ला गरेको सुन्छु, मलाई त्यो घटनाले बारम्बार आघात गर्छ र म एक कमजोर केटी मेरो विगत सम्झेर रातभर रुन्छु ।’ उनले न्याय पाउने आशा लिएर सात वर्षसम्म आफूसँग मात्रै रहेको घटना सार्वजनिक गरेको भनेकी छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board