काठमाडौं । जेल जीवन बिताइरहेका रेशम चौधरीको योजनामा खोलिएको पार्टी ‘नागरिक उन्मुक्ति पार्टी’ले स्थानीय तह निर्वाचनमा ४ पालिका जितिसकेको छ ।
कैलालीको टीकापुर र भजनी नगरपालिकामा प्रमुख तथा जोशीपुर र जानकी गाउँपालिकामा अध्यक्षमा विजयी भएका छन् ।
टीकापुर नगरपालिका प्रमुखमा नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौरा ९ हजार ६४२ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नवराज रावलले ६ हजार ६४२ मत पाएका छन्।
भजनी नगरपालिका प्रमुखमा केवल चौधरी ८ हजार ९६६ मतले निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार शेरबहादुर चौधरीले ५ हजार १९८ मत ल्याएका छन् ।
सोही पाटीका चित्रबहादुर चौधरी ४ हजार ९०३ मतसहित जोशीपुर गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बन्सराम बडायकले ३ हजार ३६८ मत प्राप्त गर्दा राप्रपाका भीमबहादुर बमले ३ हजार १८९ पाएका छन्।
जानकी गाउँपालिकामा उक्त पार्टीका तर्फबाट पत्रकार गणेश चौधरी विजयी भएका छन् । कान्तिपुर दैनिकमा आवद्ध उनी राजीनामा दिएर निर्वाचनमा होमिएका थिए । चौधरी ७ हजार १५१ मतसहित गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका परशुराम महतो (कठरिया) ले ५ हजार २४२, एमालेका टेकबहादुर बमले ४ हजार २४१ मत ल्याएका छन्।
प्रतिक्रिया