‘हर्क साम्पाङले जित्नु भनेको धरानले जित्नु हो, धरान विजय हुँदा कोही हार्दैन’

धरान । धरान उपमहानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । मतगणना गर्न ४५ सयको हाराहारी बाँकी हुँदा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ ४१ सयले अगाडि छ । यो हिसावले उनी विजय हुने पक्का छ ।

उनले निरन्तर धराने जनताको आवालाई बुलन्द गर्दै आएकाले पनि आज उनी स्वतन्त्र रुपमा भए पनि निर्वाचित हुने स्थिति बनेको छ ।

लौरो चुनाव चिह्न लिएर उठेका साम्पाङले एकातिर नेपाली कांग्रेस र माओवादीको गठबन्धन र तथा अर्कातिर नेकपा एमालेको चुनौती छिचोल्दै मेयरमा जित पक्का गरेका हुन् ।

साम्पाङले १८ हजार ४७६ मत पाएका छन् । गठबन्धनबाट कांग्रेसका किशोर राईले १४ हजार ९९६ मत प्राप्त गरेका छन् । एमालेकी मञ्जु भण्डारीले १२ हजार १४३ मत ल्याएका छन् ।

धरानमा यो स्थानीय तह निर्वाचनमा ६२ हजार ८९७ मत खसेको थियो । अहिलेसम्म ५८ हजार २७७ मत गनिसकिएको छ।

धरानमा स्वतन्त्र उम्मेदवारले विजय हासिल गर्दैगर्दा हाँस्य व्यंग्यकार नरनाथ लुईँटेलले सामाजिक सञ्जालमा यस्तो लेखेका छन् –

कति काठमाडौका बालेनको मात्र कुरा गर्नु ? धराने लौरोको पनि कुरा गरौँ कि ?
सामाजिक संजालमा ‘योगेन्द्र’ नामक व्यक्तिले लेखेको यो स्टाटसले धराने लौरोको परिचय दिएको छ ।
……………

म कलेज आउँदा, जाँदा एउटा मान्छे देख्थेँ।
बरको रुखमुनि विद्रोह गरिरहेको एउटा मान्छे, आफ्नो नैसर्गिक अधिकार मागिरहेको एउटा मान्छे। धरानका गल्लीहरूमा , टोलहरुमा भौतारीरहेको मान्छे जसलाई यो स्थिति, माहोल र राजनीतिसँग चित्त बुझिरहेको छैन। उसले धरानका हरेक समस्यालाई मुद्दा बनायो, हक माग्यो, पिटाई खायो र चिच्याइरह्यो।
चुनावमा मैले देख्थेँ, एउटा अटोमा माइकिङ गर्दै ऊ प्राय एक्लै हिड्यो, धरानका चोकहरूमा, गल्लीहरूमा। आफ्नो पर्चा आँफै बाँड्यो, आफ्नो भोट आँफै माग्यो। विद्रोहका गीत लेख्यो र गिटार बजाउँदै चोकहरूमा गाउँदै हिन्यो। उसले तिर्खा लागेको गीत लेख्यो र गायो, उसले हक नपाएको गीत लेख्यो र गायो। उसले थुप्रै गीत लेख्यो र गायो। मैले त्यसमध्य केही गीत सुनेकोछु। हर्क साम्पाङ चुप लाग्न जानेन ।उसलाई आफ्नो आवाजले कति फरक पार्यो र पारेन पनि शायद हिसाब गर्न आएन तर उसले चुप लाग्न जानेन। हर्क साम्पाङलाई मैले मेरा कवितामा लेखेको छु कतिपटक। हर्क साम्पाङ, मैले देखेको विद्रोही हो।
आज यो विद्रोहले एउटा मोड लिएको छ। एउटा मान्छेलाई विश्वास थियो कि उभिएर एकपट्टी एक्लै , जित्न सकिन्छ यो युद्ध र फेर्न सकिन्छ यो स्थिति। आज उसको त्यो विश्वासमा , धरानले पनि विश्वास गरेको छ। आज हर्क साम्पाङ विजयी हुनै लागेका छन्। मैले उनी विजय भएको मात्र हेरेँ, कसले हारे हेरिनँ । हर्क साम्पाङले जित्नु भनेको , धरानले जित्नु हो। धरान विजय हुँदा कोही हार्दैन।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति