- विशाल बस्नेत
महोत्तरी । नेकपा (माओवादी केन्द्र)ले महोत्तरीमा २० वर्षे लामो विरासत गुमाएको छ । तत्कालीन जनमोर्चा र माओवादी केन्द्र एकीकरण भएपछि विशेषगरी बर्दिबास, रामगोपालपुर, गौशाला र सम्सीमा वर्चस्व कायम राख्दै आएको माओवादी केन्द्रले यो निर्वाचनबाट आफ्नो साख गुमाएको हो ।
कतिपयले निर्वाचित जनप्रतिनिधिहरूको दम्भ र जनताको प्रतिनिधि बन्न नसक्दा पराजित बन्नुपरेको विश्लेषण गरेका छन् । तर , माओवादी केन्द्रले भने पाटीभित्रैको आन्तरिक कलह र अन्तर्घातले पराजय बेहोर्नु परेको बत्ताउँदै आएको छ ।
माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खडका पाटीले आफ्नै कारणले पराजय बेहोरेको स्वीकार गर्छन् । उनी भन्छन्, “हामीले हामी भित्रै मिलाउन सकेनौँ, जसको परिणाम आज भोग्दै छौं । तर, यसबाट केही सिकेका छौँ ।”
यतिबेला माओवादी पराजित हुँदा सबैभन्दा बढी खुसी नेकपा (एमाले) र नेपाली कांग्रेस छन् । लामो समयसम्म राज गर्दै आएको माओवादी केन्द्रको किल्ला भत्काउनु नै विपक्षी दलहरूले प्रमुख उपलब्धि ठानेका छन् ।
शीर्ष नेता गिरिराजमणि पोखरेल पनि महोत्तरीकै जनप्रतिनिधि हुन् अझ पोखरेलको वडाबाट नै माओवादी केन्द्रले पराजय बेहोर्नुपर्यो ।
“माओवादीहरूले पाल्दै आएको अहमतालाई पनि परास्त गरेका छौँ,” नेकपा एमालेका स्थानीय नेता दिलिप थापाले भने ।
अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले बर्दिबाससहित गौशाला नगरपालिका, सम्सी गाउँपालिका, रामगोपालपुर नगरपालिकामा जित हासिल गरेको थियो ।
अहिलेसम्मको मतपरिणामअनुसार तिनै रामगोपालपुर, बर्दिबास नगरपालिका, सम्सी गाउँपालिका र गौशाला नगरपालिका माओवादी केन्द्रले गुमाइसकेको छ ।
माओवादी केन्द्र बर्दिबास जस्तो लाल किल्लाबाट नै किन पराजित भयो भन्ने विषयमा पार्टीभित्र समीक्षा र बहस हुन थालेको छ। निर्वाचनमा किन लज्जास्पद हार बेहोर्नु पर्यो भन्ने विषयमा नेताहरूको आफ्नै आकलन छन् ।
माओवादीभित्र अहिले जिल्लामा दुई धार छ । पूर्वजनमोर्चाहरु एकातिर छन् भने संस्थापन पक्ष अर्कोतिर छन् । टिकट बाँडफाँडमा समेत महोत्तरीमा यी दुई धारबीच निकै संघर्ष चल्यो ।
अन्तिम समयमा संस्थापन पक्षले आफ्नो वर्चस्व जमाउन खोजेपछि कतिपयले पूर्वजनमोर्चाका नेताहरूले नै निर्वाचनलाई कमजोर बनाएको आरोप प्रत्यारोप चल्न थालेको छ ।
जनमोर्चा धारका समूहहरू अझै नेता गिरिराजमणि पोखरेललाई स्थापित बनाउन चाहन्छन् तर अर्को पक्ष भने पोखरेललाई अब स्वीकार गर्न नसकिने बताउँदै आएको छ ।
यदि बर्दिबास नगरपालिकामा राजु खडकाले जितेको भए नेता पोखरेललाई विस्थापन गरेर प्रचण्डको उदय हुने आंकलन गरिएको थियो । तर, लगातार २०६४ देखि नै जित्दै आएका पोखरेललाई पाटीभित्रैका केही नेताहरू हटाउन लागिपरिरहेको स्रोतको भनाइ छ ।
स्थानीय तहको निर्वाचनले सबैको आंकलनलाई ठिक विपरीत बनाइदिएको छ । रणनीतिअनुसार काम नभएपछि बरु महोत्तरीबाट माओवादी खुम्चिएको छ ।
एकातिर माओवादी केन्द्रले बोकेको लामो विरासत र अघिल्लो निर्वाचनमा जितेका पालिकाहरूको साख बचाउन नसक्नुमा गिरिराजमणि पोखरेलको नै हात रहेको पाटीभित्रैबाट शंका उपशंका हुन थालेको छ ।
प्रतिक्रिया